सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
किसानका पीडा

अर्घाखाँचीमा शीत भण्डारमा राखिएका सुन्तला कुहिए, अध्ययन गर्न नार्कको टोली आउँदै

किसान भन्छन्– क्षतिपूर्ति चाहियो
शनिबार, १३ माघ २०८०, ०६ : ३४
शनिबार, १३ माघ २०८०

बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिका– १, सिम्लेका खगेन्द्र पौडेलले आफ्नो बारीमा उत्पादन भएका ६ टन सुन्तला पोखराथोकस्थित शिवशक्ति शीत भण्डारमा राखेका थिए ।

बोटबाटै बिक्री गर्नुभन्दा वैशाख–जेठतिर बिक्री गर्दा राम्रो मूल्य पाउने आशमा पौडेलले शीत भण्डारमा राखेका सुन्तला भण्डारण गरेको एक महिनामै कुहिए । सिजन सकिएपछि बिक्री गरेर मालामाल हुने सोचमा रहेका पौडेल सबै सुन्तला शीत भण्डारमै कुहिएपछि चिन्तित छन् ।

सोही पालिकाको वडा नम्बर २ मा पर्ने शिवशक्ति शीत भण्डारमा वडा नम्बर १ का धेरैजसो किसानले सुन्तला भण्डार गरेका थिए । शिवशक्ति मिश्रित किसान समूहका अध्यक्ष  चिरञ्जीवी पौडेलले उक्त शीत भण्डारणमा राखेका ९० मेट्रिक टनमध्ये ६० मेट्रिक टन सुन्तलाका दाना ढुसी लागेर नष्ट भएको रातोपाटीलाई बताए । उनले सुन्तला अझै कुहिने अवस्थामा रहेको सुनाए ।

गत वर्ष स्टोरमा राखेका सुन्तला फागुन र चैतमा प्रतिकिलो एक सय ३० रुपैयाँमा बिक्री भएको थियो । अहिले स्टोरमा राख्ने समय अर्थात्, महिना दिनअघि सुन्तला प्रतिकिलो ५० रुपैयाँमा बिक्री भएको थियो । अघिल्लो वर्ष कुहिएर कम नोक्सान भए पनि यसपाली धेरै घाटा भएको पौडेलले बताए ।

सिम्ले गाउँ र पोखराथोकका कृषकले राखेको सुन्तला अघिल्ला दुई वर्षमा पनि यस्तैगरी कुहिएर नोक्सान भएका थिए । अहिले तेस्रो वर्ष पनि सुन्तला कुहिएपछि किसानहरू मारमा परेको उनको भनाइ छ ।

7

लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले गत मङ्सिरमा विज्ञ प्राविधिक ल्याएर कृषकलाई गाउँमै कोल्ड स्टोरमा सुन्तला राख्ने तरिका सिकाएको थियो । तर प्राविधिकहरूले भनेअनुसार नै सुन्तला राखे पनि प्रत्येक वर्ष सुन्तला कुहिएपछि किसानहरू नोक्सान बेहोर्न बाध्य हुनुपरेको छ । कोल्डस्टोरमा राखेका सुन्तला कुहिँदा आफूहरुलाई राहत दिनु पर्ने किसानहरुको माग छ ।

नार्कको विशेषज्ञ टोली अनुसन्धान गर्न आउँदै

जिल्ला कृषि ज्ञान केन्द्र अर्घाखाँचीका अनुसार जिल्लाको सबैभन्दा धेरै सुन्तला उत्पादन हुने ठाउँ पाणिनी गाउँपालिका हो । त्यसपछि मालारानी गाउँपालिकामा धेरै सुन्तला उत्पादन हुन्छ । अहिले जिल्लामा तीन वटा शीत भण्डारण स्थापना भएका छन् ।

सन्धीखर्कमा १ हजार मेट्रिक टन क्षमताको फलफूल तथा तरकारी राख्ने भण्डारण केन्द्र, मालारानीमा १ हजार मेट्रिक टन सुन्तला तथा तरकारी राख्ने क्षमताको शीत भण्डार निर्माण सम्पन्न भएको छ । तर ती दुवै अझै सञ्चालनमा आइसकेको अवस्था छैन ।

5

जिल्लामा सबैभन्दा पहिला निर्माण भएको पाणिनी गाउँपालिको शिवशक्ति शीत भण्डार हो । ३ वर्ष अगाडि सुन्तला स्टोरको लागि प्रदेश कृषि मन्त्रालयको ७५ प्रतिशत लगानी र स्थानीय किसान समूहबाट २५ प्रतिशत लगानीमा निर्माण गरेको शीत भण्डारमा प्रत्येक वर्ष सुन्तला कुहिएपछि अहिले किसान चिन्तामा छन् ।

सरकारी निकाय पनि थप अध्ययन गर्ने प्रक्रियामा छ । कृषि ज्ञान केन्द्र अर्घाखाँचीका बागवानी विकास अधिकृत शिवलाल घिमिरेले के कारण सुन्तलामा ढुसी लाग्यो भन्ने स्पष्ट नभएको रातोपाटीलाई बताए ।

उनले त्यस विषयमा अनुसन्धान गर्न नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) काठमाडौँबाट विशेषज्ञको टोली आइतबारसम्म अर्घाखाँची आउने रातोपाटीलाई बताए ।

घिमिरेले विगतमा पनि सुन्तला कुहिएपछि किसानलाई तीन दिने तालिम प्रदान गरिएको सुनाए । बोटमै हुँदा दानामा इन्फेक्सन थियो या स्टोरमा राखेपछि बिग्रियो भन्नेबारे अहिल्यै भन्न नसकिने उनको भनाइ छ ।

8

लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका प्रमुख रामप्रसाद पाण्डेले शीत भण्डारमा राखिएका सुन्तला कुहिएकोबारे कृषि अनुसन्धान केन्द्र काठमाडौँमा पत्राचार गरिएको बताउँदै विज्ञहरू आएपछि कारण खुल्ने बताए ।

अर्घाखाँची जिल्लामा ४५३ हेक्टर क्षेत्रमा सुन्तलाको उत्पादन भइरहेको छ । गत वर्षभन्दा यस वर्ष उत्पादन वृद्धि भएको अनुमान कृषि ज्ञान केन्द्र अर्घाखाँचीले गरेको छ । गत वर्ष जिल्लामा ५२ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत वर्ष झन्डै प्रति हेक्टर ११ मेट्रिक टन उत्पादन भएको थियो भने अहिले एक हेक्टरमा १२ मेट्रिक टन उत्पादन भएको आकलन गरिएको बागवानी विकास अधिकृत घिमिरेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप