बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रोहित शर्मा र विराट कोहली टी–२० टोलीमा फर्किएपछि भारतीय क्रिकेटमा नयाँ तरङ्ग

बुधबार, २५ पुस २०८०, १० : ४५
बुधबार, २५ पुस २०८०

काठमाडौँ । निकट भविष्यमा हुने अफगानिस्तानविरुद्धको टी–२० शृङ्खलाका लागि रोहित शर्मा र विराट कोहलीलाई पनि भारतीय टोलीमा समावेश गरिएपछि त्यसको चर्को आलोचना सुरु भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को उक्त निर्णयलाई लिएर भारतका पूर्वक्रिकेटरहरु दुई समूहमा विभाजित भएका छन् ।

केही पूर्वक्रिकेटरले रोहित शर्मा र विराट कोहलीलाई टी–२० टोलीमा फिर्ता बोलाउने निर्णयको आलोचना गरेका छन् । भारतले निकट भविष्यमा अफगानिस्तानसँग तीनवटा खेलको टी–२० शृङ्खला खेल्ने कार्यक्रम रहेको छ ।

उक्त शृङ्खलाका लागि रोहित शर्माको कप्तानीमा भारतीय टोलीको घोषणा गरिएको छ । भारतीय टोलीका पूर्व खेलाडी दीप दासगुप्ताले रोहित शर्मा र विराट कोहली पुनः टी–२० टोलीमा फर्कँदा युवा खेलाडीहरू ओझेलमा परेको आरोप लगाएका छन् ।

पूर्व क्रिकेटर सौरभ गांगुली र सुनिल गावस्करले भने रोहित शर्मा र विराट कोहलीलाई टी–२० टोलीमा समावेश गर्ने निर्णय उपयुक्त भएको टिप्पणी गरेका छन् । उनीहरुले सिनियर खेलाडीको उपस्थितिले युवा खेलाडीमा पनि उर्जा थप्ने विश्वास व्यक्त गरेका छन् ।

तर, दीप दासगुप्ताले भने रोहित र विराटलाई टी–२० टोलीमा समावेश गर्दा तिलक वर्मा, रिंकु सिंह, यशस्वी जैसवाल, जितेश शर्मालगायतका युवा खेलाडीहरू ओझेलमा पर्ने दाबी गरेका छन् । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा पनि रोहित र विराटलाई टोलीमा समावेश गरिने सङ्केत बीसीसीआईले दिएको छ ।

रोहित र विराट दुबै करिब १४ महिनापछि टी–२० राष्ट्रिय टोलीमा फर्किएका हुन् । बीसीसीआईले सिनियर खेलाडीहरुसँग सल्लाह गरेर नै अफगानिस्तानविरुद्धको खेलका लागि विराट र रोहितलाई टोलीमा फिर्ता बोलाइएको दाबी गरेको छ ।

यद्यपि, टी–२० टोलीको घोषणा गर्दा प्रमुख छनोटकर्ता अजित अगरकर भने केपटाउनमा रहेको समाचारमा जनाइएको छ । यसअघि टी–२० टोलीका कप्तान हार्दिक पाण्डेया र सूर्यकुमार यादबलाई पनि स्वास्थ्य समस्याका कारण टोलीमा समावेश गरिएको छैन ।

सूर्यकुमार जोहानसबर्गमा खेलिएको तेस्रो एकदिवसीय खेलका क्रममा फिल्डिङ गर्दा घाइते भएका थिए । हार्दिक भने हालै भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपका क्रममा घाइते भएका थिए । टी–२० टोलीमा केएल राहुललाई स्थान नदिइएकोमा पनि धेरैले चयनकर्ताको आलोचना गरेका छन् ।

पछिल्लो समय केएल राहुलले एकदिवसीय अन्तर्राष्ट्रिय र टेस्ट दुबै ढाँचाको क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । दक्षिण अफ्रिका भ्रमणलगत्तै केएल राहुल आफै पनि टी–२० टोलीमा फर्कने इच्छा व्यक्त गरेका थिए ।

दक्षिण अफ्रिका भ्रमणका क्रममा केएल राहुलकै कप्तानीमा भातरले एकदिवसीय शृङ्खला जितेको थियो । यसका अतिरिक्त उनले टेस्ट शृंखलामा पनि शतक बनाएका थिए । रोहित र विराटजस्तै केएल राहुलले पनि सन् २०२२ को टी–२० विश्वकपपछि टी–२० प्रतियोगिता खेलेका छैनन् ।

यी तीनैजना खेलाडीले पछिल्लो पटक सन् २०२२ को टी–२० विश्वकपमा इङ्ल्यान्डविरुद्ध सेमिफाइनल खेल खेलेका थिए । उक्त खेलमा भारत पराजित भएको थियो । रोहित र विराटले अब आफ्नो सम्पूर्ण ध्यान टी–२० ढाँचाको क्रिकेटभन्दा पनि टेस्ट र एकदिवसीय खेलमा केन्द्रित गर्ने सार्वजनिक अभिव्यक्ति पनि दिएका थिए ।

सन् २०२२ को टी–२० विश्वकपपछि अधिकांश खेलमा हार्दिकले नै टोलीको नेतृत्व गरेका थिए । उनी घाइते भएपछि सूर्यकुमारलाई टी–२० टोलीको कप्तान बनाइएको थियो । हालै घोषित भारतको टी–२० टोलीमा विकेटकिपर ब्याट्सम्यान ईशान किशनको अनुपस्थितिलाई लिएर पनि धेरैले प्रश्न उठाउँदै आएका छन् । यद्यपि, बीसीसीआईले भने ईशान किशनकै इच्छा अनुसार उनलाई टोलीमा समावेश नगरिएको दाबी गरेको छ ।

ईशान किशनको अनुपस्थितिमा संजु सैमसनलाई टोलीमा स्थान दिइएको छ । संजु सैमसनले पनि गत अगस्तयता टी–२० प्रतियोगिता खेलेका छैनन् । आईपीएलमा उत्कृष्ट प्रदर्शन गरे पनि उनलाई राष्ट्रिय टोलीमा स्थान दिइएको थिएन ।  

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप