बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

यथार्थ कुरा राख्न निजी क्षेत्रलाई अर्थमन्त्री डा. महतको आग्रह

शनिबार, २१ पुस २०८०, १८ : १२
शनिबार, २१ पुस २०८०

भरतपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले यथेष्ट सूचना र तथ्याङ्कका आधारमा मात्र अभिव्यक्ति सार्वजनिक गर्न निजी उद्योग व्यवसायीलाई आग्रह गरेका छन् । उद्योग वाणिज्य संघ चितवनको ५७ औँ वार्षिक साधारण सभाको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘यथार्थ कुरा ग्रास रुटमा पुग्छ । होइन भने तपाईंहरुले प्राप्त गर्न खोजिरहेको कुरा विपरीत परिणाम आउँछ ।’

तथ्याङ्कलाई एकातिर राखेर नकारात्मक कुरा गरियो भने व्यवसायी, लगानीकर्ता र उपभोक्ताको आत्मविश्वास कमजोर हुने मन्त्री डा. महतले बताए । उपभोक्ताले माग बढाएन भने उद्योगबाट उत्पादित बस्तुको माग घट्छ । माग घट्यो भने व्यवसाय नबढ्ने भएकाले यथार्थ धरातलमा उभिएर आफ्नो कुरा सम्प्रेषण गर्न मन्त्री डा. महतले आग्रह गरे । 

अर्थतन्त्र समस्यामा थियो, अझै तहमा पुर्‍याउन धेरै गर्न बाँकी रहेको उनले स्पष्ट पारे । उनले भने, ‘राज्य र निजी क्षेत्र दुवै तहबाट काम गर्न बाँकी छ । देशको अर्थतन्त्रले पुरानो स्थितिबाट प्रस्थान गरिसकेको छ । अहिले औसतमा मूल्यवृद्धि घटिरहेको छ ।’

अर्थतन्त्र बिस्तारै लयमा फर्किँदै गरेको मन्त्री डा. महतले बताए । उनले भने, ‘विदेश जाऊँ भनेर सरकारले प्रोत्साहन गर्दैन, तर जानै पाउँदैनौँ भन्न सक्दैनौँ । निर्माण व्यवसायीको अधिकांश दायित्व सरकारले पूरा गरिसकेको छ । केही बाँकी छन्, रकमान्तर गरेर सम्बन्धित मन्त्रालयलाई हामीले तिर्नुस् भनेका छौँ, जति सम्भव छ, हामी गर्छौ, नभएको माघपछि काम गरिसकेको दायित्व हामी जहाँबाट ल्याएर भए पनि पूरा गर्छौ । काम गरिसकेका निर्माण व्यवसायीको गुनासो अब रहँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप