शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सीको सन्न्यासपछि अर्जेन्टिनामा १० नम्बर जर्सीलाई पनि आराम !

मङ्गलबार, १७ पुस २०८०, १२ : ०४
मङ्गलबार, १७ पुस २०८०

काठमाडौँ । अर्जेन्टिना फुटबल महासंघले आफ्ना स्टार खेलाडी लियोनल मेस्सीको सन्न्यास लगत्तै उनले प्रयोग गर्ने १० नम्बर जर्सीलाई पनि बिदाइ गर्ने भएको छ । अर्थात्, मेस्सीको सन्न्यासपछि अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीमा कुनै पनि खेलाडीले १० नम्बरको जर्सी प्रयोग गर्न पाउने छैनन् ।

समकालीन विश्व फुटबलका महान् खेलाडी मेस्सीको सम्मानमा यस्तो निर्णय लिइएको अर्जेन्टिना फुटबल महासंघले जनाएको छ । अर्जेन्टिनी फुटबलमा मेस्सीभन्दा अगाडि महान् खेलाडी डिएगो म्याराडोनाले १० नम्बरको जर्सी प्रयोग गर्थे ।

‘मेस्सीले राष्ट्रिय टोलीबाट सन्न्यास लिएसँगै उनले प्रयोग गर्ने १० नम्बरको जर्सीलाई पनि बिदाइ गरिने छ । त्यसपछि राष्ट्रिय टोलीबाट खेल्ने कुनै पनि खेलाडीले १० नम्बरको जर्सी प्रयोग गर्ने छैनन्,’ अर्जेन्टिना फुटबल महासंघका अध्यक्ष क्लाउडियो तापियाले भनेका छन्, ‘मेस्सीको सन्न्याससँगै १० नम्बर जर्सीले पनि आराम पाउने छ ।’

मेस्सीको कप्तानमा अर्जेन्टिनाले कतार विश्वकपको उपाधि जितेको थियो । उनले अर्जेन्टिनालाई सन् २०२१ मा कोपा अमेरिकाको उपाधि पनि चुमाएका थिए । ३६ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि हालसम्म एक सय ८० खेल खेल्दै एक सय ६ गोल गरिसकेका छन् ।

अहिले पनि मेस्सी लयमा छन् । उनले सन् २०२६ को विश्वकपअघि सक्रिय खेल जीवनबाट सन्न्यास लिने सम्भावना देखिँदैन । यसबिचमा उनले सन् २०२४ को कोपा अमेरिका पनि खेल्नेछन् । त्यसैले उनले देशलाई थप उपाधि जिताउने सम्भावना छ । मेस्सी हाल अमेरिकी क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेल्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप