आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रकाश दाहाल स्मृति ब्याडमिन्टन : प्रिन्स र सुजन विजयी

बुधबार, २५ पुस २०८०, २१ : ४९
बुधबार, २५ पुस २०८०

काठमाडौँ । एपिएफ क्लबका प्रिन्स दाहाल र सुजन थापा ‘प्रथम प्रकाश दाहाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’को प्रि–क्वाटरफाइनमा प्रवेश गरेका छन् । स्पोर्टस् हबको आयोजनामा आजदेखि सुरु भएको उक्त प्रतियोगितामा प्रिन्सले जोहर उद्दिनलाई २१–७ र २१–६ अङ्कले तथा सुजनले बालकुमारी रिमिक्स क्लबका मुकेश श्रेष्ठलाई २१–१७ र २१–१३ अङ्कले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । 

काठमाडौँ महामनगरपालिका–६ बौद्ध लाखेपोखरीको कभर्डहलमा आज भएका अन्य खेलमा नेपाल पुलिस क्लबका सुनिल जोशीले एपिएफका अमन महर्जनलाई २१–१९ र २१–१६ अङ्कले, नेपाल आर्मी क्लबका डेभिड थापामगरले स्पोर्टस् हबका विशाल तामाङलाई १७–२१, २१–११ र २१–१५ अङ्कले तथा पुलिस क्लबका जीवन आचार्यले एपिएफका क्षितिज खनाललाई २१–१९ र २२–२० अङ्कले पराजित गरे । 

त्यस्तै आर्मी क्लबका कवीर केसीले सरफराज उद्दिनलाई २१–२ र २१–४ अङ्कले, एपिएफका देवराज रानाले सागर लामालाई २१–५ र २१–४ अङ्कले र पुलिस क्लबका अभि श्रेष्ठले पिस फिटनेश सेन्टरका दशरथ बुढालाई २१–७ र २१–१६ अङ्कले हराए । एपिएफका अनिल मल्लले भने एपिएफकै अरुण अधिकारीबाट ‘वाक ओभर’ पाए । 

यसैगरी पुलिस क्लबका दीपक बोहराले आर्मी क्लबका रोशन साउदलाई १७–२१, २१–१२ र २१–१९ अङ्कले, एपिएफका भोजबहादुर गुरुङले मोइन उद्दिनलाई २१–१० र २१–९ अङ्कले, आर्मी क्लबका प्रफुल महर्जनले बालकुमारी रिमिक्सका सुशन श्रेष्ठलाई २१–९ र २१–६ अङ्कले तथा नखिपोटका विवेक चौधरीले लाफ्फाका मनोज फौदारलाई २१–११, १५–२१ र २१–१७ अङ्कले पराजित गरे ।

 यस्तै आजै भएका खेलमा एपिएफका विजित थापामगरले पुलिस क्लबका पुर्ण थापालाई २१–१९, १९–२१ र २१–११ अङ्कले, स्पोर्टस् हबका सुनील कार्कीले एपिएफका प्रारम्भ सिंखडालाई २१–१२ र २१–७ अङ्कले र पुलिसका विष्णु कटुवालले देवीनगर ब्याडमिन्टन क्लबका बविश थापालाई २१–१४ र २१–४ अङ्कले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरे ।

ब्याडमिन्टन सङ्घको मान्यता प्राप्त बरियतासहितको उक्त राष्ट्रिय प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (शीर्ष २० वरियताबाहेक) , स्थानीय स्तर, मास्टर्स युगल (३५ वर्ष माथि) र ४५ वर्ष माथिको विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता निर्देशक एवं संयोजक आङ्गकुसाङ्ग शेर्पाले जानकारी दिए । उक्त प्रतियोगिताका विजेता, उपविजेता तथा तृतीय स्थान प्राप्त गर्ने खेलाडीले क्रमश ः रु ४५ हजार, रु २५ हजार र रु १० हजारसहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्नेछन् । 

नेकपा (माओवादी केन्द्र) का नेता प्रकाश दाहालको स्मृतिमा आयोजना गरिएको उक्त प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले गरेका थिए । कार्यक्रममा माओवादी केन्द्रकी नेत्री बीना मगरले प्रतियोगिताले निरन्तरता पाउने विश्वास व्यक्त गरिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप