मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीमा मिटरब्याज पीडित र प्रहरीबिच झडप

बिहीबार, १२ पुस २०८०, २२ : २४
बिहीबार, १२ पुस २०८०

मलङ्गवा । मिटर ब्याज पीडित सङ्घर्ष समिति सर्लाहीका एक सदस्यलाई प्रहरीले  पक्राउ गरेपछि यहाँ तनाव उत्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीको टोलीले सङ्घर्ष समितिका सदस्य लालबन्दी नगरपालिका–२ नवलपुर निवासी फतमा खातुनलाई प्रहरीले पक्राउ गरेपछि स्थिति तनावपूर्ण बनेको थियो ।

प्रहरीले खातुनलाई पक्राउ गरेपछि मिटर ब्याज पीडित र प्रहरीबीच झडप भएको थियो ।  जिल्ला प्रशासन कार्यालयमा उनीहरूले ढुङ्गामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड आश्रुग्यास प्रहार गरेको थियो ।

त्यसपछि मिटरब्याज पीडितले प्रशासन कार्यालय सर्लाही अगाडी टायर बालेर  प्रदर्शन गरेका थिए । अहिले उनीहरु कृषि ज्ञान केन्द्र अगाडि सडक अवरोध गरेर बसेका छन् । 

गत मङ्सिर २० गते जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याज पीडित र साहुकारबीच छलफलको क्रममा साहुकारलाई फतमाले कुटपिट गर्नथालेपछि  प्रहरी सहायक हबल्दार सीता कार्की छुट्याउन जाँदा फतमाले उनीमाथि पनि हातपात गरेकी थिइन् । प्रहरीमाथि फतमाले अभद्र व्यवहार गरेको भन्दै  उनीविरुद्ध मुद्दा चलाएको छ ।

 सोही मुद्दामा फतमालाई पक्राउ गर्न जिल्ला अदालत सर्लाहीबाट पक्राउ पुर्जी जारी भएपछि उनी केहीदिन देखि लुकीछिपि बस्दै आएकी थिइन् । तर आज दिउँसो उनी पक्राउ परेपछि तनाव भएको हो ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आज प्रहरीलाई कुटपिट गरेको अभियोगमा चन्द्रनगर गाउँपालिका–५, मोहनपुर निवासी तैयब मन्सुरलाई पनि पक्राउ गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप