सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
यू–१९ विश्वकप

यू–१९ विश्वकप : अमेरिकी टोलीका सबै खेलाडी भारतीय मूलका

अस्ट्रेलियादेखि जिम्बाबेसम्ममा भारतीय मूलका खेलाडी
मङ्गलबार, २४ पुस २०८०, १२ : ०९
मङ्गलबार, २४ पुस २०८०

काठमाडौँ । आईसीसी यू–२० विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म दक्षिण अफ्रिकामा आयोजना हुँदैछ । १६ राष्ट्रको सहभागिता रहेको उक्त प्रतियोगिताका क्रममा कुल ४८ खेल हुनेछन् ।

त्यसअघि प्रतियोगितामा सहभागी टोलीहरूबिच जनवरी ११ तारिखदेखि अभ्यास खेल पनि खेलिनेछ । प्रतियोगिताका लागि सबै सहभागी राष्ट्रले आफ्नो टोलीको घोषणा गरिसकेका छन् भने अधिकांश सहभागी टोलीहरू दक्षिण अफ्रिका पनि पुगिसकेका छन् ।

यू–१९ विश्वकपका लागि घोषित टोलीहरूको अवस्थालाई हेर्दा अधिकांश राष्ट्रको टोलीमा भारतीय मूलका खेलाडीको सहभागिता रहेको देखिन्छ । जिम्बाबेदेखि यू–१९ विश्वकपको आयोजक राष्ट्र दक्षिण अफ्रिकासम्मका टोलीमा भारतीय मूलका खेलाडी सहभागी छन् ।

यसका अतिरिक्त स्कटल्यान्डदेखि न्युजिल्यान्डको टोलीमा समेत भारतीय मूलका खेलाडीहरू रहेका छन् । समग्रमा अन्य राष्ट्रको प्रतिनिधित्व गर्दै यू–१९ विश्वकपको १५औँ संस्करण खेल्ने तयारीमा रहेका भारतीय मूलका खेलाडीको विषयमा यहाँ चर्चा गर्न खोजिएको छ ।  

  • रोनक पटेल (जिम्बाबे)

यू–१९ विश्वकपको १५औँ संस्करणका लागि घोषित जिम्बाबेको टोलीमा रहेका रोनक पटेल भारतीय मूलका खेलाडी हुन् । १७ वर्षीय रोनकले केही समयअघि मात्र लिस्ट ‘ए’ प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए । उनी बलिङ अलराउन्डर हुन् ।

रोनक जिम्बाबेको यू–१९ टोलीका क्षमतावान् स्पिन बलर हुन् । टोलीलाई आवश्यकता पर्दा उनी आक्रामक ब्याटिङ पनि गर्न सक्छन् । उनले जिम्बाबेका लागि दुईवटा टी–२० प्रतियोगिता पनि खेलेका छन् । रोनकले जिम्बाबेका लागि पहिलो पटक यू–१९ विश्वकप खेल्न लागेका हुन् । यो उनको खेलजीवनको सबैभन्दा ठुलो प्रतियोगिता पनि हो ।  

  • रोमासन सोमा पिल्लाई (दक्षिण अफ्रिका)

यू–१९ विश्वकपका लागि आयोजक राष्ट्र दक्षिण अफ्रिकाको टोलीमा समावेश गरिएको रोमासन सोमा पनि भारतीय मूलका खेलाडी हुन् । उनको जन्म भने दक्षिण अफ्रिकाको डर्बनमा भएको हो । १९ वर्षीय रोमासन अलराउन्डर खेलाडी हुन् ।

रोमासनको ब्याटिङ र बलिङ दुवै उत्तिकै उत्कृष्ट छ । उनले दक्षिण अफ्रिकाका लागि हालसम्म दुईवटा लिस्ट ‘ए’ प्रतियोगिता खेलेका छन् । लिस्ट ‘ए’ प्रतियोगितामा उनले १९ को औसतले कुल ३८ रन बनाएका छन् । उनले तीन विकेट पनि लिएका छन् । यू–१९ विश्वकप उनले खेल्न लागेको सबैभन्दा ठुलो प्रतियोगिता हो ।

  • निखिल कृष्णा कोटिश्वरन (स्कटल्यान्ड)

आईसीसी यू–१९ विश्वकपका लागि घोषित स्कटल्यान्डको टोलीमा समावेश गरिएका निखिल कृष्णा कोटिश्वरन पनि भारतीय मूलका खेलाडी हुन् । १८ वर्षीय निखिलले स्कटल्यान्डको उमेर समूह टोलीबाट पहिलो पटक ‘डेब्यू’ गर्न लागेका हुन् ।

यसअघि उनले स्कटल्यान्डको उमेर समूहको टोलीबाट कुनै पनि प्रतियोगिता खेलेका थिएनन् । उनी दायाँ हाते ब्याट्सम्यान हुन् भने मध्यमतेज गतिका बलर पनि हुन् । उनका माता–पिता भारतीय हुन् । उनको परिवार भारतबाट स्कटल्यान्डमा बसाई सरेका हुन् । निखिलका अतिरिक्त स्कटल्यान्डको सिनियर टोलीमा पनि भारतीय मूलका खेलाडीहरू छन् ।

  • आदी हेगडे (स्कटल्यान्ड)

यू–१९ विश्वकप खेल्न घोषित स्कटल्यान्डको टोलीमा निखिलका अतिरिक्त अर्का भारतीय मूलका खेलाडीलाई पनि समेटिएको छ । स्टकल्यान्डको राष्ट्रिय जर्सीमा देखा पर्ने १८ वर्षीय आदी माथिल्लो क्रमका ब्याट्सम्यान हुन् ।

बायाँहाते खेलाडी आदी स्पिन बलर पनि हुन् । आदीका आमा–बुवा दुवै भारतीय मूलका हुन् । उनीहरू पछि स्कटल्यान्डमा बसाई सरेका हुन् । उनको परिवारका अधिकांश सदस्यहरू अहिले पनि भारतमै बस्छन् । उनले हालसम्म लिस्ट ‘ए’ प्रतियोगिता पनि खेलेका छैनन् ।

  • स्नेहिथ रेड्डी (न्युजिल्यान्ड)

आईसीसी यू–१९ विश्वकपका लागि घोषित न्युजिल्यान्डको टोलीमा परेका स्नेहिथ रेड्डी पनि भारतीय मूलका खेलाडी हुन् । न्युजिल्यान्डको सिनियर टोलीमा पनि थुप्रै भारतीय मूलका खेलाडी छन् । भारतीय मूलका रचिन रवीन्द्रले त न्युजिल्यान्डको टोलीबाट हालै भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकप पनि खेलेका थिए ।

यसका अतिरिक्त जितन पटेल, ईश सोढीजस्ता प्रभावशाली खेलाडीले पनि न्युजिल्यान्डको सिनियर टोलीबाट खेलिसकेका छन् । स्नेहिथ भने न्युजिल्यान्डको यू–१९ टोलीको प्रतिनिधित्व गर्ने नयाँ पुस्ताका भारतीय मूलका खेलाडी हुन् ।

१७ वर्षीय स्नेहिथ अलराउन्डर हुन् । उनको विशेषता भने स्पिन बलिङ हो । स्नेहिथको जन्म पनि भारतमै भएको हो । उनी भारतको आन्ध्र प्रदेशस्थित विजयबाडामा जन्मिएका हुन् । स्नेहिथको माता–पिता उनको जन्मपछि मात्र न्युजिल्यान्ड पुगेका हुन् । उनलाई न्युजिल्यान्डले यसै वर्ष आयोजना हुने आईसीसी टी–२० विश्वकपका लागि पनि टोलीमा समावेश गर्ने बलियो सम्भावना छ ।

  • ओलिभर तेवाटिया (न्युजिल्यान्ड)

आईसीसी यू–१९ विश्वकपका लागि घोषित न्युजिल्यान्डको टोलीमा स्नेहिथजस्तै भारतीय मूलका अर्का खेलाडीले पनि स्थान पाएका छन् । उनी हुन्, ओलिभर तेवाटिया । १८ वर्षीय ओलिभर तेवाटिया बायाँहाते स्पिन बलर हुन् ।

ओलिभर टोलीलाई आवश्यकता पर्दा आक्रामक ब्याटिङ पनि गर्न सक्छन् । उनी जुनसुकै स्थानमा आएर पनि ब्याटिङ गर्ने क्षमता राख्छन् । ओलिभरको जन्म भने न्युजिल्यान्डमै भएको हो । उनको परिवार निकैअघि भारतबाट न्युजिल्यान्डमा बसाई सरेको थियो ।

  • हरजस सिंह (अस्ट्रेलिया)

लामो समयदेखि विश्व क्रिकेटमा एकक्षत्र राज गर्दै आएको अस्ट्रेलियाले आगामी यू–१९ विश्वकपका लागि सार्वजनिक गरेको टोलीमा पनि भारतीय मूलका खेलाडी परेका हुन् । उनी हुन्, हरजस सिंह । १९औँ वर्ष प्रवेशको सँघारमा रहेका हरजस सिंह ब्याट्सम्यान हुन् ।

आफ्नो आक्रामक ब्याटिङ क्षमताका कारण नै उनले अस्ट्रेलियन टोलीमा स्थान पाएका हुन् । उनले अस्ट्रेलियाका यू–१९ टोलीबाट यसअघि पनि विभिन्न प्रतियोगिता खेलिसकेका छन् । बायाँहाते ब्याट्सम्यान भए पनि उनी बलिङ भने दायाँ हातले गर्छन् ।  

हरजस सिंहले केही महिनाअघि इङ्ल्यान्डको यू–१९ टोलीविरुद्धको शृङ्खला पनि खेलेका थिए । उनले लिस्ट ‘ए’ र प्रथम श्रेणीको प्रतियोगिताहरू पनि खेलिसकेका छन् । उनले सातवटा लिस्ट ‘ए’ खेलमा १०७.८२ को औसतले कुल एक सय ९३ रन बनाएका छन् ।

  • हरकिरत बाजवा (अस्ट्रेलिया)

अस्ट्रेलिया यू–१९ विश्वकपका लागि घोषित आफ्नो टोलीमा हरजस सिंहसँगै अर्का एक भारतीय मूलका खेलाडीलाई पनि स्थान दिएको छ । उनी हुन्, हरकिरत बाजवा । १९ वर्षीय हरकिरत अलराउन्डर खेलाडी हुन् । उनको ब्याटिङ र बलिङ दुवै उत्कृष्ट छ ।

हरकिरतको जन्म भने भारतमै भएको हो । उनी पञ्जाबको मोहालीमा जन्मिएका हुन् । अस्ट्रेलियामा उनको परिवार मेलबर्नमा बस्छ । उनको पिता एक ट्राभल कम्पनीमा ट्याक्सी चलाउँछन् । उनले यसअघि अस्ट्रेलियाका लागि सन् २०२२ मा भएको यू–१९ विश्वकप पनि खेलेका थिए । हरकितरलाई अस्ट्रेलियाले निकट भविष्यमा हुने टी–२० विश्वकपका लागि पनि टोलीमा समावेश गर्ने सम्भावना छ ।

  • अमेरिकाको टोलीमा सबै खेलाडी भारतीय मूलका

सन् २०१० पछि पहिलो पटक अमेरिका यू–१९ विश्वकपमा छनोट भएको छ । यसै महिना दक्षिण अफ्रिकामा आयोजना हुने यू–१९ विश्वकपमा अमेरिकी टोली समूह ‘ए’ मा परेको छ । उक्त समूहमा भारत, बंगलादेश र आयरल्यान्ड पनि छन् ।

आगामी यू–१९ विश्वकपका लागि अमेरिकाले १५ सदस्यीय टोलीको घोषणा गरेको छ । टोलीमा तीनजना अतिरिक्त खेलाडी पनि समावेश गरिएको छ । रमाइलो पक्ष के हो भने, आगामी यू–१९ विश्वकपका लागि घोषित अमेरिकाको टोलीमा परेका सबै खेलाडी भारतीय मूलका हुन् ।

अमेरिकाको टोलीमा अमेरिकी मूलका एकजना खेलाडी पनि परेका छैनन् । टोलीमा परेका भारतीय मूलका केही खेलाडी अमेरिकामै जन्मिएका हुन् भने केही खेलाडी भारतमा जन्मिएर पछि अमेरिकामा बसाई सरेका हुन् ।

अमेरिकाले उक्त विश्वकपका लागि भारतीय मूलका खेलाडी ऋषि रमेशको कप्तानीमा टोलीको घोषणा गरेको छ । टोलीमा अमोघ अरेपाल्ली, रायन भगानी, आर्यन बत्रा, खुश भलाला, प्रणव चेट्टीपलायाम, आर्या गर्ग, सिद्धार्थ कप्पा, भाब्या मेहता, एरिन नादकर्णी, मानव नायक, पार्थ पटेल, उत्कृर्ष श्रीवास्तव (उप–कप्तान), अतिन्द्र सुब्रमन्यन र आर्यमान सुरी रहेका छन् । अतिरिक्त खेलाडीमा अर्जुन महेश, अंश राई र आर्यन सथिष रहेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप