आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभा निर्वाचन : गठबन्धनलाई भोट ‘स्विङ’ हुने डर

आइतबार, २९ पुस २०८०, २१ : ११
आइतबार, २९ पुस २०८०

पोखरा । गण्डकी प्रदेशमा एमाले भन्दा सत्ता गठबन्धन १ हजार ३ सय ८८ मतभारले अगाडी छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनमोर्चाका मतदाता गण्डकीमा छन् । एमाले र राप्रपाले छुट्टै प्रतिस्पर्धा गरेको छ । सत्ता गठबन्धनको ३ हजार ८ सय २७ मतभार छ भने एमालेसँग २ हजार ४ सय ३९ र राप्रपासँग १०६ मतभार छ । 

स्थानीय तहका १ सय ७० र प्रदेशसभाका ६० मतदाताको ६ हजार ४ सय १० मतभार गण्डकीमा छ । तर सत्ता गठबन्धनलाई आफ्नै मतदाताको डर छ । गठबन्धनबाट ४ दलको मतदाता भए पनि कांग्रेस र माओवादीको मात्रै उम्मेदवार छन् । उम्मेदवार बाहेकका दलका जनप्रतिनिधिले मत नदिने डर गठबन्धनलाई छ ।

यस्तै, कांग्रेस र माओवादी बिचमा पनि एक अर्काको विश्वास कम छ । अघिल्लो राष्ट्रियसभा निर्वाचनमा एमाले र माओवादीको गठबन्धन हुँदा कांग्रेसका एक उम्मेदवारले २ भोट क्रस गराएका थिए । त्यसैले अहिले पनि भोट क्रस हुने डर गठबन्धनलाई छ । तथापि मतभारको अन्तर फराकिलो भएकोले नतिजा तलमाथि हुने सम्भावना न्यून छ । अहिले उम्मेदवारहरु चुनावी प्रचारमा छन् । एघार वटै जिल्लामा पुगेर मत माग्ने तालिका रहेको निर्वाचन संयोजक तथा कांग्रेस सभापति शुक्रराज शर्माले बताए ।

आइतबार उम्मेदवारसहित पत्रकार सम्मेलन गरेर गठबन्धनको पक्षमा मतदान गरिदिन उनले आह्वान गरेका छन् । राजनीतिक परिस्थितिका कारण गठबन्धन निर्माण भएको भन्दै संविधानको रक्षाका लागि गठबन्धन उम्मेदवारले जित्नुपर्ने दाबी शर्माको छ । 

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, दीपा गुरुङ र प्रकाश पन्थको ६ वर्षे कार्यकाल पूरा भएको छ । उनीहरूको ठाउँमा माघ ११ गते निर्वाचन हुँदैछ । कांग्रेसबाट अन्य क्लस्टरमा किरणबाबु श्रेष्ठ र अपाङ्गता क्लस्टरमा पदमबहादुर परियार उम्मेदवार छन् । माओवादीबाट महिला क्लस्टरमा मनरुपा शर्माको उम्मेदवारी परेको छ । तीनैजना सँगै चुनावी प्रचारमा छन् ।

आइतबार पत्रकार सम्मेलनमा श्रेष्ठले आफ्नो इमानको विगत हेरेर निर्वाचनमा मतदान गरिदिन आग्रह गरे । ‘मेरो विगत डगमगाएको छैन । कुनै गल्ती नगरेकै कारण शिर ठाडो बनाएर हिँड्न सकेको छु,’ उनले भने, ‘आगामी दिनमा पनि कमजोरी गर्दिनँ । देशको पक्षमा काम गर्छु ।’ शर्माले अहिलेको व्यवस्था ल्याउन धेरै त्याग गरेको भन्दै मत मागिन् । ‘गणतन्त्र ल्याउनका लागि श्रीमान् गुमाएको छु । म आफै भूमिगत भएर क्रान्तिमा होमिएको हुँ,’ उनले भनिन् । परियारले सीमान्तकृत समूहको आवाज बुलन्द पार्न आफूले उम्मेदवारी दिएको बताए । ‘म ठुलो संघर्ष गरेर अहिलेको अवस्थामा आएको हुँ । भुईँको मान्छेलाई टिपेर पार्टीले यति ठुलो जिम्मेवारी दिएको छ,’ उनले भने, ‘म आफ्नो जिम्मेवारीमा किञ्चित विचलित हुने छैन ।’

आफ्ना उम्मेदवारहरूलाई जिताउन गठबन्धनले माघ २ गते नवलपुरमा, ३ गते गोरखा र लमजुङ, ४ गते तनहुँ, ५ गते स्याङ्जामा भेटघाट हुनेछ । यस्तै, ६ गते म्याग्दी र बागलुङ, ७ गते पर्वत र कास्की, ८ गते मनाङ तथा ९ गते मुस्ताङमा मतदाताहरूसँग भेटघाट कार्यक्रम तय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप