आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको मत बाहिर जाँदैन : रमेश लेखक

बिहीबार, २६ पुस २०८०, १२ : ००
बिहीबार, २६ पुस २०८०

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको मत गठबन्धन भन्दा बाहिर जाने स्थिति नरहेको दाबी गरे ।

आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले निश्चित मानिसहरू मतदाता भएकाले मत बाँडिने वा गठबन्धनका उम्मेदवारहरू भन्दा बाहिर मत जाने स्थिति नहुने बताए । उनले मतदाता प्रदेश सभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू रहेकाले उनीहरू आफ्ना आफ्ना पार्टीका नेता भएकाले देशको समसामयिक राजनीतिक परिस्थिति बुझेर नै मतदान गर्नेमा विश्वस्त रहेको बताए । 

उनले एउटा पार्टीका उम्मेदवारहरूले अर्को पार्टीका उम्मेदवारहरू नचिन्ने भएको हुँदा अहिले राष्ट्रिय सभामा आफ्ना उम्मेदवारहरू जिताउन गठबन्धनले बनाएको राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति, प्रदेश समन्वय समिति र जिल्ला समन्वय समितिहरू मतदातासँग उम्मेदवारको चिनजान गराउन लाग्ने बताए । उनले राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा सरकारमा संलग्न र सरकारलाई समर्थन गरेका राजनीतिक दलहरूको गठबन्धन रहेको र उम्मेदवार पनि गठबन्धनबाटै दिएकाले यो समितिले गठबन्धनका उम्मेदवार जिताउन भूमिका खेल्ने बताए ।

नेता लेखकले राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिले बुधवारबाटै काम सुरु गरिसकेको बताए । पहिलो चरणमा सात वटै प्रदेशमा समन्वय समिति गठन गर्ने निर्णय भएको पनि लेखकले बताए । पार्टीका प्रदेश प्रमुख, प्रदेश सभापति वा अध्यक्ष र पार्टीहरूको संसदीय दलको नेता समेत सहभागी हुनेगरी सात वटा प्रदेशमा समन्वय समिति बनाउने निर्णय भएको उनले बताए । साथै गठबन्धनले सबै जिल्लाहरूमा पार्टीका जिल्ला प्रमुखहरू सहितको जिल्ला समन्वय समिति बनाउने निर्णय भएको बताए ।

राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति संयोजक समेत रहेका लेखकले समन्वय समितिले निर्वाचन व्यवस्थित बनाउन लाग्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप