शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
पर्यटन

पर्यटन पुनरुत्थानको वर्ष : कुन महिना कति आए ?

कुन देशबाट कति ?
मङ्गलबार, १७ पुस २०८०, १४ : ०२
मङ्गलबार, १७ पुस २०८०

काठमाडौं । कोभिड–१९ पछि प्रायः सुस्त रहेको नेपालको पर्यटन क्षेत्र तीन वर्षपछि पुनर्जागृत भएको छ । सन् २०२३ मा १० लाख बढी पर्यटक नेपाल भित्रिएका छन् । 

सरकारले सन् २०२३ देखि २०३३ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गर्दै सुरुवाती वर्षमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । सरकारी लक्ष्य ३१ डिसेम्बर, २०२३ सम्ममा १० लाख १४ हजार ८७६ जना पर्यटक भित्रिएका छन् । यो मानेमा पर्यटक भित्र्याउने लक्ष्यमा सफल भएको छ । 

यो प्रि–कोभिड अर्थात् सन् २०१९ को तुलनामा ९५.७६ प्रतिशतको रिकभरी  हो । सन् २०१९ मा हालसम्मकै उच्च ११ लाख ९७ हजार १९१ (झन्डै १२ लाख) पर्यटक नेपाल भित्रिएका थिए ।

कुन महिना कति पर्यटक भित्रिए ?

Tourist-arrival

ग्राफमा (प्रि–कोभिड सन् २०१९ मा आगमन भएको पर्यटक सङ्ख्यासँगको तुलना)

tg

कुन देशबाट कति आए ?

पर्यटन बजारको हिसाबले छिमेकी मुलुक भारत र बंगलादेशी पर्यटकको आगमन यो वर्ष निकै उत्साहप्रद देखिएको छ । यो वर्ष भारतीय र बंगलादेशी पर्यटक सन् २०१९ को भन्दा पनि बढी आगमन भएको तथ्याङ्कले देखाएको छ । 

सन् २०१९ मा भारतबाट २ लाख ५४ हजार १५० जना पर्यटक आएका थिए । तर यो वर्ष सोही बजारबाट ३ लाख १९ हजार ९३६ जना पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ । सन् २०१९ को तुलनामा यो वर्ष भारतीय पर्यटक २५.८८ प्रतिशतले वृद्धि भएको हो । 

यसै गरी, सन् २०१९ मा जम्मा २५ हजार ८४९ जना मात्र बंगलादेशी पर्यटक आएकामा यो वर्ष ३२ हजार बढी नेपाल आएको बोर्डले जनाएको छ । 

सन् २०२३ मा अमेरिकाबाट १ लाख ३५७ जना पर्यटक नेपाल भित्रिएका छन् । यसअघि प्रि–कोभिड, सन् २०१९ मा अमेरिकाबाट ९३ हजार २४१ जना पर्यटक नेपाल आएका थिए । 

यो वर्ष अर्को छिमेकी मुलुक चीनबाट ६० हजार ८७८ जना पर्यटक नेपाल आएका छन् । यद्यपि, प्रि–कोभिडको तुलनामा सन् २०२३ मा चिनियाँ पर्यटकको सङ्ख्या ६४ प्रतिशतले घटेको हो । अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०१९ मा १ लाख ६९ हजार ५४३ जना चिनियाँ पर्यटक नेपाल आएका थिए । 

यस्तै, अन्य तेस्रो मुलुकहरूबाट आउने पर्यटकको सङ्ख्यामा समेत सकारात्मक सुधार भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । 

कोभिडकालको तीन वर्ष फर्केर हेर्दा 

कोभिड–१९ विश्व महामारीको तीन वर्ष पर्यटन उद्योगका लागि निकै तिक्ततापूर्ण स्थितिबाट गुज्रियो । सन् २०२० को नेपाल भ्रमण वर्ष, सन् २०२१ र सन् २०२२ निकै कठिन बन्न पुग्यो । त्यसो त पर्यटन क्षेत्रका लागि मात्र नभएर यो तीन वर्ष अन्य आर्थिक, सामाजिक तथा कूटनीतिक क्षेत्र समेत निकै प्रभावित हुन पुग्यो । 

विश्व बजार नै कोरोना भाइरसको महामारीले सङ्कटग्रस्त हुँदा नेपालको पर्यटन बजार समेत प्रभावित भयो । जसका कारण यी तीन वर्षमा पर्यटक आगमन निकै न्यून हुन पुग्यो । 

तेस्रो पटक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ मुस्किलले २ लाख ३० हजार पर्यटक भित्र्याउन सकियो । भने पछिल्ला दुई वर्ष सन् २०२१ र २०२२ मा पनि कोभिड–१९ को प्रभाव क्रमशः १ लाख ४९ हजार ८३३ जना र ६ लाख १४ हजार १४८ जना मात्र पर्यटक भित्र्याउन सकियो । 

उसो त अघिल्लो वर्ष सन् २०२२ को तुलनामा यो वर्ष ६५ प्रतिशत बढीले नै पर्यटक आगमन वृद्धि हुन पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप