सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
बाँदर आतङ्क

बाँदर आतङ्कविरुद्ध संसदीय समितिमा उजुरी

बन्ध्याकरणबारे बुझ्न जम्बो टोली हिमाचल प्रदेश जाँदै
बिहीबार, १८ माघ २०८०, ०९ : ०८
बिहीबार, १८ माघ २०८०

काठमाडौँ । बाँदरले हैरानी दिएपछि नियन्त्रणको उपाय खोज्न संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरू भारतको हिमाचल प्रदेशमा अवलोकन भ्रमणमा जाने भएका छन् ।

भारतीय दूतावासको सहयोगमा फागुन महिनाभित्र हिमाचल प्रदेशको सिमलामा बाँदर बन्ध्याकरण प्रक्रियाको अवलोकन गर्न समितिका सभापति आरजु राणा देउवा सहित १९ जना सांसद र ३ जना कर्मचारी गरी २२ जनाको एउटा टोली, पशु चिकित्सक र रेन्जर गरी १५ जना कर्मचारीको अर्को टोली भारत जान लागेको हो ।

भ्रमणमा जाने टोलीको नाम लिस्ट भारतीय दूतावासमा बुझाइएको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सचिव शिवदत्त बरालले रातोपाटीलाई जानकारी दिए । 

समितिमा बाँदरले दुःख दिएकोबारे पीडित किसानहरूको उजुरी तथा ध्यानाकर्षण आएको र त्यसमाथिको छलफलको क्रममा भारतमा बन्ध्याकरण गरेर बाँदर नियन्त्रण गरेको विषय प्रवेश भएको उनले बताए । नेपालमा पनि सोही विधि प्रयोग गर्न भारतको सहयोगमा कर्मचारीलाई तालिम र सांसदहरूलाई अवलोकन भ्रमण गराउन लागिएको उनको भनाइ छ ।

सचिव बरालले भने, ‘समितिमा छलफलका क्रममा भारतको हिमाचल प्रदेशमा बाँदरको बन्ध्याकरण गरी बाँदर नियन्त्रण प्रभावकारी रूपमा लागु भएको भन्ने कुरा आएको थियो । त्यसबारे बुझ्न खोज्दा भारतीय सरकारले यो समितिबाट पहल हुन्छ भने हामी तालिम गराउन र सो बारेमा भ्रमण गराउन सक्छौँ भन्ने औपचारिक जानकारी आएको छ ।’

जनवरीदेखि मार्च बिचमा १० जना पशु चिकित्सक र ५ जना रेन्जरलाई तालिम दिने तथा समितिका सांसद र कर्मचारीलाई औपचारिक भ्रमण गराएर सोबारे जानकारी पनि गराउने जानकारी भारतीय पक्षबाट आएको उनले सुनाए ।

समितिले भारतमा तालिमका लागि कृषि तथा पशुपन्क्षी मन्त्रालयबाट १० जना पशु चिकित्सक र वन मन्त्रालयबाट ५ जना रेन्जर–फरेष्टरको नाम मागेर भारतीय दूतावासमा पठाएको सचिव बरालले जानकारी दिए ।

यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा रहेका २६ जना सांसदमध्ये १९ जनाले भ्रमणमा जाने इच्छा व्यक्त गरेको र समितिका ३ जना कर्मचारीसहित २२ जनाको टोली भ्रमणमा जान चाहेको पनि भारतीय दूतावासमा जानकारी पठाइएको छ । कतिजनालाई भ्रमणमा लैजाने र कहिले लैजाने भन्ने बारेमा जानकारी आइ नसकेको समिति सचिव बरालले बताए ।

दूतावासबाट जानकारी आएपछि पहिलो चरणमा तालिमका लागि टोली जाने र त्यसपछि अवलोकनका लागि सांसदहरूको टोली जाने तयारी छ ।

वन मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज, शिवपुरी राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जका एक–एक जना गरी ५ जना रेञ्जरको नाम तालिमका लागि पठाएको छ । यस्तै कृषि तथा पशुपन्क्षी मन्त्रालयले १० जना पशु चिकित्सकको नाम पठाएको छ ।

सो प्रक्रियाको अवलोकन भ्रमणका लागि वन तथा वातावरण मन्त्री डा.वीरेन्द्र प्रसाद महतोलाई पनि भारतले निम्ता दिएको छ । तर आफू नजाने मन्त्री महतोले बताए । रातोपाटीसँग कुरा गर्दै मन्त्री महतोले मन्त्रालयको तर्फबाट तालिम लिने कर्मचारीको नाम पठाएको तर आफू अर्को कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले भ्रमणमा जान नसक्ने जानकारी दिए ।

भारत भ्रमणमा सांसदलाई हैन, पीडित किसानलाई पठाऊ : बाँदर पीडित संघर्ष समिति

बाँदरलाई बन्ध्याकरण गरेर नियन्त्रण गरिरहेको भारतीय अभ्यास अवलोकन गर्न सांसदहरू भारत भ्रमणमा जान लागेको थाहा पाएपछि तनहुँमा गठन भएको ‘बाँदर आतङ्क नियन्त्रण संघर्ष समिति’ले किसानहरूलाई सो भ्रमणमा लैजान कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिलाई आग्रह गरेको छ ।

बाँदर आतङ्क नियन्त्रण संघर्ष समितिका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले समितिलाई गत माघ ११ गते ध्यानाकर्षण गराउँदै पीडित किसानलाई भ्रमणमा सहभागी गराउन आग्रह गरेका हुन् ।

सञ्चार माध्यमबाट बाँदर नियन्त्रणबारे भारतमा भएको अभ्यास हेर्न सांसदहरूको टोली जाँदैछ भन्ने सुनेको बताउँदै उनले त्यसमा सांसदहरूलाई नभई पीडित किसानहरूलाई लैजानुपर्ने माग आफूहरूले गरेको बताए ।

रातोपाटीसँग कुरा गर्दै सापकोटाले भने, ‘कसरी बाँदर नियन्त्रण गर्ने भन्ने कुरा देखाउने ठाउँमा सांसदलाई पठाएर काम छैन । बाँदर पीडित वास्तविक किसान जो छन्, उनीहरुलाई र त्यससँग सम्बन्धित विज्ञ टोलीलाई पठाउनुपर्छ भनेर हामीले ध्यानाकर्षण पत्र पठाएका छौँ ।’

सापकोटाले विगतमा बाँदरले दुःख दिएको कुरा सुनाउँदा सांसदहरू हाँसेर गएको र समस्या समाधानका लागि गम्भीर नबनेको आरोप लगाए । उनले भने, ‘बाँदर नियन्त्रण कसरी गर्ने भन्ने कुरा सिक्न सांसद गएर के अर्थ हुन्छ ? बाँदर नियन्त्रण गर्नुपर्‍यो, त्यसका लागि  कानुन बनाउनुपर्‍यो भन्दा, बाँदरले दुःख दिएको कुरा सुनाउँदा धेरै सांसदहरू हाँसेर जानुभयो । बाँदरले दिएको पीडा उहाँहरूलाई थाहा नै छैन । किसानका पीडा नै नबुझेको सांसदहरू गएर अर्थ छैन । बाँदर पीडित किसान र विज्ञ टोलीलाई भ्रमण टोलीमा प्राथमिकता दिनुपर्छ ।’

बाँदरले धेरै दुःख दिएपछि बाँदर पीडित किसानहरू भेला भएर गत जेठ १३ गते तनहुँको दमौलीमा ठुलो आमसभा गरेका थिए । त्यही बेला तनहुँ जिल्लामा ‘बाँदर आतङ्क नियन्त्रण संघर्ष समिति’ गठन गरेको उनले बताए । तनहुँका ६ वटा पालिकाका साथै धादिङ, गोरखा, लमजुङ, कास्की र स्याङ्जामा पनि संगठन विस्तार गरेको उनले जानकारी दिए ।

देशव्यापी रूपमा बाँदर आतङ्क नियन्त्रण संघर्ष समिति बनाएर अघि बढ्ने तयारीमा रहेको सापकोटाले जानकारी दिए ।

  • यस्तो छ बाँदर आतङ्क नियन्त्रण संघर्ष समितिले संसदीय समितिमा  बुझाएको पत्र :

श्री माननीय सभापति ज्यू,

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति

प्रतिनिधि सभा,

सिंहदरबार, काठमाडौँ ।

महोदय,

विषय : ध्यानाकर्षण गरिएको बारे ।

प्रस्तुत विषयमा बाँदर आतङ्क नियन्त्रण संघर्ष समिति तनहुँ विगत १ वर्षदेखि बाँदर आतङ्कबाट आजित किसानहरूलाई संगठित गर्दै तनहुँ, गोरखा, स्याङ्जा, कास्कीसम्म संगठित हुँदै सम्बन्धित नगरपालिका, गाउँपालिका लगायत जिल्ला प्रशासन कार्यालय तनहुँ मार्फत सम्माननीय प्रधानमन्त्रीलाई समेत ज्ञापन पत्र बुझाइ बाँदरको समस्या समाधानमा स्थानीय सरकारदेखि केन्द्रीय सरकार सम्मको ध्यानाकर्षण गराएका थियौँ । बाँदर आतङ्कबाट किसानहरू विस्तापित हुनेदेखि आजित किसानहरुले खेतीपाती समेत गर्न छाडेका छन् । बाँदर आतङ्कका कारण तनहुँ बन्दीपुर–१, रिमाल्नीका सुक बहादुर शाहीले आत्महत्या समेत गर्नु भएको इतिहास छ । यस्तो विकराल अवस्थालाई नजरअन्दाज गरी प्रभावित किसानहरुसँग छलफल नगरी राज्यले पहल गर्ने, क्षतिपूर्ति दिने, बाँदर नियन्त्रण गर्ने, स्थान्तरण गर्ने, विज्ञ समूह गठन गरी नियन्त्रणको मार्ग प्रशस्त गर्नेतर्फ राज्यको ध्यान पुगेको देखिँदैन । त्यसैले संघर्ष समिति, पीडित किसानहरू साथै विज्ञ समूह बिनाको बाँदर आतङ्क नियन्त्रण गर्न संसद्को जम्बो टोली विदेश भ्रमण जाने समाचारमा हाम्रो ध्यानाकर्षण भएको जानकारी गराउँदै उक्त भ्रमणमा विज्ञ समूह, संघर्ष समिति वा पीडित किसानहरूलाई पनि सहभागिता गराइ समस्या समाधानको लागि सार्थक पहल गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।

कृष्ण प्रसाद सापकोटा

बाँदर आतङ्क नियन्त्रण संघर्ष समिति, तनहुँ

WhatsApp Image 2024-01-31 at 11.39.41 AM

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप