शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

समूहगत चरणमा दोस्रो हुँदै प्रिक्वार्टरफाइनलमा पुग्यो इजिप्ट

मङ्गलबार, ०९ माघ २०८०, १० : १२
मङ्गलबार, ०९ माघ २०८०

काठमाडौँ । इजिप्ट अफ्रिका कप अफ नेसन्श फुटबल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । सोमबार राति सम्पन्न खेलमा केप भार्डेसँग २–२ गोलको बराबरीमा रोकिए पनि इजिप्ट प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा पुग्न सफल भएको हो ।

समूह ‘बी’ अन्तर्गत इजिप्ट र केप भार्डेबिचको खेल निकै रोमाञ्चक थियो । खेलमा सुरुआती अग्रता भने केप भार्डेले लिएको थियो । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा केप भार्डेका लागि गिल्सन टाभरेसले पहिलो गोल गरेका थिए ।

सोही गोलका कारण पहिलो हाफमा केप भार्डे अगाडि रह्यो । निर्धारित समयको ५०औँ मिनेटमा इजिप्टका लागि ट्रेजेगुएटले जवाफी गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए । प्रतिष्पर्धात्म खेलको दोस्रो हाफको इन्जुरी समयमा इजिप्टले २–१ को अग्रता लिएको थियो ।

इजिप्टका लागि दोस्रो गोल मोस्तफा मोहमदले गरेका थिए । दोस्रो हाफको इन्जुरी समयमै केप भार्डेले जवाफी गोल फर्काएका थिए । केप भार्डेका लागि दोस्रो गोल ब्रायन सिल्भाले गरेका थिए । अघिल्लो खेलमा घाइते भएका कारण केप भर्डेविरुद्धको खेलमा इजिप्टका प्रभावशाली खेलाडी मोहमद सलाह भने मैदानमा ओर्लिएका थिएनन् ।

सोही समूहको अर्को खेलमा मोजाम्बिकले बलियो प्रतिद्वन्द्वी घानालाई २–२ गोलको बराबरीमा रोक्यो । समूह ‘बी’ मा रहेका चारवटै टोलीले तीन–तीन खेल खेलिसकेका छन् । केप भार्डे सात अंकसहित तालिकाको पहिलो स्थानमा छ ।

इजिप्ट भने तीन अंकसहित तालिकाको दोस्रो स्थानमा छ । केप भार्डे र इजिप्ट प्रतियोगिताको नकआउट चरणमा पुगेका हुन् । घानाको पनि अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना भने कायमै छ । समूहगत चरणको खेलको समाप्तिपछि तेस्रो स्थानमा रहने उत्कृष्ट चारवटा टोली पनि अन्तिम १६ मा पुग्ने प्रावधान रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप