शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
कोशीमा राष्ट्रिय सभा निर्वाचन

दुई सिटका लागि काँग्रेसबाट ७० जनाको नाम सिफारिस : सिटौलादेखि सुजातासम्म अटाए

माओवादीले पठायो एक दर्जन नाम, एमालेले छलफल नै सुरु गरेन
मङ्गलबार, १० पुस २०८०, १७ : ००
मङ्गलबार, १० पुस २०८०

विराटनगर । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा दुई सिटमा प्रतिस्पर्धा हुँदैछ । खस आर्य १ (रमेशजंग रायमाझी) र खस आर्य महिला १ जना (बिना पोखरेल)को पदावधि आगामी फागुन २० गते सकिँदैछ । 

सोही पदका लागि हुने निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी) केन्द्र कोशी प्रदेश समितिले सम्भावित उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको हो । कांग्रेसले दुई पदका लागि ७० जना उम्मेदवारको नाम सिफारिस गरेको बताएको छ । सत्ता गठबन्धनमा भागबण्डा हुँदा एकजना काँग्रेसको र एक जना माओवादीको कोटामा पर्ने बताइरहेको छ । यद्यपि काँग्रेसले भने दुई पदका लागि नै उक्त सङ्ख्यामा उम्मेदवारको नाम सिफारिस गरेको हो । 

राष्ट्रियसभा सदस्य निर्वाचनमा आकाङ्क्षी लर्को लागेपछि व्यवस्थापन गर्न समस्या भएको भन्दै सोमबार बसेको कांग्रेसको कोशी प्रदेश समितिको बैठकले यस्तो सिफारिस गरेको हो । स्रोतका अनुसार दलित, अल्पसङ्ख्यक, महिला कोटाबाट नै २२ जना र अन्य कोटाका लागि ४८ जनाको नाम सिफारिस गरेको हो ।  

जिल्ला जिल्लाबाट आएका नामहरूलाई प्रदेशले अनुमोदन गरेर पठाएको कांग्रेसका महामन्त्री भूपेन्द्र राईले जानकारी दिए । ‘हामीले जिल्लाबाट नाम मगाएका थियौँ,’ राईले भने, ‘जिल्लाबाट सिफारिस भएर आएका नामलाई जस्ताको त्यस्तै पठाएका छौँ ।’

यसमा कृष्णप्रसाद सिटौला र सुजाता कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, उमेशजङ्ग रायमाझी, तारामान गुरुङ, टंक राई, गिरिराज आचार्य, डिला सङ्ग्रौला र रुक्मिणी कोइरालालगायतको रहेको छ । बैठकले ७० जना भन्दा बढीको नाम सिफारिस गरेको नेपाली काँग्रेस राष्ट्रियसभा संसदीय दलका नेता समेत रहेका प्रदेश समितिका उपसभापति रमेशजंग रायमाझीले पुष्टि गरे । 

चुनावमा पराजय बोकेका नेताहरूलाई राष्ट्रियसभामा लानुहुँदैन भन्ने आवाज काँग्रेस कै नेताहरूले उठाइरहेका बेला कोशी प्रदेशबाट भने गत चुनावमा पराजय भएका नेताहरूलाई प्राथमिकता दिइएको छ । कृष्णप्रसाद सिटौला र सुजाता कोइराला प्रतिनिधिसभाको निर्वाचनमा पराजय भएका थिए ।

यता, माओवादी केन्द्रले पनि महिला कोटामा ७ जना र पुरुष कोटामा ३ जनाको नाम सिफारिस गरेको छ । स्रोतले दिएको जानकारी अनुसार पुरुष कोटामा अजम्बर काङमाङ राई, टंक गिरी र भोगेन्द्र यादवको नाम सिफारिस गरेको छ । यस्तै महिला कोटामा लक्ष्मी न्यौपाने, चम्पा कार्की, लता न्यौपाने, ममता राजवंशी, कृष्णकुमारी राईलगायत रहेका छन् । 

एमालेले भने अहिले नै नाम सिफारिस गर्ने विषयमा छलफलको सुरुवात नै नभएको बताएको छ । ‘राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारको विषयमा अहिले छलफलमा नै हामी प्रवेश गरेका छैनौँ,’ एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले भने, ‘समय छ, अहिले हतार किन गर्नु ? ।’

राष्ट्रिय सभामा रिक्त हुने पदहरूको पूर्ति गर्ने उद्देश्यसाथ निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका अनुसार मङ्सिर २४ गतेदेखि २९ गतेसम्म निर्वाचनमा भाग लिने राजनीतिक दलले दर्ता गरिसकेका छन् । 

दलहरूलाई चुनाव चिन्ह प्रदान गरी आयोगले पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यतालिका प्रकाशन गरेको छ । माघ ११ गते बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान कार्य गरिने आयोगले यसअघि नै जनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप