आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
सन्दीप लामिछाने प्रकरण

सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा, भोलि टुङ्ग्याउने तयारी

बिहीबार, १२ पुस २०८०, १६ : ३६
बिहीबार, १२ पुस २०८०

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा जारी बहस आज पनि टुङ्गिएन । बहस नटुङ्गिएपछि यसलाई शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।

बुधवार वादी पक्षले बहस सकि प्रतिवादीका तर्फबाट मुरारी सापकोटाले बहस सुरु गरेका थिए । बुधवार मुरारीको बहस नसकिएकाले बिहीबार पनि मुरारी सापकोटाले नै बहसको सुरुवात गरेका थिए । त्यसपछि अधिवक्ता रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठलगायतले बहस गरेका थिए ।

रमणकुमार श्रेष्ठको बहस नसकिएकाले शुक्रवार पनि रमणले नै बहसको सुरुवात गर्नेछन् । रमणपछि अधिवक्ता रामेश्वर न्यौपाने र सरोजकृष्ण घिमिरेले बहस गर्ने तयारी गरेका छन् । आइतबारदेखि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइमा वादी नेपाल सरकार र जाहेरवालीको तर्फबाट बुधबारसम्म १० जनाले बहस गरेका थिए ।

पहिलो दिन वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलहरू जिल्ला न्यायाधिवक्ता सीताराम अर्याल र सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गरेका थिए । त्यसपछि हेर्दाहेर्दैमा रहेको उक्त मुद्दामा बुधवार जाहेरवालीका तर्फबाट ल्याक नेपाल लगायतका संघ संस्थाका कानुन व्यवसायी र स्वतन्त्र अधिवक्ताहरूले बहस गरे।

बुधवार अधिवक्ताहरू आस्मा आचार्य, नारायण चौलागाई, शशी अधिकारी, शान्ति काफ्ले, मोहना अन्सारी, अञ्जना अर्याल, प्रतिमा खरेल र ल्याक नेपालकी अध्यक्ष अनिता थपलिया गरी १० जनाले बहस सकाएका थिए।  बुधवार नै प्रतिवादीका तर्फबाट अधिवक्ता मुरारी सापकोटाले बहस सुरु गरेका थिए । 

प्रतिवादीतर्फबाट पनि बहस सकिए मुद्दामाथिको सुनुवाइ भोलि नै टुङ्ग्याउने तयारी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप