शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगार

कोरोनाकालको तलब दिन नेपाली कामदारको खोजीमा विदेशी कम्पनी

शनिबार, १३ माघ २०८०, १६ : ४०
शनिबार, १३ माघ २०८०

काठमाडौँ । विदेशी कम्पनीहरूले कोरोनाकालमा काम गरेको बक्यौता तलब भुक्तानी गर्न नेपाली कामदारको खोजी गर्न थालेका छन् ।

मलेसिया, साउदी अरेबियालगायतका देशका रोजगारदाता कम्पनीहरूले त्यहाँस्थित नेपाली राजदूतावासमार्फत बाँकी रहेको तलब लिन नेपालीलाई बोलाइरहेको पाइएको छ ।

अहिले दुई देशका कम्पनीहरूबाट बक्यौता तलबका लागि सम्पर्कमा आउन नेपालीलाई आग्रह आएको वैदेशिक रोजगार विभागका महानिर्देशन डण्डुराज घिमिरेले रातोपाटीलाई जानकारी दिनुभयो । 

कोरोना महामारीका बेला घर फर्केकाहरूलाई त्यतिबेला टाट पल्टिएर तलब दिन नसकेका कम्पनीले यसरी खोजी गरेका हुन् ।

कोरोना महामारीको समयमा सरकारले उद्धार गरेका र स्वयम स्वदेश फर्केका  कामदारले तलब पाएका थिएनन् । कोरोना महामारी लम्बिएकाले उनीहरू फेरि काममा फर्कन सकेनन् । उनीहरूलाई नै बक्यौता तलबका लागि खोजिएको हो ।

साउदी अरबमा काम गरेका ६३१ र मलेसियामा काम गरेका ६४ गरी ६९५ नेपाली कामदारको खोजी जारी छ ।

  • साउदीबाट टाट पल्टिएको कम्पनीले बोलायो 

साउदीका टाट पल्टिएर बन्द गरिएका कम्पनीले पनि तलब लिन बोलाउन थालेका छन् । साउदीको साउदी ओजेर कम्पनी सन् २०१६÷१७ मा टाट पल्टिएको थियो । त्यसपछि त्यहाँ काम गर्ने नेपाली कामदारहरू मध्ये केही अर्कै कम्पनीमा गएका थिए भने बाँकी नेपाल फर्किएका थिए । त्यो कम्पनीमा काम गर्ने ५२ जना नेपालीलाई अहिले तलब लिन बोलाइएको छ । उसले कुल ४ लाख ४१ हजार २५० रूपैयाँ साउदी रियाल अर्थात नेपाली १ करोड ६७ लाख १८ हजार रुपैयाँ भुक्तान गर्न बाँकी छ । 

साउदीकै टाट पल्टिएको अर्को कम्पनी मोहमद अल मोजिल ग्रुपले ५७१ जना नेपालीलाई तलब दिन बाँकी छ । 

साउदीस्थित नेपाली राजदूतावासका श्रम सहचारी देवेन्द्र कार्कीका अनुसार टाट पल्टिएको पाँच वर्षपछि कम्पनीले बक्यौता भुक्तान गर्न खोजेको हो । कम्पनी टाट पल्टिएर स्वदेश फर्किएका नेपाली कामदारले पाउनुपर्ने तलब सुविधा लिन दूतावासमा कम्पनीका तर्फबाट अनुरोध आएको र दूतावासले सूचना जारी गरिसकेको जानकारी उनले दिए ।

दूतावासले आफ्नो फेसबुक पेजबाट सूचना जारी गर्दै मोहमद अल मोजिल ग्रुप कम्पनीमा काम गरेबापत कम्पनीबाट पाउनुपर्ने तलब तथा अन्य सुविधा लिन बाँकी रहेका नेपाली कामदारहरूलाई सम्पर्क गराई कम्पनीबाट पाउनुपर्ने भुक्तानी सहजीकरण गरिदिन दूतावासमा अनुरोध प्राप्त भएको जनाएको छ ।

दूतावासले प्रकाशित गरेको लिङ्क प्रयोग गरी यथाशीघ्र आवश्यक विवरण भरी बुझाउन सम्बन्धित सबैमा दूतावासले अनुरोध गरेको छ । 

कम्पनीबाट पाउनुपर्ने तलब तथा अन्य सुविधा लिन बाँकी रहेका नेपाली कामदारको सूची पनि सार्वजनिक गरिएको छ ।

साउदीमा कार्यरत धेरै नेपालीले समयमा तलब नपाएको र समस्यामा पारिएको  खबर आइरहेका बेला टाट पल्टिएको कम्पनीले तलब लिन बोलाएको छ । 

  • तलब दिन बाँकी मलेसियन कम्पनी 

मलेसियाको भेन्चर ग्रुप अन्तर्गतका दुई कम्पनीले ६४ जना नेपालीलाई सम्पर्कमा ल्याइदिन भन्दै नेपाली राजदूतावासमा सम्पर्क गरेको पाइएको छ । सन् २०१४ मा कोभिड महामारीको समय नेपाल फर्केकाहरूलाई तलबका इन्टिटीज् टेक्नोकम सिस्टम र पिन्टारमस कम्पनीले सरकारमार्फत खोजेका हुन् । सोझो सम्पर्क हुन नसकेको ती कम्पनीले बताएका छन् । 

कम्पनीको सूचनापछि केही व्यक्तिहरू सम्पर्कमा गइसकेको विभागले जनाएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशन घिमिरेले अहिले साउदी र मलेसियाका विभिन्न कम्पनीहरूबाट तलब लिन बाँकी रहेका नेपालीलाई सम्पर्कमा आउन भनेको जानकारी दिए ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूले तलब नपाउनेलगायतका समस्या झेलिरहेको  गुनासो बढ्दो क्रममा छन् । यही कारण वैदेशिक रोजगारीमा जानेहरूले डराउनुपर्ने अवस्था छ । काम गरेको तलब नपाउँदा श्रमिकहरू समस्यामा परिरहेका छन् । यो बेला आशै मारेको तलब भुक्तान गर्ने कम्पनीको सूचनाले श्रमिकहरू खुसी भएका छन् ।

कतिपय व्यक्तिहरू विभागको सम्पर्कमा आएका छन् भने कतिपयले सूचना नै नपाएको हुनसक्ने विभागको आशङ्का छ । 

  • के छ प्रक्रिया ?

काम गरेको बेलाको तलब लिन श्रमिकहरूले अनलाइन मार्फत नै जानकारी गराउनुपर्ने हुन्छ । त्यसका लागि अनलाइन मार्फत फारम भर्नुपर्ने व्यवस्था सम्बन्धित कम्पनीले मिलाएका छन् । 

बक्यौता तलब लिन आफ्नो नाम, पासपोर्ट नम्बर, बैंक एकाउन्ट नम्बर, आईबीएएन नम्बर, स्विफ्ट कोड, बैंक नाम लगायतका विवरण गुगल फर्ममा भर्नुपर्ने व्यवस्था मिलाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप