शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
बम्जन पक्राउ प्रकरण

‘तपस्वी’ बाट ३ करोड ३४ लाख बरामद, मोबाइलमात्रै १४ वटा !

सीआईबीद्वारा बम्जन सार्वजनिक
बुधबार, २५ पुस २०८०, १४ : ४१
बुधबार, २५ पुस २०८०

काठमाडौँ । मंगलबार पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनको साथबाट प्रहरीले ३ करोड ३४ लाख ३७ हजार ९०६.७ रुपैयाँ बरामद गरेको छ । विभिन्न १७ देशका विदेशी मुद्रासहित उनको साथबाट उक्त परिमाण बराबरको नेपाली रुपैयाँ बरामद भएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

उनलाई पक्राउ गरिएकोबारे औपचारिक जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा उनलाई बूढानीलकण्ठ नगरपालिका, वडा नं ६, टन गाउँबाट पक्राउ गरिएको जानकारी दिइयो । उनको साथबाट प्रहरीले मोबाइलमात्रै १४ थान बरामद गरेको छ । 

२०७१ श्रावनदेखि बाराको हलखोरियामा बम्जनको आश्रममा रहेकी आनीले  यौन शोषण गरेको भन्दै उनीविरुद्ध उजुरी दिएकी थिइन् ।  बाल यौन शोषण गरेको मुद्दा लागेपछि फरार रहेका बाराको रतनपुरी स्थायी वतन भएका बम्जनलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतले २०७६/१०/२३ अनुमति दिएको थियो ।  

यसैगरी प्रतिवादीलाई पक्राउ गरी उपस्थित गराई गराउन जिल्ला प्रहरी कार्यालय, सर्लाहीले पनि २०७६/१०/२४ पत्राचार गरिसकेकामा  खोजतलासका क्रममा बुधबार पक्राउ गर्न सकिएको सीआईबीको भनाइ छ । 

बम्जनको खोजतलास गर्ने क्रममा मंगलबार  करिव १९ः १५ बजे  पक्राउ गर्न घरमा प्रवेश गर्दा  उनी खाली रहेको भिरालो जमिनमा झ्यालबाट हाम फाली भाग्ने क्रममा  ब्यूरोको टोलीले पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रहरीका अनुसार बरामद दसीमा मोबाइलबाहेक ३ वटा मोटरसाइकलको बिलबुल रहेका छन् । यस्तै गाडीको चाबी १ थान, विभिन्न ब्राण्डको पेनड्राइभ २० थान, भोइस रेकर्डर १ थान, विभिन्न ब्राण्डको मेमोरी कार्ड २ थान, आईप्याड र ट्याब ५ थान र अन्य मागजातहरु बरामद भएको सीआईबीले जनाएको छ । 

Capture

सीआईबीले बम्जनको आश्रमबाट विभिन्न समयमा बेपत्ता भएका अनुयायीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ । 

पत्रकार सम्मेलनकै क्रममा बम्जनलाई सार्वजनिक समेत गरिएको थियो । 

के भन्छन् सीआईबीका एसएसपी दिनेश आचार्य ?

लामो अनुसन्धान र प्रयासपछि केन्द्रीय अनुसन्धान ब्युरोद्वारा रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई हिजो बेलुकी पक्राउ गर्न सफल भएका छौं । विशेष गरेर २०७६ सालमा सर्लाहीमा एक जना नाबालिकालाई बालयौन दुराचार बलात्कारको केशमा निज रामबहादुर बञ्जनको खोजी भईरहेको अवस्था थियो । यसै सन्दर्भमा विभिन्न मानिसहरु पनि हराइरहेको भन्ने सूचना पनि प्रहरीसँग आएको थियो । निज बम्जनको खोजी केन्द्रीय अनुसन्धान ब्यूरोले लामो समयदेखि गरिरहेको अवस्था हो ।  यसै पक्राउको सन्दर्भमा हिजो निजलाई पक्राउ गर्दाखेरी निजको निवासबाट ठूलो संख्यामा नेपाली रुपैयाँ टोटल ३ करोड ३ लाख ७५ हजार ५ सय रुपैयाँ विभिन्न देशका मुद्राहरूको नेपाली रुपैयाँमा कन्भर्ट गर्दाखेरी ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ बरामद भएको थियो । र यो नगदको साथसाथै अन्य थुप्रै सामानहरु बरामद गरिएको छ । जसमा मोबाइल १४ थान, आईप्याड ५ थान र निजको साथमा २ वटा गाडीहरू र ४ वटा मोटरसाइकल पनि रहेको पाइएको छ । थप अनुसन्धानको काम पनि भइरहेको छ । ’

ब्युरोले पक्राउ परेका बम्जनलाई बुधबार सर्लाही जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरेको छ । बम्जनको घरबाट बरामद भएको १७ देशको विदेशी मुद्रासहितको ठूलो धनराशिबारे पनि थप अनुसन्धान गरी तत्काल कारबाही प्रक्रिया अघि बढाउने सिआईबीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप