मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सभा निर्वाचन

राष्ट्रियसभाका १९ सिटमा ५२ उम्मेदवारी, कसको प्रतिस्पर्धी को ?

सोमबार, २३ पुस २०८०, १८ : ४२
सोमबार, २३ पुस २०८०

काठमाडौँ । माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि सोमबार मनोनयन दर्ता गरिएको छ । सत्ता गठबन्धन सम्बद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले सातै प्रदेशमा साझा उम्मेदवार खडा गरेका छन् ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा मजदुर किसान पार्टी, जनमत पार्टी एक्ला एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । एमालेले सातै प्रदेशका १९ सिटमा उम्मेदवारी दिएको छ भने राप्रपा, नेमकिपा र जनमतले केही प्रदेशमा मात्र उम्मेदवारी दिएका छन् ।

कोशी प्रदेशका २ सिटका लागि पाँच जनाको उम्मेदवारी परेको छ । गठबन्धनबाट कोशी प्रदेशको अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पा कार्कीले मनोनयन दर्ता गरेका छन् ।

k

एमालेबाट कोशी प्रदेशको अन्यतर्फ परशुराम अधिकारी र महिलातर्फ रुक्मिणी कोइरालाले उम्मेदवारी परेको छ । राप्रपाबाट कोशी प्रदेशमा अन्यतर्फ उद्धव पौडेलले मात्र उम्मेदवारी दिएका छन् । अब कोशीमा अन्यतर्फ तीन जना र महिलातर्फ २ जनाबिच प्रतिस्पर्धा हुने छ ।

मधेस प्रदेशमा पनि राष्ट्रियसभाका २ सिटका लागि ५ जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट अन्यतर्फ कांग्रेसका आनन्द ढुंगाना र महिलातर्फ जसपाकी पूजा चौधरीले मनोनयन दर्ता गराएका छन् ।

यस्तै एमालेबाट अन्यतर्फ विजेता झा र  महिलातर्फ उषादेवी थरुनी उम्मेदवार बनाएको छ । यहाँ जनमत पार्टीका अन्यतर्फ रामशंकर महासेठको उम्मेदवारी परेको छ । मधेस प्रदेशको अन्यतर्फ ढुंगाना, साझा र महासेठबिच भिडन्त हुने छ भने महिलातर्फ चौधरी र थारुनीबिच प्रतिस्पर्धा हुने छ ।

यस्तै बागमती प्रदेशमाका ४ सिटका लागि १५ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सत्ता गठबन्धनबाट महिलातर्फ कांग्रेसका विष्णुदेवी पौडेल र अन्यतर्फ जीतजंग बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् भने अपांङ्गतातर्फ माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका  घनश्याम रिजालको उम्मेदवारी परेको छ ।

u

एमालेबाट महिलातर्फ रोचकुमारी चौलागाईं, दलिततर्फ ध्रुवराज विक, अपांङ्गतातर्फ त्रिलोचन निर्मल पौडेल र अन्यतर्फ विवेक देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।

राप्रपाबाट बागमती प्रदेशमा अन्यतर्फ हेम्जङम गुरुङ, महिलातर्फ बालिका डल्लाकोटी र अपाङगतर्फ भरतमणि भट्टको उम्मेदवारी गरेको छ । यस्तै नेमकिपाले महिलातर्फ कृष्णलक्ष्मी दुवाल, दलिततर्फ संगिता नेपाली, अपांङ्गतातर्फ हिमालयश्वर मूल र अन्यतर्फ श्रीकृष्ण महर्जन उम्मेदवार बनाएको छ ।

अन्यतर्फ  बस्नेत, देवकोटा, गुरुङ महर्जनबिच प्रतिस्पर्धा हुने छ भने महिलातर्फ पुडासैनी, चौलागाईं, डल्लाकोटी र  दुवालबिच भिडन्त हुने छ । यस्तै दलिततर्फ रिजाल, विक र  नेपालीबिच प्रतिस्पर्धा पक्का भएको हो भने अपाङगतर्फ  अधिकारी, पौडेल, भट्ट र मूल भिड्ने छन् ।

गण्डकी प्रदेशका ३ सिटमा ८ जनाको उम्मेदवारी परेको छ । गठबन्धनबाट अन्यतर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ र अपाङ्गतातर्फ पदम परियारले उम्मेदवारी दर्ता गराएका छन् भने महिलातर्फ माओवादीकी मनरुपा शर्मा सुवेदीले उम्मेदवारी परेको छ ।

g

यस्तै एमालेबाट महिलातर्फ सम्झना देवकोटा, अन्यतर्फ चक्रबहादुर पराजुली र अपाङ्गतर्फ हेमन्त शेरचनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै राप्रपाबाट गण्डकी प्रदेशमा अन्यतर्फ रोमबहादुर भण्डारी र महिलातर्फ गोममाया श्रेष्ठको उम्मेदवार परेको छ । अन्यतर्फ श्रेष्ठ, पराजुली र भण्डारीको प्रतिस्पर्धा हुने छ भने महिलातर्फ सुवेदी, देवकोटा र श्रेष्ठ भिड्ने छन् । अपाङगतर्फ परियार र शेरचनाबिच प्रतिस्पर्धा हुने छ ।

लुम्बिनी प्रदेशमा दुई सिटका ७ जनाको उम्मेदवारी परेको छ । गठबन्धनबाट अन्यतर्फ माओवादीका झक्कु सुवेदी र महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेका उम्मेदवारबाट महिलातर्फ तुलसा कुमारी केसी र अन्यतर्फ झपेन्द्रबहादुर घर्ती क्षेत्रीको उम्मेदवारी परेको छ । राप्रपाले अन्यतर्फ निरञ्जन थापा र महिलातर्फ विजयलक्ष्मी सिंहले उम्मेदवारी दर्ता गराएका छन् । जनमत पार्टीबाट बाल गोविन्द चौधरीले उम्मेदवारी दिएका छन् । अन्यतर्फ सुवेदी, घर्ती, थापा र चौधरी गरी चार जना भिड्दैछन् भने महिलातर्फ सापकोटा, सिंह र केसीबिच प्रतिस्पर्धा हुने छ ।

one

कर्णाली प्रदेशका ३ सिटमा ६ जनाको उम्मेदवारी परेको छ ।  गठबन्धनबाट अन्यतर्फ कांग्रेसका कृष्णबहादुर रोकाया, माओवादीबाट दलीतर्फ विष्णुबहादुर विश्वकर्मा र एकीकृत समाजवादीबाट महिलातर्फ सावित्री मल्लले उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेबाट महिलातर्फ विमलाकुमारी शाही, अन्यतर्फ डिल्लीप्रसाद भट्ट र दलिततर्फ हिक्मत विकले मनोनयन दर्ता गरेका छन् । अन्यतर्फ रोकाय र भट्टको प्रतिस्पर्धा हुने छ भने दलीतर्फ विश्वकर्मा र विकबिच भिडन्त हुने छ । महिलातर्फ मल्ल र शाही भिड्ने छन् ।

k

सुदूरपश्चिम प्रदेशका तीन सिटमा ६ जनाको उम्मेदवारी परेको छ । गठबन्धनबाट अन्यतर्फ कांग्रेसका बलदेव बोहोरा र अपाङ्गतर्फ नारायणदत्त भट्टले उम्मेदवारी दर्ता गराएका छन् भने महिलातर्फ माओवादीकी रेणु चन्दको उम्मेदवारी परेको छ ।

यस्तै एमालेबाट महिलातर्फ सावित्रा घिमिरे, अपाङ्गतातर्फ रामचन्द्र जोशी र अन्यतर्फ ईश्वरीप्रसाद खरेलले उम्मेदवारी दर्ता गरेका छन् । अन्यतर्फ बोहोरा र खरेल भिड्दा महिलातर्फ चन्द र घिमिरेबिच प्रतिस्पर्धा हुने छ । यस्तै अपाङ्गतर्फ भट्ट र जोशी भिड्ने पक्का भएको छ । १९ सिटमध्ये मधेस र लुम्बिनीको अन्यतर्फ मात्र जनमत पार्टीले उम्मेदवारी दिएको छ ।

यस्तै राप्रपाले कोशीमा महिला, बागमतीमा दलित र गण्डकीमा अपाङ्गतर्फ उम्मेदवारी दिएको छैन । यस्तै मधेस, कर्णाली र सुदूरपश्चिममा पनि राप्रपाको उम्मेदवारी परेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप