प्युठानमा धान उत्पादन बढ्यो

प्युठान । प्युठानमा यस वर्ष धान उत्पादन वृद्धि भएपछि किसान खुसी भएका छन् । समयमै वर्षा, उन्नत जातको धानको बीउ छनोट र चैते धान दुई पटक खेती हुन थालेपछि जिल्लामा धान उत्पादनमा वृद्धि भएको हो ।
समान क्षेत्रफलमा दुई खेती धान र एक खेती गहुँ उत्पादन हुँदा बजारबाट चामल खरिद गर्न नपर्ने भएको ऐरावती गाउँपालिका–५ कि कृषक सम्झना राउतले बताइन् ।
गत वर्षको तुलनामा तीन हजार तीन सय ७० मेट्रिकटन बढी धान उत्पादन भएको जिल्लास्थित एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले जनाएको छ । प्युठानका केही फाँटहरुमा सीमित सिँचाइ सुविधा उपयोग गरी कृषकले चैते धान खेती गर्न थालेका छन् ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका अनुसार गत वर्ष छ हजार एक सय ६५ हेक्टर क्षेत्रफलमा १८ हजार पाँच सय ९७ मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष २१ हजार नौ सय ६७ मेट्रिकटन धान उत्पादन भएको छ ।
जिल्लामा सबैभन्दा बढी प्युठान नगरपालिका र सबैभन्दा कम नौबहिनी गाउँपालिकामा धान उत्पादन हुने गरेको कार्यालयका कृषि अर्थ विज्ञ एवं निमित्त कार्यालय प्रमुख उमेश श्रेष्ठले जानकारी दिए । जिल्लामा चैते धानखेती, उन्नत जातका बीउको प्रयोग गर्न थालिएको र मौसमले पनि साथ दिएकाले उत्पादनमा वृद्धि आएको उनको भनाइ थियो ।
श्रेष्ठले भने, “प्यूठानका किसानले उन्नत जातका धानको बीउ प्रयोग गर्न थालेका छन् । यसले गर्दा चैते धान रोपेर दुई पटक भित्र्याउन सकिन्छ ।” किसानले खेतीमा नयाँ प्रविधिको प्रयोग थालेका उनले बताए ।
जिल्लाको प्युठान नगरपालिका, मल्लरानी र ऐरावती गाउँपालिकाको ८० हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको श्रेष्ठले जानकारी दिए । प्युठानमा धान उत्पादन वृद्धि तथा प्रोत्साहनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइले धान जोनका रुपमा काम गर्दै आइरहेको छ ।
धान उत्पादन वृद्धिका लागि यस वर्ष एक सय ५० हेक्टर बढीमा जमिनमा चैते धान लगाउने योजना रहेको कार्यालय प्रमुख कृषि अधिकृत चुमानसिंह गिरीले बताए । उनका अनुसार जिल्लामा किसानले चैते धानका रुपमा चैते पाँच, हर्दिनाथ–एक र हर्दिनाथ–तीन, नियमित धानका रुपमा राधा–१२, राधा–१४, सावित्री, हर्दिनाथ–छ जातका धान प्रयोग गर्दै आएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चैते धान खेतीका लागि क्षेत्र विस्तार गरी उत्पादन बढाउन हर्दिनाथ–एक र हर्दिनाथ–तीन लाई यस वर्षदेखि विस्तार गर्न लागिएको गिरीले बताए । उनका अनुसार जिल्लामा ४२ हजार सात सय ६६ हेक्टर खेतीयोग्य जमिन भएकामा २२ हजार एक सय २५ हेक्टरमा खेती गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जगदुल्ला हाइड्रोपावर ठेक्का प्रक्रियाविरुद्धको रिटमा लिखित जवाफ माग
-
पूर्वमन्त्री नेपालको दाहसंस्कार गरिँदै, शव पशुपति लगियो (तस्बिरहरू)
-
चीनको एउटा कारखानामा रोबोटले मान्छेलाई थप्पडै थप्पड हानेपछि...
-
राजस्व सङ्कलन कमजोर भएपछि प्रदेश र स्थानीय तहको अनुदान कटौती
-
शौचालय जाम भएपछि डाइभर्ट भयो एयर इन्डियाको फ्लाइट
-
पूर्वमन्त्री नेपालको निधनप्रति सभामुख घिमिरेद्धारा दु:ख व्यक्त