बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
पञ्चा सिंह मुछिएको पुरानो घटना

पक्राउ पुर्जीले तरङ्ग : मृतकका बुबा भन्छन्–छोराले नक्कली डकुमेन्टको विरोध गर्दा घटना भयो

पञ्चा सिंहको दाबी : घटनामा मेरो संलग्नता छैन
मङ्गलबार, ०९ माघ २०८०, १० : ५६
मङ्गलबार, ०९ माघ २०८०

सुर्खेत । १५ वर्षअघिको हत्या सम्बन्धी घटनालाई लिएर नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । गत शुक्रबार प्रहरीले सुर्खेत जिल्ला अदालतबाट पक्राउ अनुमति पाएको हो । प्रहरीका अनुसार कालिकोटको खाँडाचक्र नगरपालिका–८, का १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गर्न अदालतबाट अनुमति प्राप्त भएको हो ।

किटानी जाहेरीमा नाम उल्लेख भएका कालिकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएकी सिंहसहित ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाँडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अली कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । प्रहरीले ०७९ साउन १३ गते पक्राउका लागि अनुमति माग गरेको थियो ।

०६५ फागुन २६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित जन माविमा अध्ययनरत राजबहादुरको खुकुरी प्रहार गरी हत्या गरिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले पुरानो मुद्दाको अनुसन्धान अघि बढेको बताए ।

‘पुरानो मुद्दा हो, अहिले अनुसन्धान अघि बढ्यो भनेर बुझ्नुहोस्,’ उनले भने । यद्यपि अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन ।

तत्कालीन माओवादी लडाकु र अखिल क्रान्तिकारीका विद्यार्थीले राजबहादुरको हत्या गरेको आरोप छ । छोराको हत्या भएपछि राजबहादुरका बुबा नन्दबहादुर मल्लले सुर्खेत प्रहरीमा कर्तव्य ज्यान सम्बन्धी जाहेरी दिएका थिए । नन्दबहादुर अहिले खाँडाचक्र नगरपालिका–८ को वडाध्यक्ष छन् भने कार्यवाहक मेयरको भूमिकामा समेत छन् ।

०६५ फागुन २६ गते बेलुका सुर्खेत बसपार्कमा राजबहादुरमाथि खुकुरी प्रहार भएको भनिएको छ । बेलुका ८ बजेतिर बसपार्कको एक होटलमा खाना खाइ कोठातर्फ जाने बेलामा राजबहादुरमाथि खुकुरी प्रहार भएपछि घाइते भएका उनको देउती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भनिएको छ ।

स्ववियु निर्वाचनको विषयमा विवाद भएको र त्यही विवादका बिच राजबहादुरमाथि आक्रमण हुँदा उनको मृत्यु भएको बताइन्छ । स्ववियु निर्वाचनको विवाद तत्कालीन शिक्षा क्याप्पस र बहुमुखी क्याम्पसमा थियो तर, राजबहादुर भने जनमाविमा अध्ययनरत थिए ।

अखिल क्रान्तिकारीका अध्यक्ष सिंह त्यो बेला बहुमुखीको इञ्चार्ज थिइन् । नन्दबहादुरले दिएको उजुरीमा भनिएको छ, ‘स्ववियुको निर्वाचनको विषयलाई लिएर नेकपा एकीकृत माओवादी निकट वाईसिएल, अखिल क्रान्तिकारी र जनमुक्ति सेनाका कार्यकर्ता र मेरो छोराबिच झगडा भइरहने गर्दथ्यो ।’

विवादकै बिच माओवादी कार्यकर्ताले ०६५ फागुन १ गतेका दिन आफ्नो छोरा लगायत दानबहादुर मल्ल, विर मल्ल सुर्खेत तातापानीस्थित आफन्त देउला सिंहको घरमा माघे संक्रान्ति मनाउन गइ बसिरहेको अवस्थामा आक्रमण प्रयास भएको नन्दबहादुरले उजुरीमा उल्लेख गरेका छन् ।  तर त्यतिबेला आफ्नो छोरा राजबहादुर लगायतका व्यक्तिहरु झ्यालबाट हाम फाली भागेर नेपालगञ्ज पुग्न सफल भएको पनि उनले जनाएका छन् ।

त्यसपछि राजबहादुर मानवअधिकारको टोलीसहित सुर्खेत फर्किएको र इन्सेकको कार्यालयमा जीवन रक्षाका लागि निवेदनसमेत दिएको नन्दबहादुरले उजुरीमा उल्लेख गरेका छन् । स्ववियु निर्वाचन नजिकिँदै जाँदा सुर्खेतका क्याम्पसमा अध्ययनरत सिंहसहित ४५ जना विद्यार्थीको भारतीय सर्टिफिकेट राजबहादुर मल्लको नेतृत्वमा अनेरास्ववियुका विद्यार्थीहरुले खोसेर ‘नक्कली सर्टिफिकेटवाला विद्यार्थीहरु क्याम्पसमा पढ्न पाउँदैनन्’ भनेर भर्नासमेत रद्द गराएको उजुरी विवरणमा उल्लेख छ ।

त्यसैको प्रतिशोध साँध्न ०६५ फागुन २६ गते साँझ बसपार्कस्थित होटल अगाडी टाइगर भन्ने पदमबहादुर रावतले धारिलो हतियार छातीमा प्रहार गरी मारेको नन्दबहादुरले उजुरीमा उल्लेख गरेका छन् ।

घटनाबारे नन्दबहादुरको भनाइजस्ताको तस्तैः

nanda bdr malla

जनमाविमा ११ कक्षामा मेरो छोरा पढ्न गएको हो । १२ कक्षामा पुग्यो । हामी कालिकोटमा थियौँ । चुनावको बेला उनीहरुको झगडा भयो । चुनावको विषयमा मलाई खासै थाहा भएन । तर, नक्कली डकुमेन्टको विषयमा झगडा भएको हो भन्ने सुनेको हुँ । त्यही बेला चुनाव थियो भन्ने थियो, मलाई थाह भएन । चुनावमा उनीहरुबिच फाटो आयो, त्यसपछि नक्कली डकुमेन्टको विषयमा झगडा भएको भन्ने सुनेँ ।

७÷८ कक्षा पढेर भूमिगत भएकाहरु शान्ति प्रक्रियापछि विदेशबाट एसएलसी पास गरेका नक्कली डकुमेन्ट ल्याए, त्यसमा मेरो छोराले विरोध ग¥यो र घटना भएको हो भन्ने मैले सुनेको हो । पञ्चा सिंहहरु वाईसिएलमा थिए । बाँकी कुरा मलाई थाहा भएन । मैले बुझ्दा ७–७ जना आएका थिए । बसपार्कमा रहेको दैलेख भालुखोलाका एक साउजीको होटलमा मेरो छोराले खाना खाने गरेको थियो । बेलुका बसहरु रोकिएका थिए, त्यही बसको आड लिए । खाना खाइ भित्रबाट निस्कँदा घटना घटेको हो । बाहिर आउँदा टाइगर भन्ने पदमबहादुर रावतले मामा (राजबहादुर)लाई खुकुरीले हान्यो भनेर साउनीले भनिन् । खुकुरीले हानेर मेरो छोरा ढलिसकेपछि बस वरपर लुकिरहेका ६–७ जनाजति दौडिएर तलतिर गए भन्ने सुनेँ । अरुले सुनेको आधारमा हो ।

घटनाको लास उठाउने बेला पनि मलाई सुर्खेत जान दिएनन् । मेरो भाइ नवराज मल्ल गएको हो । म मान्मसम्म आएँ, त्यहाँबाट तल जान दिएनन् । लास ल्याएर आए । म पछि वैशाखको महिना सुर्खेत गएको हुँ । त्यहाँ मैले त्यही कुरा सुनेको हो । न्याय पाउने भए त १५ वर्षसम्म केही भइसक्थ्यो होला । मेरा लागि त नेपालमा कानुन पनि छैन, न्याय पनि पाइनँ ।

प्रहरीले पक्राउ अनुमति पायो भनिएको छ । दोषी पक्राउ प¥यो भने मेरो लागि न्याय पाइएला तर, निर्दोष मान्छे फस्नुहुन्न मेरो भनाइ छ । मेरो पुकार छोराको हत्या गर्नेलाई नछोडोस् भन्ने हो ।

आफ्नो कुनै संलग्नता नरहेको सिंहको दाबी

पक्राउ अनुमतिको विषय बाहिरिएसँगै अखिल क्रान्तिकारीका अध्यक्ष सिंहले आफूविरुद्ध दर्ता गरिएको जाहेरी ‘फेक’ भएको टिप्पणी गरेकी छन् । ‘कथित फेक जाहेरीमा जे–जे विषय उल्लेख गरिएको छ, त्यो कति कपोलकल्पित र तथ्यहीन छ भन्ने कुरा तत्कालीन स्ववियु सभापतिका उम्मेदवारहरु, लखेट्न गएको भनिएका घरमालिक के भन्नु हुन्छ, एक पटक सुन्नु होला अनि धारणा बनाउनु होला,’ सामाजिक सञ्जालमा एक भिडिओ शेयर गर्दै उनले लेखेकी छन् । उनले ‘कथित’ नक्कली जाहेरी खारेज गर्ने र जाहेरीका कथाकारहरुको मुखुण्डो चाँडै सार्वजनिक गरिने पनि जनाएकी छन् ।

१५ वर्ष अगाडि आफ्नो नाममा कर्तव्य ज्यान मुद्दा दर्ता भएको विषय आफूलाई कुनै जानकारी नभएको उनको भनाइ छ । साथै पार्टीको तर्फबाट प्रहरी प्रशासनलाई कुनै पनि दबाब÷प्रभाव नरहेको पनि उनले स्पष्ट पारेकी छन् । ‘१५ वर्ष अगाडि घटना कसरी घट्यो, किन घट्यो, कसको कारणले घट्यो भन्ने बारेमा न्यायिक र सत्य तथ्य छानबिन होस्, यसमा मेरो सहयोग रहनेछ,’ उनले भनेकी छन्, ‘स्थानीय राजनीतिक प्रतिशोधका आधारमा झुट्टा मुद्दा दर्ता गरिएको विषय यो घटनाको सत्यता उजागर भएसँगै सार्वजनिक हुने नै छ ।’

यो घटना आरोपहरुको उत्कर्षको रुपमा आफूले बुझेको सिंहको भनाइ छ । सिंहले आफूलाई केन्द्रबाट बहुमुखी क्याम्पसको इञ्चार्ज बनाइ पठाइएकाले जनमाविमा आफ्नो कुनै भूमिका नरहेको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप