मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
निस्केन समाधान

आवासीय चिकित्सक निलम्बन प्रकरण : घटनाको सत्य तथ्य छानबिन गर्न माग

बिहीबार, १९ पुस २०८०, १२ : ४६
बिहीबार, १९ पुस २०८०

काठमाडौँ । नेपाल चिकित्सक संघले काठमाडौँ मेडिकल कलेज (केएमसी)मा अध्ययनरत आवासीय चिकित्सक  डा. विशद दाहालको निलम्बनको सम्बन्धमा सत्य तथ्य छानबिनको माग गरेको छ । संघको आजीवन सदस्य समेत रहेका दाहाललाई कलेज प्रशासनले १ महिनाको लागि गरेको निलम्बन फिर्ता गर्न काठमाडौँ विश्वविद्यालयले पत्राचार गरे पनि केएमसीले प्रवेश नदिएपछि संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै सत्य तथ्य छानबिनको माग गरेको हो । 

‘केएमसीमा अध्ययनरत आवासीय चिकित्सक तथा नेपाल चिकित्सक संघका आजीवन सदस्य डा. विशद दाहाललाई कलेजको प्रशासनद्वारा १ महिनाको लागि गरिएको निलम्बनलाई फिर्ता गर्न काठमाडौँ विश्वविद्यालयद्वारा कलेज प्रशासनलाई पत्र पठाएको तर डा. दाहाललाई कलेज प्रशासनद्वारा कलेजमा छिर्न रोक लगाएको घटना प्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालमा अध्ययनरत आवासीय चिकित्सकमाथि नै लक्षित गर्दै गरिएको यस प्रकारको घटनाको सत्य तथ्य छानबिन गर्दै निलम्बनमा परेका चिकित्सकलाई उचित न्याय प्रदान गर्दै सहयोग गरिदिनु हुन सम्बन्धित सबैमा यस संघ जोडदार माग गर्दछ ।’

केएमसीले दाहाललाई स्वास्थ्य शिविरका नाममा शैक्षिक गतिविधि बाहेक पिडादायक रूपमा स्वास्थ्य शिविरमा मात्र खट्न लगाउने कार्य भएको जनाएको छ ।  अनावश्यक स्वास्थ्य शिविरमा सामेल नहुने भनेर भनिएको प्रति कलेज प्रशासनले स्पष्टीकरणको अवसर समेत नदिई निलम्बन गर्नु आपत्तिजनक रहेको संघको भनाइ छ । 

अध्यक्ष अनिल विक्रम कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौँ विश्वविद्यालयद्वारा कलेज प्रशासनसँग ३ दिन भित्र कलेजको रायका साथ साथै निलम्बन गर्दा अपनाउनुपर्ने न्यूनतम प्रक्रिया, स्पष्टीकरणको मौका प्रदान गरिएको हो वा होइन सम्बन्धित प्रिसेप्टरबाट निलम्बन गर्नुपर्ने आधार सहितको लिखित राय पेश भएको छ वा छैन लगायतका विषयमा प्रश्न उठाएको सबैमा अवगत गराउन चाहन्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप