सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली श्रम स्वीकृति पाएपछि मुम्बई विमानस्थलबाट दुई महिलासहित ८ जना नेपाली पक्राउ

सोमबार, ०९ पुस २०८०, १४ : २५
सोमबार, ०९ पुस २०८०

मुम्बई । नक्कली श्रम स्वीकृति बोकेको पाइएपछि भारतमा दुई महिलासहित आठ जना नेपाली नागरिक पक्राउ परेका छन् । उनीहरूलाई मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

मुम्बई हुँदै कुवेत र यूएई जान लागेका उनीहरूको साथमा रहेको श्रम स्वीकृति नक्कली रहेको अध्यागमनका कर्मचारीहरूले पत्ता लगाएका थिए । पक्राउ पर्ने दुई महिलामा २२ वर्षीया माइली बोमजन र ३२ वर्षीया भगवती डांगी रहेका छन् । उनीहरूलाई शनिबार पक्राउ गरिएको भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।

अध्यागमनका अधिकारीहरूलाई शङ्का लागेर उनीहरूको दस्ताबेज जाँच गरिएको थियो । उनीहरूको साथमा रहेको दस्ताबेजबारे नेपालको श्रम मन्त्रालयसँग बुझ्दा त्यो नक्कली रहेको पुष्टि भएको साहर प्रहरी थानाका एक अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार मन्त्रालयले ईमेलमार्फत ती दस्ताबेज नक्कली रहेको जवाफ पठाएको थियो ।

‘माइलीले दलाललाई कुवेतमा रोजगारीका लागि १० हजार र भगवतीले उमेश नाम गरेका दलाललाई २ लाख २० हजार रुपैयाँ बुझाएकी रहिछन्,’ ती अधिकारीले भने ।

त्यस्तै, नक्कली श्रम स्वीकृतिसहित गत डिसेम्बर २० मा मुम्बई विमानस्थलबाट ६ जना नेपाली पक्राउ परेका थिए । पक्राउ पर्नेमा ३० वर्षीय राजकुमार तामाङ, १९ वर्षीय रुपल खड्का, २० वर्षीय अरुण खड्का, १९ वर्षीय करण बोहरा, २० वर्षीय सुजन बोहरा र २८ वर्षीय दीपेश लामिछाने रहेका छन् । उनीहरूको श्रम स्वीकृतिमा नाम र मिति गल्ती पाइएपछि पुनः जाँच गर्दा नक्कली पाइएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार उनीहरू दलाललाई १५ लाख बुझाएर वैदेशिक रोजगारीका लागि यूएई जान लागेका थिए । आठ जनालाई भारतीय पेनल कोडको फरक–फरक धारामा ठगीको मामिलामा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप