आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

स्वयम्भू घटना : प्रेम, लिभिङ टुगेदर अनि हत्या

आरोपीको बयान, ‘प्रेमिकाको हत्या गरेपछि धेरै डराएँ’
बिहीबार, ११ माघ २०८०, १४ : ००
बिहीबार, ११ माघ २०८०

काठमाडौँ । स्वयम्भू स्थित शोभा भगवतीमा तनहुँको भिमाद नगरपालिका–५ घर भएकी सफिना मियाँ मृत फेला परिन् । सरिता गिरीले भाडामा लगाएको भुईँ तलामा बस्नेहरू ३ महिनादेखि ताला लगाएर हिँडेपछि उनले कोठा खोलेकी हुन् । तर, ताला फुटाएर कोठा खोल्दा ५१ वर्षीया सफिना मृत भेटिइन् । 

काठमाडौँमा भएको बीभत्स हत्या ३ महिनासम्म सार्वजनिक भएन । हत्यामा संलग्न आरोपीले हत्या गरेपछि ढोकामा ताला लगाएर हिँड्दा घटना बाहिर नआएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए । हत्यामा संलग्न आरोपमा भारतको बिहार स्थित लालबाग थाना घर भएका ईकरामुल हक अन्सारीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ४३ वर्षीय अन्सारी कालिमाटीबाट पक्राउ परेका हुन् । 

ईकरामुल हक अन्सारी र सफिनाको बिचमा गहिरो ‘प्रेम कहानी’ छ । करिब ९ वर्षअघि नेपाल आएर गार्मेन्टमा कालिगढको काम गर्न थालेका अन्सारी र सफिनाको बिचमा नरदेबीमा चिनजान हुन्छ । नरदेवी स्थित अन्सारी बस्ने डेराको पल्लो कोठामा सफिना बस्थिन् । छोरी र ज्वाइँ सँगै बस्ने सफिना र अन्सारी आपसमा नजिकिए । सफिनाका श्रीमान् भारत बस्छन् । 

पत्नी र छोराछोरी भारतमा छाडेर नेपालमा बसेका अन्सारीले सफिनालाई प्रेम गर्न थाले । प्रेम झांगिएपछि उनले प्रस्ताव गरे–‘छुट्टै डेरा लिएर सँगै बसौं ।’ अन्सारीको प्रस्ताव सफिनाले स्वीकार गरेपछि उनीहरू स्वयम्भू स्थित सरिता गिरीको घरमा बस्न थालेका हुन् । 

अन्सारीले प्रहरीसँग भनेका छन्–‘हामी एक वर्षदेखि त्यही डेरामा थियौँ ।’ कार्तिक पहिलो सातामा सफिना र अन्सारीको प्रेम कथा हत्यामा पुगेर अन्त्य भएको छ । कार्तिकको पहिलो हप्ता अन्सारीले सफिनाको हत्या गरेर भारत गएको अनुसन्धानबाट थाहा भएको एसपी ढुंगेलले जानकारी दिए । हत्या गरेको साँझ उनीहरूको बिचमा विवाद भएको र बिहानीपख हत्या गरेर उनी भागेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘काठको आग्लोले हिर्काएर घाइते बनाएपछि सलले घाँटीमा बेरेर हत्या गरेको देखिन्छ ।’ 

हत्या गरेपछि भागेका अन्सारीले भारतमा गएर तिहार मनाए । अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्–‘भारतमा गएर दीपावली मनाएँ ।’ 

  • आरोपीको बयान–‘धेरै डर लाग्यो’  

सफिना मियाँको हत्या गरेपछि आफूलाई धेरै डर लागेको आरोपीले प्रहरीलाई बयान दिएका छन् । हत्यापछि हिँड्दै स्वयम्भूबाट बल्खु पुगेर बिहान ७ बजेतिर सुमो चढेर उनी वीरगन्ज गए । अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्–‘प्रेमिकाको हत्या गरेपछि धेरै डराएँ ।’ 

साथमा भएको १३ सय रुपैयाँ लिएर उनी भारत गए । बिहारमा चिया पसल सुरु गरेका थिए । तर, त्यहाँ बस्न सकेनन् । अनुसन्धान अधिकृतहरूसँग आरोपीले भनेका छन्–‘चिया पसल चलाउन बिहान ३ बजेदेखि काम गर्नुपर्ने भयो, उधारो धेरै जान थालेपछि पसल छाडेर फेरी काठमाडौँ फर्किएँ ।’

काठमाडौँ फर्केर स्वयम्भूमा आफूले हत्या गरेको ठाउँ आसपासमा गए । आफूले पहिले मदिरा सेवन गर्ने होटलमा सोधे–‘यतातिर केही घटना भएको र प्रहरी आएको छ ?’ तर, प्रहरी नआएको र घटना सार्वजनिक नभएको थाहा पाएपछि उनी ढुक्क भएर काठमाडौँ महानगरपालिका–१३ कालिमाटी स्थित दिलीप शाहको बिएन फेशन गार्मेन्टमा काम सुरु गरे । 

आरोपीलाई कालिमाटीबाट पक्राउ गरिएको एसपी ढुंगेलले बताए । ढुंगेलले भने–‘उनलाई भारत तर्फ भाग्न लागेको अवस्थामा हाम्रो टिमले पक्राउ गरेको हो ।’

  • विवाहेतर सम्बन्ध  

हत्या गरेपछि सफिनाको शव नजिकै आरोपीले एक टुक्रा कागज छाडे । कागजमा सफिनाको ठेगाना उल्लेख थियो । शव पहिचान गर्न सजिलो होस्, भनेर कागजमा प्रेमिकाको ठेगाना लेखेर छाडेको अन्सारीले प्रहरीलाई बताएका छन् । प्रहरीसँग उनले भनेका छन्–‘सफिनाको परिवारलाई घटनाबारे म जानकारी गराउनेवाला थिएँ ।’ 

हत्याको कारण ‘विवाहेतर सम्बन्ध’ भएको प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए । प्रहरीसँग आरोपीले हत्या स्विकारेका छन् । आफूभन्दा बाहेक अन्य केटाहरूसँग सम्बन्ध राखेको निहुँमा झगडा हुँदा अन्सारीले प्रेमिकाको हत्या गरेका हुन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘परपुरुष कोठामा आएको एकपटक देखेपछि उनीहरू बिच मनमुटाब भएको देखिन्छ ।’

चौमती स्थित जेबिएस गार्मेन्टमा लामो समय काम गरेका आरोपीले प्रहरीसँग भनेका छन्–‘ आवेशमा हत्या गरेँ ।’ घटनास्थलमा फेला परेको गार्मेन्टको फाइलको आधारमा आरोपीको पहिचान गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप