बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सभा निर्वाचन

राष्ट्रियसभा निर्वाचन : बागमतीका १५ उम्मेदवार को कस्ता ?

मङ्गलबार, २४ पुस २०८०, २१ : ००
मङ्गलबार, २४ पुस २०८०

मकवानपुर । राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशतर्फको ४ सिटमा ४ दलका १५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धन र विपक्षीसहित ४ दलका १५ उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् ।

बागमती प्रदेशमा अन्य, महिला, दलित, अपाङ्गता/अल्पसङ्ख्यक क्लस्टरमा हुने निर्वाचनमा सत्ता गठबन्धनबाट ४, एमालेबाट ४, नेमकिपाबाट ४ र राप्रपाबाट ३ जनाले मनोनयन दर्ता गराएका छन् ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले २ सिट (अन्य र महिला क्लस्टर), माओवादी केन्द्रले १ सिट (अपाङ्गता÷अल्पसङ्ख्यक) र एकीकृत समाजवादीले १ सिट (दलित) क्लस्टरमा उम्मेदवार उठाएका छन् भने एमाले र नेमकिपाले ४ वटै क्लस्टर र राप्रपाले ३ वटा क्लस्टरमा उम्मेदवारी दिएको छ । राप्रपाले दलित क्लस्टरमा उम्मेदवारी दिएको छैन ।

माघ ११ मा हुने निर्वाचनमा मुख्य रूपमा सत्ता गठबन्धन र एमालेबिच नै प्रतिस्पर्धा हुने निश्चित छ । अंक गणितीय हिसाबले सत्ता गठबन्धन स्पष्ट बहुमतमा रहेका बखत एमालेले खासै उत्साहित भने देखिएन । मतदाता सङ्ख्या कम भएका कारण नतिजा सत्ता गठबन्धनको पक्षमा आउने स्पष्ट आकलनसहित उम्मेदवार छनोटमा पनि एमालेले खासै ध्यान दिएन । एमालेले नयाँ अनुहारलाई चुनावी मैदानमा उतारेको छ ।

यता सत्ता गठबन्धनबाट पनि संसदीय निर्वाचनमा अनुभव नभएकालाई नै अघि सारिएको छ । कांग्रेसले पार्टीमा लामो समय योगदान गरेको र संगठन निर्माणमा भूमिका खेलेको भन्दै पुरानो नेतृसँगै अर्का एक युवा नेतालाई चुनावी मैदानमा उठाएको छ । माओवादी केन्द्रले सशस्त्र संघर्षका घाइते अपाङ्गता भएका पुराना नेतालाई उम्मेदवार बनाएको छ भने एकीकृत समाजवादीले राजनीतिसँगै व्यवसायमा सक्रिय नेतालाई उम्मेदवार बनाएको छ ।

यस्ता छन् एमालेका उम्मेदवार

एमालेबाट अन्य क्लस्टर अन्तर्गत उम्मेदवार बनेका त्रिलोचन पौडेल २०७४ मा एमाले छिरेका हुन् । २०७४ को निर्वाचनमा एमाले प्रवेश गरेका उनी २०२४ सालबाट राजनीतिमा सक्रिय छन् । ७२ वर्षीय पौडेल विशेष गरी लोकतान्त्रिक विचारधारा मन पराउँछन् । लामो समय कांग्रेसमा काम गरेका उनले पार्टी गलत दिशामा अघि बढेको र जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै विचार नै परिवर्तन गरेर एमालेमा प्रवेश गरेका थिए । उनी हाल एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्य छन् ।

कांग्रेसमा रहँदा तत्कालीन अञ्चल सचिव, जिल्ला समिति सचिव, उपाध्यक्ष हुँदै प्रजातान्त्रिक सेनानी परिषद्को केन्द्रीय सदस्य समेतको जिम्मेवारीमा निर्वाह गरेका उनी पञ्चायतविरुद्धको आन्दोलनमा सक्रिय रहँदा २०२९, २०३४, २०३८, २०४२ र २०४५ मा गरी पटक–पटक प्रहरी हिरासतमा बसेका छन् ।

विभिन्न समयमा गरी करिब ३ वर्ष जेल जीवन बिताएका उनले तल्लो तहमा बसेर काम गर्ने गरेका छन् ।

एमालेबाट अपाङ्गता÷अल्पसङ्ख्यकको क्लस्टरमा उम्मेदवार बनेका विवेक देवकोटा राजनीतिक द्वन्द्वका पीडित एवम् घाइते हुन् । माओवादी सशस्त्र द्वन्द्व अन्त्य लगत्तै राजनीतिक मुद्दाका कारणले उनले आफ्ना दुवै खुट्टा गुमाउनु परेको थियो । खुट्टा गुमाउँदा उनी यूथ फोर्सको राजनीतिमा सक्रिय थिए । २०६५ पुसमा यूथ फोर्स गठनको क्रममा उनी राजनीतिक विषयका क्रियाकलापका कारण तत्कालीन माओवादी केन्द्रको युवा दस्ता वाइसीएलको आक्रमणमा परे । त्यस समयमा उनी यूथ फोर्सको काठमाडौँ क्षेत्र नम्बर–७ को इन्चार्ज थिए ।

वाईसीयलको आक्रमणबाट गुमेको एउटा खुट्टा जोडिए पनि एउटा जोडिन सकेन । नक्कली खुट्टाको सहारामा आफू पार्टीसँगै होटल व्यवसायमा क्रियाशील रहेको उनले बताए ।

२०६४ बाट राजनीतिमा होमिएका उनी एमाले जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य हुँदै हाल युवा संघ सचिवालय सदस्य छन् ।

एमालेले महिला क्लस्टरमा दोलखाकी रोचकुमारी चौलागाईंलाई उम्मेदवार बनाएको छ । उनीसँग भूमिगत राजनीतिको समेत अनुभव छ । करिब १० वर्ष उनले भूमिगत जीवन निर्वाह गर्नु परेको थियो । आफू १३ वर्ष हुँदादेखि कम्युनिष्ट विचारधारा समातेर राजनीतिमा होमिएको उनले बताइन् ।

२०३६ सालमा उनी स्कुल पढ्दै गर्दा भूमिगत भएकी थिइन् । भूमिगतकालमा पटक पटक राज्यबाट पक्राउ परे पनि नाबालिग भएका कारण उनले जेल जीवन बिताउनु परेन । बालिग भएपछि उनको काखमा सन्तान थिए । २०४६ सालसम्म पञ्चायत व्यवस्था विरुद्ध लडेकी उनी एमालेको गाउँ कमिटी सदस्य हुँदै क्षेत्रीय कमिटी, जिल्ला कमिटी सदस्य समेत भइन् । यसअघि एमाले दोलखाको जिल्ला अधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेदवार बनेकी उनी पराजित भइन् । ३ दशक बढी राजनीतिक पृष्ठभूमि बोकेकी उनी अहिले एमाले बागमती प्रदेश कमिटीको सदस्य छिन् ।

संघीयता कार्यान्वयन अघि तत्कालीन जिल्ला शिक्षा समितिको सदस्यका रूपमा राजनीतिक नियुक्ति लिएर काम गरेकी उनले सामाजिक तथा सहकारी क्षेत्रमा लामो समय काम गरेकी छन् । उनले विगत २४ वर्षदेखि सहकारी अभियन्ताका रूपमा काम गर्दै आएकी छन् । चौलागाईं पूर्व बागमती प्रदेश सदस्य नेता पशुपति चौलागाईंकी माइली बुहारी हुन् । प्रदेशसभा सदस्य रहँदै २०७८ वैशाखमा कोभिड–१९ संक्रमणका कारण चौलागाईंको निधन भएको थियो । 

एमालेबाट दलित क्लस्टरमा उम्मेदवार बनेका ध्रुव विश्वकर्मा हाल प्रदेश कमिटी सदस्य छन् । २०३६ सालको विद्यार्थी आन्दोलनमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । धादिङ निवासी विश्वकर्माले विद्यार्थी संगठनको जिल्ला सदस्यबाट एमालेको राजनीति सुरु गरेका थिए । विद्यार्थी संगठन हुँदै उत्पीडित जाति उत्थान मञ्च धादिङको अध्यक्ष बनेका विश्वकर्मा २०५४ सालमा बेनीघाट गाउँ पञ्चायत वडा नम्बर–५ को अध्यक्ष निर्वाचित भएका थिए । २०६३ मा दलित विकास समितिको सदस्यमा नियुक्त भएका उनी गाउँ कमिटी, इलाका कमिटीका विभिन्न पदमा रहेर काम गरेका छन् भने २०६४ मा एमाले जिल्ला कमिटी सदस्य बनेका थिए । उनले एमालेको सहकारी विभागमा रहेर काम गरेका छन् । 

  • गठबन्धनका उम्मेदवार : जनयुद्धका घाइतेदेखि युवा तथा व्यवसायीसम्म

सत्ता गठबन्धनका दलहरूले जनयुद्धका घाइते देखि युवा तथा व्यवसायीलाई राष्ट्रियसभा सदस्य पदको उम्मेदवार बनाएका छन् । सत्ता गठबन्धनबाट एक सिट भाग पाएको माओवादी केन्द्रले जनयुद्धका घाइते तथा अपाङ्गता भएका नुवाकोटका श्रीकृष्ण अधिकारीलाई उम्मेदवार बनेका छन् । माओवादी सशस्त्र द्वन्द्वका क्रममा उनी घाइते भएका थिए । उनी २०५३ साल पुस १९ गते रामेछापको बेथान चौकी आक्रमणको क्रममा घाइते हुनका साथै एउटा आँखा गुमाउन परेको थियो ।

तत्कालीन नेकपा मसालबाट २०३६ सालमा राजनीति सुरु गरेका उनी हाल माओवादी केन्द्रको सम्पर्क–समन्वय प्रदेश कमिटी अध्यक्ष छन् । नुवाकोटका पुराना नेता र इमानदार नेताका रूपमा अधिकारीलाई चिनिन्छ ।

सत्ता गठबन्धनका तर्फबाट कांग्रेसले बागमती प्रदेशको अन्य क्लस्टरमा जितजंग बस्नेतलाई उम्मेदवार बनाएको छ । ललितपुरका बस्नेत युवा तथा विद्यार्थी माझ राम्रो छाप छोड्न सफल नेता हुन् । कांग्रेसको विद्यार्थी र युवा संगठनको नेतृत्व गरिसकेका उनी संस्थापन पक्षबाट राष्ट्रियसभा सदस्य पदका उम्मेदवार बनेका हुन् । पार्टीमा बालकृष्ण खाण निकटका उनी २०५३ मा त्रिभुवन विश्वविद्यालयको स्ववियु सदस्य भए । नेपाल विद्यार्थी संघ (नेविसंघ) २०५७ मा त्रिभुवन विश्वविद्यालयको सभापति चुनिएका उनी २०६५ मा नेविसंघको महामन्त्री भए ।

त्यसपछि नेविसंघबाट उनको राजनीतिक यात्रा तरुण दलतर्फ अघि बढ्यो । तरुण दलको विभिन्न पदमा रहेर काम गरेका उनी २०७३ मङ्सिरमा अध्यक्ष भए । तरुण दलको पोखरा महाधिवेशनबाट बस्नेत अध्यक्ष चुनिएका थिए । तरुण दलको अध्यक्ष, नेविसंघका महामन्त्री भइसकेका उनी २०७८ मा भएको कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । राजनीतिक शास्त्रमा स्नाकोत्तर गरेका बस्नेतलाई यसअघि प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनाउने चर्चा चलेको थियो ।

सत्ता गठबन्धनबाट महिला क्लस्टरमा कांग्रेसले विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाएको छ । २००७ सालमा जन्मिएकी उनी नेपाल महिला संघ काठमाडौँकी अध्यक्ष हुन् । कांग्रेस नेता प्रकाशमान सिंह निकट उनी २०३३ सालबाट विद्यार्थी संगठनबाट राजनीतिमा सक्रिय भएकी हुन् । २०३३ सालमै कांग्रेसले सुरु गरेको गाउँ फर्क अभियान अन्तर्गत उनले तत्कालीन भद्रवास गाविसको वडा अध्यक्षको जिम्मेवारी पाइन् । सो पदमा उनले करिब ४ महिनामात्र काम गरिन् । ४ महिनामै सो पदबाट उनले राजीनामा दिनु प¥यो । त्यसपछि कांग्रेसको विभिन्न संरचनामा बसेर काम गरेकी उनी २०४९ मा भद्रवास गाविस अध्यक्ष पदमा निर्वाचित भइन् । सो निर्वाचनमा उनी बागमती अञ्चलको एकमात्र महिला अध्यक्ष थिइन् । कांग्रेसको १० औँ महाधिवेशनदेखि उनले निरन्तर महासमिति सदस्यका रूपमा जिम्मेवारी सम्हाल्दै आएकी छन् भने संघीयता कार्यान्वयन अघि उनले जिविस काठमाडौँकी उपाध्यक्ष भएर काम गरेकी थिइन् । उनी २०५८ देखि हालसम्म नेपाल महिला संघ काठमाडौँको अध्यक्ष छिन् ।

सत्ता गठबन्धनमा बागमतीको एक सिट (दलित क्लस्टर) भाग पाएको एकीकृत समाजवादीले धनश्याम रिजाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ । व्यवसाय र राजनीतिमा सक्रिय विश्वकर्मा नेपाल सुनचाँदी कला व्यवसायी संघको केन्द्रीय अध्यक्ष हुन् । च्छोरोल्पा गोल्ड एण्ड सिल्भर ज्वेलर्स दोलखाका प्रोपाइटर विश्वकर्माले  एमालेबाट राजनीतिक जीवन थालेका थिए । उनी एकीकृत समाजवादी दोलखाका उपाध्यक्ष हुन् । एकीकृत समाजवादी सम्बद्ध दलित संगठनका महासचिव रहेका उनी एमालेमा हुँदा जिल्ला कमिटीको उपसचिव थिए । एकीकृत समाजवादीबाट दलित संगठनका अध्यक्षलाई उम्मेदवार बनाउने चर्चा चल्दै गर्दा अन्तिम समयमा विश्वकर्मालाई टिकट दिएको एकीकृत समाजवादीका एक नेताले बताए ।

  • राप्रपाका यस्ता छन् उम्मेदवार

राष्ट्रियसभा सदस्य पदका लागि बागमतीका ४ सिटमध्ये राप्रपाले ३ सिटमा उम्मेदवारी दिएको छ । राप्रपाले अन्य क्लस्टरमा राजनीतिक पृष्ठभूमिका भरतमणि भट्ट, महिलातर्फ बालकुमारी डल्लाकोटी अपाङ्गता/अल्पसंख्यकबाट हेमजंग गुरुङलाई उम्मेदवार बनाएको छ । उम्मेदवार बनेका सबै राप्रपाको विभिन्न संरचनामा रहेर पार्टीलाई सक्रिय बनाउने काम गरिरहेका छन् ।

  • नेमकिपाका उम्मेदवार यस्ता छन्

नेमकिपाले पनि राष्ट्रियसभा सदस्य पदका लागि बागमतीका ४ वटै सिटमा उम्मेदवारी दर्ता गरेको छ । नेमकिपाबाट अपाङ्गता÷अल्पसङ्ख्यक क्लस्टरबाट भक्तपुरका हिमालयश्वर लाल मुल, अन्यबाट काठमाडौँका श्रीकृष्ण महर्जन, दलिततर्फ भक्तपुरकी संगीता नेपाली र महिलातर्फ कृष्णलक्ष्मी दुवालले मनोनयन दर्ता गरेका हुन् ।

नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाईका अनुसार नेमकिपाले सक्षम र सशक्त उम्मेदवारलाई चुनावमा उठाएको छ । पार्टीको विचार र सिद्धान्तमा अविचलित रूपमा विभिन्न संरचनामा रहेर काम गरेकाहरूलाई उम्मेदवार बनाएको उनको भनाइ छ । उम्मेदवारहरू सामाजिक, राजनीतिक तथा किसान मजदुरको पक्षमा वकालत गर्न सक्षम रहेकाले पार्टीले टिकट दिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप