बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राष्ट्रिय सभा निर्वाचन

राष्ट्रिय सभा निर्वाचन : बागमती कांग्रेसबाट नीर शाहदेखि गणेश लामासम्मको नाम सिफारिस

बुधबार, ११ पुस २०८०, २० : २४
बुधबार, ११ पुस २०८०

मकवानपुर । राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि उम्मेदवार बन्न नेपाली कांग्रेस बागमती प्रदेश समितिले ९१ जनाको नाम सिफारिस गरेको छ । बुधबार कांग्रेस बागमती प्रदेश सभापति बानियाँले राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि बागमती प्रदेशका १३ जिल्लाबाट ९१ जनाको नाम सिफारिस गरेका हुन् ।

नेपाली कांग्रेस बागमती प्रदेश समितिको कार्य सम्पादन समितिले उम्मेदवार सिफारिसको सम्पूर्ण अधिकार सभापति बानियाँलाई नै दिएको थियो । सोही आधारमा बानियाँले जिल्लाबाट प्राप्त सिफारिसलाई अध्ययन गरी कांग्रेस केन्द्रीय कार्यालयमा सिफारिस गरेका हुन् ।

कांग्रेस बागमती प्रदेशले १० जना केन्द्रीय सदस्यसहित २ जना जिल्ला सभापतिलाई राष्ट्रिय सभा सदस्य पदको उम्मेदवार बनाउन सिफारिस गरेको छ भने ४ जना प्रदेश पदाधिकारी, २ जना जिल्ला सभापति र २ जना राष्ट्रिय व्यक्तित्वसहित ९१ जनालाई राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा उम्मेदवार बनाउन सिफारिस गरिएको छ ।

जसमा केन्द्रीय सदस्यहरू दोलखाका जिप छिरिङ लामा, काभ्रेका गणेश लामा, धादिङका दिलमान पाख्रिन, चितवनका टेक बहादुर गुरुङ रहेका छन् । काठमाडौँकी राधा घले, हरिशरण नेपाली, भक्तपुरका गंगा अवला, मदनकृष्ण श्रेष्ठ, ललितपुरका मदन अमात्य र जितजंग बस्नेत राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारका लागि कांग्रेस बागमती प्रदेशले सिफारिस गरेको छ ।

प्रदेश पदाधिकारीबाट राष्ट्रिय सभा सदस्य पदमा उम्मेदवारका लागि सिफारिस हुनेमा उपसभापति चन्द्र महर्जन, महासचिव राजु श्रेष्ठ, सहमहामन्त्री जीवन डङ्गोल र हरिशरण श्रेष्ठ रहेका छन् ।

काठमाडौँका जिल्ला सभापति सबुज बानियाँ र मकवानपुरका सभापति बुद्ध लामा पनि राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारका लागि प्रदेश समितिले सिफारिस गरेको छ । राष्ट्रिय व्यक्तित्व तर्फ कलाकार नीर शाह र पत्रकार तारानाथ दाहाललाई राष्ट्रिय सभा सदस्य पदमा उम्मेदवार बनाउन सिफारिस गरिएको छ ।

आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । पदावधि सकिनेमध्ये बागमती प्रदेशबाट ४ जना रहेका छन् । खिमलाल देवकोटा, एमालेबाट रामचन्द्र राई, दिल कुमारी रावल थापा ‘पार्वती’, र एकीकृत समाजवादीबाट सिंग बहादुर विश्वकर्माको पदावधि फागुन २० मा सकिने भएको हो ।

उक्त पदहरूमा आगामी माघ ११ मा राष्ट्रिय सभा सदस्यका १९ पदमा निर्वाचन हुँदैछ । निर्वाचन आयोगले राष्ट्रिय सभाका निर्वाचनको कार्यतालिका समेत सार्वजनिक गरेपछि राजनीतिक दलहरू आन्तरिक तयारीमा जुटेको छ ।

बागमती प्रदेशमा कूल प्रदेश सांसद ११० को ५ हजार ८३० मतभार, स्थानीय तहका २३८ जनप्रतिनिधिको ४ हजार ५२२ मतभार गरी कूल १० हजार ३५२ मतभार रहेको छ । 

यस प्रदेशमा कांग्रेसको कूल मतभार ४ हजार १३, एमालेको २ हजार ५७१, माओवादीको २ हजार १९६ मतभार रहेको छ । नेकपा एसको ५४२, राप्रपाको ७०८, हाम्रो नेपाली पार्टीको १०६, नेमकिपाको १९७ र स्वतन्त्रको १९ मतभार रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप