बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
व्यापारीको समस्या

फुटपाथ र सटरका व्यवसायीको चेतावनी : माग पूरा नगरे बालेनविरुद्ध सशक्त आन्दोलन (भिडियोसहित)

बुधबार, १० माघ २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्णयविरुद्ध व्यवसायीहरूले आन्दोलन सुरु गरेका छन् । मेयर बालेन शाहको निर्णय अवैज्ञानिक र व्यवसायीलाई नै संकटमा पार्ने किसिमको रहेको भन्दै न्युरोड क्षेत्रका व्यवसायी र सुन्धारा तथा रत्नपार्क क्षेत्रका फुटपाथ व्यापारीहरूले छुट्टाछुट्टै आन्दोलन गरेका हुन् । 

मंगलबारदेखि लागू हुने गरी महानगरपालिकाले न्युरोड क्षेत्रको पार्किङ हटाएपछि त्यस क्षेत्रका व्यवसायीहरू आक्रोशित हुँदै आएका छन् । मंगलबार नै न्युरोप क्षेत्रमा प्रदर्शन गरेका उनीहरूले सो कार्यलाई बुधबार पनि निरन्तरता दिए । उनीहरूले न्युरोडको सटरहरू बन्द गर्दै महानगरपालिका र मेयर बालेन शाहविरुद्ध नाराबाजी गरेका थिए । 

यस्तै सुन्धारा र रत्नपार्कमा व्यापार गर्ने करिब १०० जना सडक व्यापारीहरूको सामान लुट्ने काम भएको आरोप लगाउँदै महानगरपालिका अगाडि धर्ना नै थिए । सडक व्यापारी कुमार सापकोटाले नगर प्रहरीले गुन्डागर्दी व्यवहार श्यह्य नभएको बताए । उनले सडक व्यापारीलाई व्यवस्थित गराउनुपर्ने र नियन्त्रणमा लिइएको सामान फिर्ता दिनुपर्ने आफूहरूको माग रहेको बताए ।  माग पूरा नहुन्जेल आन्दोलन गरिरहने उनीहरूको भनाइ छ । 

व्यापार गर्न समय छुट्ट्याइदिएको गुनासो गर्दै सडक व्यवसायीले आर्थिक रुपमा आफूहरू निकै समस्यामा रहेको बताए । जसका कारण आफ्ना छोराछोरीहरुलाई पढाउन, कोठा भाडा तिर्न समस्या मात्रै छैन, बिहान बेलुका हात–मुख जोड्नै गाह्रो भएको गुनासो उनीहरूको छ । 

भोट हाल्ने बेला मात्र नेताहरू जनताको हुने र जितिसकेपछि गरिब जनताहरूको समस्या नबुझिदिएको उनीहरुको आक्रोश छ ।  

व्यापारीहरूले काठमाडौँ महानगरपालिकाले माग पूरा नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । व्यापारीहरूले महानगर प्रहरी प्रमुख राजु पाण्डेको सम्पत्ति समेत छानबिन गर्नुपर्ने माग राखेका छन् ।

रत्नपार्कमा भेला भएका फुटपाथ व्यापारीहरूले र्‍यालीसहित कमलादीस्थित महानगरपालिकाको कार्यालय पुगेर घेराउ गरेका थिए । 

यस्तै न्यूरोडका व्यापारीहरूले पनि ग्राहकहरू कम आएको बेलामा महानगरले थप पीडा दिएको बताए ।  महानगरले सहजीकरण नगरिदिएको खण्डमा व्यवसाय बन्द गर्ने या आन्दोलन गरेर महानगरलाई घुँडा टेकाउने भन्नेबाहेक अर्को विकल्प नहुने उनीहरूको भनाइ छ । 

भिडियो : रोशन पोखरेल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया