सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रियसभा निर्वाचन

सत्ता गठबन्धनमा कांग्रेसबाट धोका !

सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बन्ने ढोका खुला, एमालेसँग राप्रपा असन्तुष्ट
बिहीबार, ११ माघ २०८०, २० : १८
बिहीबार, ११ माघ २०८०

विराटनगर । कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको परिणाम निकै रोचक आएको छ । सत्तारुढ गठबन्धनको मतभार बढी हुँदाहुँदै एमालेकी रुक्मिणी कोइरालाले अप्रत्साशित जित निकालिन् । उता, नेपाली कांग्रेसका कृष्ण सिटौलाले आफ्नै गठबन्धनको धोकाधडीका बिच पनि जित निकाल्न सफल भए ।

बिहीबार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार सिटौलाले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई पराजित गरेका हुन् । यो जितसँगै सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बन्ने बाटो खुलेको छ । सिटौलाले प्रदेशतर्फ ४५ सांसदको मत पाउँदा उद्धव पौडेलले ४७ सांसदको मत पाए । यस्तै उम्मेदवारी निष्क्रिय बनाए पनि एमालेका पर्शुराम अधिकारीले १ जना सांसदको मत पाए ।

स्थानीय तहतर्फ सिटौलाले १५३ जनाको मत पाउँदा उद्धवले १०९ जनाको मात्रै मत पाए । यस्तै एमालेका पर्शुरामले ५ जनाको मत पाए । जसअनुसार विजयी सिटौलाले कुल ५२९२ मतभार प्राप्त गरे भने पौडेलले ४५६२ मतभार प्राप्त गरे । यस्तै अधिकारीले १४८ मतभार प्राप्त गरे । स्थानीय तहका ४ जना प्रतिनिधिको मत बदर भयो ।

उता, महिलातर्फको निर्वाचनमा भने सत्ता गठबन्धनकी उम्मेदवार माओवादीकी चम्पा कार्कीलाई एमालेकी रुक्मिणी कोइरालाले अप्रत्याशित रुपमा पराजित गरिन् । कोइरालाले ५०८६ मतभार ल्याउँदा गठबन्धनका तर्फबाट माओवादीकी कार्कीले ४९९२ मतभार मात्र पाइन् । कोइरालाले ४९ सांसदको मत पाउँदा कार्कीले ४४ जनाको मात्रै पाइन् । यस्तै स्थानीय तहबाट कोइरालाले १३१ जनाको मत पाउँदा कार्कीले भने १४० जनाको मत पाइन् ।

सांसद तथा स्थानीय तहका प्रतिधिनिबाटै बेइमानी

सत्ता गठबन्धनका दुई उम्मेदवार सिटौला र कार्कीलाई गठबन्धनबाटै ठुलो अन्तरघात भएको तथ्याङ्कले देखाउँछ । किनकि कोशी प्रदेशमा ९३ जना प्रदेशसभा सदस्य छन् । जसमध्ये गठबन्धनको ४७ जना हुन् भने एमाले र राप्रपाको ४६ सांसद हुन् । तर, सत्ता गठबन्धनको महिलातर्फकी उम्मेदवार कार्कीले ४४ सांसदको मतमात्रै पाइन् भने गठबन्धनकै ३ जना सांसदले विपक्षी गठबन्धनलाई मत दिए ।

यस्तै स्थानीय तहमा पनि सत्ता गठबन्धन अन्तर्गत कांग्रेसका प्रमुख–उपप्रमुख ११३, माओवादी केन्द्रका ३१, एकीकृत नेकपा समाजवादीका ७ र जनता समाजवादी पार्टीको ४ गरी १५५ जना प्रतिनिधि थिए । जसमध्ये गठबन्धनका झापा गाउँपालिकाका अध्यक्ष जयरानारायण शाह र ग्रामथान गाउँपालिकाका अध्यक्ष जय प्रकाश गच्छदार अनुपस्थित हुँदा पनि गठबन्धनको पक्षमा १५३ जनाको मत थियो ।

तर, महिला उम्मेदवार कार्कीले स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षमध्ये १४० जनाको मात्रै मत पाइन् । गठबन्धनकै ३ सांसद र स्थानीय तहका १३ जना जनप्रतिनिधिले अन्तरघात गर्दा उनले पराजय बेहोर्नु प¥यो ।

कार्कीको तुलनामा कांग्रेस उम्मेदवार सिटौलालाई कम अन्तरघात भएको देखियो । तथ्याङ्कमा सिटौलालाई प्रदेशसभाका २ जना सांसदले मात्रै धोका दिएको देखिन्छ । सिटौलाले सत्ता गठबन्धनका ४७ सांसदमध्ये ४५ जनाको मात्रै भोट पाए । स्थानीय तहमा आफ्नो गठबन्धनका मतदाताबाट उनले धोका पाएनन् । सिटौलाले गठबन्धनको सबै मत पाएको अवस्थामा जम्मा मतभार ५ हजार ३९८ हुन्थ्यो । तर, उनले ५ हजार २९२ मत मात्रै प्राप्त गर्न सके ।

माओवादी र राप्रपा असन्तुष्ट

उता, सत्ता गठबन्धनको पर्याप्त मत हुँदाहुँदै आफ्ना उम्मेदवार पराजित बनेपछि माओवादी केन्द्र कांग्रेससँग असन्तुष्ट बनेको छ । माओवादी कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले यसअघि गठबन्धनले गरेको निर्णय विपरीत मुख्यमन्त्री बनाउन हिँडेको शक्तिको चलखेलले नै आफ्नो उम्मेदवारले पराजित हुनु परेको प्रतिक्रिया दिए । ‘यो निर्वाचनमा राजनीतिक योजनाका साथ गठबन्धनको उम्मेदवार हराइएको हो,’ उनले भने, ‘यसअघि गठबन्धनले गरेको निर्णयअनुसार मुख्यमन्त्री नबनाउन चलखेल गर्ने शक्तिहरुले नै अहिले पनि गठबन्धनका उम्मेदवार पराजित गर्न योजनाबद्ध ढङ्गले लागेको देखियो ।’

एमालेबाट राप्रपालाई धोका !

उता, एमाले–राप्रपा गठबन्धनमा पनि धोकाधडी भएको छ । एमालेकी उम्मेदवार कोइरालाले जित निकाल्दा राप्रपाका उम्मेदवार उद्धव पौडेलले भने कोइरालाको जसरी मत पाउन सकेनन् । प्रदेशसभामा आफ्नो गठबन्धनको मतभन्दा १ मत बढी पाएका पौडेलले स्थानीय तहमा भने एमाले र राप्रपाको सबै मत पाउन सकेनन् । किनकि स्थानीय तहमा एमालेको ११२ र राप्रपा ४ गरेर ११६ जना प्रतिनिधि थिए । जसको मतभार २ हजार २०४ हुन्थ्यो । तर, पौडेलले प्रदेशसभाबाट ४७ सांसदको २ हजार ४९१ मतभार र स्थानीय तहतर्फ १०९ जनाको २ हजार ७१ मतभार मात्रै पाए । एमालेले निस्क्रिय बनाएको उम्मेदवार पर्शुराम अधिकारीलाई प्रदेशसभाको १ जना र स्थानीय तहका ४ जनाले मत दिए ।

स्थानीय तहका ५ जनाको मत बदर भयो । स्वतन्त्र २ जना ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका प्रमुख ज्ञानेन्द्र रुम्दाली, भोजपुर साल्पा सिलिछो गाउँपालिकाका दौलत राईले कता मत हाले भन्ने विषय यकिन छैन । धरान नगरपालिकाका प्रमुख हर्क साम्पाङ भने अनुपस्थित रहे । उता, राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले कोशी प्रदेशमा एमालेबाट आफूहरुले धोका पाएको प्रतिक्रिया दिएका छन् ।

कोशीमा राष्ट्रियसभा निर्वाचनको परिणामले पहिलो र दोस्रो ठुला पार्टी कांग्रेस र एमालेले आफ्ना उम्मेदवार सुरक्षित गर्न सफल भएका छन् भने तेस्रो र चौथो दल माओवादी र राप्रपा भने पराजित भए । यी दुवै दललाई गठबन्धन अफाप सिद्ध बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप