शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सभा निर्वाचन

बैठक छाडेर हिँडे शेखर

आइतबार, २२ पुस २०८०, २० : ४६
आइतबार, २२ पुस २०८०

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार चयन गर्नका लागि बसेको नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक छाडेर शेखर कोइराला हिँडेका छन् । राष्ट्रिय सभाको निर्वाचनमा आफ्नो समूहले माग गरे अनुसार ४ वटा सिट दिन संस्थापन पक्ष तयार नभए पछि कोइराला बिचमा नै बैठक छाडेर हिँडेका हुन् ।

शेखर पक्षले बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा एक–एक वटा सिट पाउनुपर्ने माग गरेको छ । तर, संस्थापन पक्ष भने बागमती, गण्डकी र लुम्बिनीमा मात्र इतर पक्षलाई सिट दिन तयार देखिएको छ ।

हालसम्म कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौला उम्मेदवार बन्ने तय भएको छ । त्यस्तै, मधेस प्रदेशमा आनन्द ढुङ्गानाको नाममा लगभग सहमति जुटिसकेको छ ।

बागमती प्रदेशमा भने उम्मेदवार टुङ्ग्याउन केही विवाद देखिएको छ । तरुण दलका पूर्व अध्यक्ष जीतजंग बस्नेत कि काठमाडौँ जिल्ला सभापति सबुज बानियाँलाई उम्मेदवार बनाउने विषयमा नेताहरूबिच विवाद देखिएको छ । संस्थापन बस्नेतको पक्षमा रहेको छ भने बानियाँको पक्षमा महामन्त्री गगन थापा देखिएका छन् । बागमतीमा महिलातर्फ विष्णुदेवी पुडासैनी र उमा दाहालको नाम चर्चामा छ ।

गण्डकी प्रदेशबाट सोभियत अधिकारीको नाम लगभग टुङ्गिएको अवस्था छ । अधिकारी तत्कालीन कांग्रेस प्रजातान्त्रिकबाट कास्कीको जिल्ला सभापति थिए । तर, गोपालमान श्रेष्ठले पनि आफ्नो दाबी छाडेका छैनन् । प्रदेशबाट अल्पसङ्ख्यक/अपाङ्ग शेखर पक्षलाई दिइएको छ ।

लुम्बिनी प्रदेशबाट पुष्पा भुसाललाई ल्याउने चर्चा भए अहिले इतर पक्षबाट विष्णु सापकोटा आउन सक्ने सम्भावना छ । उता कर्णालीमा विवाद देखिएको छ । खुल्ला सदस्यमा संस्थापनबाट कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकाया नाम चर्चामा छ भने इतर पक्षले भूपेन्द्र जंग शाहीको नाममा अडान लिएको छ ।

सुदूरपश्चिमममा खुल्लाबाट कञ्चनपुरका पूर्व जिल्ला सभापति बलदेव बोहरा र अल्पसङ्ख्यक/अपाङ्गमा कैलाली जिल्ला सभापति नारायण दत्त भट्टको नाम चर्चामा छ । बोहरा यसअघि देउवा प्रधानमन्त्री हुँदा उनको सल्लाहकार पनि थिए ।

शेखर बाहिरिए पनि संस्थापन र इतर पक्षका नेताहरू छुट्टाछुट्टै छलफलमा छन् । संस्थापन पक्षका नेताहरू देउवाको कार्यकक्षमा छन् भने इतर पक्षका नेताहरु पूर्व पदाधिकारीको कक्षमा रहेका छन् । 

इतर पक्षका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहायकमन्त्री बद्री पाण्डे, जीवन परियार, नेता अर्जुननरसिंह केसी र बलबहादुर केसी सहभागी छन् । यद्यपि, बैठक छाडेर बाहिरिएका नेता कोइराला केहिबेरपछि बैठकमा फर्किएका छन् ।

संस्थापन पक्षबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्रीहरु भिष्मराज आङ्दम्बे, महालक्ष्मी उपाध्यक्ष डिना, फरमुल्ला मन्सुर, किशोर सिंह राठौर, प्रवक्ता प्रकाशशरण महत लगायत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप