बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : लामिछानेलाई जेल सजाय, बम्जन हिरासतमा

बुधबार, २५ पुस २०८०, १९ : ५७
बुधबार, २५ पुस २०८०

आज २०८० पुस २५ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • लामिछानेलाई ८ वर्ष जेल सजाय

क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार उनीविरुद्ध सजाय निर्धारण गरेका हुन् । यसैगरी बलात्कार कसुरमा लामिछानेलाई ३ लाख जरिवानाका साथै पीडितलाई २ लाख क्षतिपूर्ति भराउन पनि अदालतले फैसला गरेको छ ।

  • तपस्वी पक्राउ

बुद्ध धर्मका अनुयायीहरुबाट पुजिने व्यक्ति हुन्, राम बहादुर बम्जन । उनलाई धेरैले ‘लिटल बुद्ध’ भनेर चिन्छन् । तर, भक्तजनबाट पूजा गरिने तिनै बम्जन अहिले प्रहरीको नियन्त्रणमा छन् । अनुयायीबाट संकलन गरेको रकमले बम्जनले आलिशान महलमा ऐयासी जीवन बिताउने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’को अनुसन्धान निष्कर्ष छ ।

  • शाहलाई ३ वर्ष कैद 

भ्रष्टाचार मुद्दामा विशेष अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी महेश विक्रम शाहलाई ३ वर्ष कैद सजाय सुनाएको छ । यस्तै साढे १६ लाखभन्दा बढी जरिवानाको पनि फैसला भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले रातोपाटीलाई जानकारी दिए ।

  • लामिछानेलाई ८ वर्ष जेल सजाय

सुदूरपश्चिम सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादन र संसदीय दलका नेताको भूमिकालाई लिएर बढेको विवाद सतहमै छताछुल्ल भएको छ । सरकारको कार्यसम्पादन, माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरू कार्यक्षमता र दलका नेता खगराज भट्टको कार्यशैलीलाई लिएर राज्यमन्त्रीसहित ७ जना प्रदेश सांसदले पुस २१ गते प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर लिखित पत्र बुझाएका थिए ।

  • मन्त्रिपरिषद् बैठक

सरकारले भूकम्पबाट प्रभावित जिल्लाहरूका लागि प्रधानमन्त्री दैविक सहायता कोषमा मौज्दात रहेको रकममध्येबाट विपद् व्यवस्थापन कोषमा २ अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकबारे बुधवार जानकारी दिँदै सञ्चारमन्त्री रेखा शर्माले सो कुराको जानकारी दिएकी हुन् ।

  • कोरोनाभाइरस

कोभिड–१९ (कोरोना) भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरियन्ट जेएन.१ नेपालमा पहिलो पटक पुष्टि भएसँगै जनस्वास्थ्यविद्हरुले सावधानी अपनाउन सुझाव दिएका छन् । हालसम्म यस भेरियन्टले सामान्य ज्वरो आउने, रुघाखोकी लाग्नेजस्ता लक्षणमात्रै देखिएकाले भयावह स्थिति सिर्जना नहुने यद्यपि सामान्य स्वास्थ्य मापदण्ड भने अपनाउन उनीहरूको सुझाव छ ।

  • माओवादी अभियानको समीक्षात्मक बैठक

पार्टी रूपान्तरण विशेष चार महिने अभियान समापन भएसँगै सातै प्रदेशमा माओवादी केन्द्रको प्रदेशस्तरीय समीक्षा बैठक जारी छ । साउनको तेस्रो साता राजधानीको प्रज्ञाभवन कमलादीमा सम्पन्न केन्द्रीय समिति बैठकमा गरमागरम बहस र छलफलपछि रूपान्तरण विशेष अभियान चलाउने निर्णय भएको थियो ।

  • सन्थाल बस्ती

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वका साथ उद्घाटन गरेको मोरङ उर्लाबारी–८ को सन्थाल बस्ती नबन्ने सम्भावना बढेको छ । ८ करोड ८८ लाख ५६ हजार लागतमा ठेक्कामा लागेको उक्त बस्तीको निर्माण कार्य सुरु हुनै नपाई ठेक्का रद्द हुन लागेको हो । 

  • विरोध प्रदर्शन

 बागमती प्रदेश सरकारले १३ जिल्लामा एक÷एक वटा सार्वजनिक विरोधस्थल निर्माण गर्ने भएको छ । सोही अनुसार प्रदेश सरकारको गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरी बजेटसमेत अख्तियारी प्रदान गरिएको छ ।

  • भौगोलिक सूचना पूर्वाधार नीति

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘भौगोलिक सूचना पूर्वाधार नीति, २०८०’ को मस्यौदा तयार गरेको छ । भौगोलिक सूचना पूर्वाधारको क्षेत्रमा राष्ट्रियस्तरको संरचना स्थापना गरी उत्पादक तथा प्रयोगकर्तालाई एकद्वार प्रणालीमार्फत सूचना दिने उद्देश्य अनुरुप यो नीति ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप