आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
ठूलाबडाको ठूलै ‘अपराध’

भुटानी शरणार्थीदेखि बाँसबारी जग्गा घोटालासम्म मुछिए २४ ‘हाइप्रोफाइल’

बुधबार, २४ माघ २०८०, १५ : ३५
बुधबार, २४ माघ २०८०

काठमाडौँ । पछिल्लो पटक विभिन्न प्रकरणमा ठूलाबडा भनिएका राजनीतिज्ञ, प्रशासक, व्यापारी र धर्मगुरु पक्राउ परिरहेका छन् । नक्कली भुटानी शरणार्थीदेखि बाँसबारी जग्गा प्रकरणसम्म आइपुग्दा १० महिनाको अवधिमा २४ जना ‘हाइप्र्रोफाइल’ पक्राउ गरेका छन् भने यो सिलसिला अझै चलिरहने देखिएको छ ।

भुटानी शरणार्थीको कोटामा नेपालीलाई नक्कली कागजात बनाई अमेरिका पठाएको विषयमा अनुसन्धान थालेसँगै सुई हाईप्रोफाइल तिर सोझिन थालेको थियो र, १९ वैशाख २०८० मा पक्राउ परे जित पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई । 

यो प्रकरणमा नौ जना हाइप्रोफाइलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गर्‍यो । बालुवाटारस्थित ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरण, सुन तस्करी, नक्कली शैक्षिक प्रमाणपत्र र बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनमिनासम्म पुग्दा दुई दर्जन भन्दा धेरै हाइप्रोफोइलविरुद्ध प्रहरीले अनुसन्धान गरेको छ । 

शरणार्थी प्रकरणमा २०८० वैशाखमा पूर्व गृहमन्त्री तथा नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीका छोरा सन्दिप पक्राउ परे, एक महिना नबित्दै जेठमा रायमाझीनै  पक्राउ परे । जिल्ला प्रहरी परिसर काठमाडौंले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई वैशाख २० मा नियन्त्रणमा लियो । लगत्तै पूर्व गृहमन्त्री बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाण उच्च अदालतको आदेशले थुनामुक्त भएका छन् । शरणार्थी प्रकरणमा कांग्रेसका नेता तथा पूर्व सांसद आङटावा शेर्पाले जेठ १ मा प्रहरी समक्ष आत्मसमर्पण गरे । अहिले पनि उनी पुर्पक्षका लागि थुनामा छन् । 

शरणार्थी बनाएर ‘अमेरिका पठाउँछु’ भनेर ठगेको आरोप पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापामाथि पनि लागेको छ । अदालतले वारेन्ट जारी गरेसँगै उनी फरार छन् । शरणार्थी नेता टेकनाथ रिजाल पनि पक्राउ परे, अहिले उच्च अदालतको आदेशमा रिहा भएका छन् । 

यही प्रकरणमा पक्राउ परेका अर्का हाइप्रोफाइल हुन्, सागर राई । सागर मोरङको पथरी–शनिश्चरे नगरपालिका–१० का निवर्तमान वडा अध्यक्ष र कांग्रेसको क्षेत्रीय प्रतिनिधि हुन् । 

ललिता निवास घोटाला 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ले २०८० असारमा बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको जग्गा घोटाला प्रकरणमा अनुसन्धान गर्यो, यस क्रममा हाइप्रोफाइललाई हिरासतमा राखियो ।

असार १२ मा भाटभटेनी सुपर मार्केटका संचालक मिनबहादुर गुरुङ पक्राउ परे । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाह पनि पक्राउ परे । तर, उनी विरुद्ध पछि मुद्दा नचल्ने निर्णय भयो । 

‘पशुपति टिकिन्छा गुठी’ लगायतका गुठी खडा गरेर योजनाबद्ध सरकारी कागजात किर्ते गरेर ललिता निवासको १४७ रोपनी सरकारी जग्गा हिनामिना गर्ने काममा संलग्न २९० जनालाई प्रतिवादी बनाएर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रकरणमा पूर्व सह–सचिव कलाधर देउजा, सञ्चार मन्त्रालयका सचिव कृष्ण बहादुर राउत, भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन महानिर्देशक रुद्र प्रसाद श्रेष्ठ, भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सिडिई बालकृष्ण श्रेष्ठ पक्राउ परे । सञ्चार मन्त्रालयका सचिव राउत विरुद्ध पछि मुद्दा नचलाउने निर्णय भएको थियो । 

६० किलो सुन काण्ड 

साउन २०८० मा राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट ६० किलो सुन बरामद गर्यो । सुन तस्करीमा जोडिए, दावा छिरिङ । साउन १४ मा पक्राउ परेका दावा र नेपालका ‘हाइ प्रोफाइल’ बिच बाक्लो उठबस देखिएको छ । दावा अहिले पुर्पक्षका लागि  थुनामा छन् । 

दावा चिनियाँ मूलका बेल्जियन नागरिक हुन् । हङकङबाट ‘रेडी ट्रेड प्राली’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर सुन काठमाडौँ ल्याएको थियो । सुन प्रकरणमा संलग्न आरोपमा सुनचाँदी ब्यवसायी संघ बाराका अध्यक्ष शिव कुमार सर्राफ पनि पक्राउ परे । उनले तस्करीको सुन किन्ने गरेको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’को अनुसन्धान निष्कर्षले औँल्याएको छ ।

सर्राफ नेपाल सुनचाँदी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष र सुनचाँदी व्यवसायी संघ बाराको अध्यक्ष हुन् । 

इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर चिनबाट ल्याएको सुनमा संलग्न आरोपमा पूर्व सभामुख कृष्ण बहादुर महराका छोरा राहुलमाथि सीआईबीले अनुसन्धान गरेको थियो । भदौ १३ मा पक्राउ परेका राहुल अहिले कारागारमा छन् । २०७९ पुस १० मा दुबईबाट तस्करी गरेर सुन ‘ल्याउने समूह’मा राहुल संलग्न रहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । सुन ल्याउने चिनियाँ नागरिक लुई र दाओजिन वाङसँग राहुलको ‘कनेक्सन’ देखिएको छ । रातोपाटीलाई प्राप्त कल डिटेल्स रेकर्ड अनुसार वाङ र राहुल बिच सुन तस्करी भएर आएको मितिदेखि विमानस्थल भन्सार कार्यालयले छानबिन गर्दासम्म १९५ पटक कुराकानी भएको भेटिएको छ । 

नक्कली शैक्षिक प्रमाणपत्र 

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा २५ साउनमा मोरङ–३ बाट नेपाली कांग्रेसका सांसद सुनिल कुमार शर्मा पक्राउ परे । त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरीलाई पनि पक्राउ गरियो । सीआईबीको ‘फोक्सट्रोट चार्ली’ अपरेसमा परेका सांसद शर्मालाई अदालतले थुनामा नराख्न आदेश गरेपछि रिहा भए । 

बाँसबारी जग्गा घोटाला 

बाँसबारी छालाजुत्ता कारखानाबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा आएको १० रोपनी जग्गा निजीकरण गरेको अभियोगमा उद्योगी अरुण कुमार चौधरीलाई माघ १८ मा सीआईबीले नियन्त्रणमा लियो ।

उनीसँगै बाँसबारी छालाजुत्ता कारखानाका पूर्व अध्यक्ष अजित नारायण सिंह थापा र चाँदबाग रेसिडेन्सी प्रालिका वर्तमान अध्यक्ष संजय ठाकुर पनि पक्राउ परे । यो प्रकरणमा अनुसन्धान जारी छ । उनीहरु भने आजै रिहा भएका छन् । 

रामबहादुर बम्जन

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ‘तपस्वी’ रामबहादुर बम्जनलाई आश्रममा किशोरीलाई यौन शोषण गरेको आरोपमा पुस २४ मा बुढानिलकण्ठ स्थित हात्तिगौंडाबाट पक्राउ गर्यो । उनी चार वर्षदेखि फरार थिए । अहिले उनी थुनामा छन् । बम्जनविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा थप दुईवटा जाहेरी परेको छ । हत्या, अपहरण तथा बेपत्ता सम्बन्धी जाहेरी दर्ता भएको बाराका एसपी सुरेश काफ्लेले रातोपाटीलाई बताए ।

निजगढ नगरपालिका–१२ स्थित खुमजोरको आश्रमबाट बम्जनले सुरेश कुमार आलेलाई बेपत्ता बनाएको आरोप छ । सिमरा उप महानगरपालिका–१५ वडहर्वा घर भएका ३४ वर्षीय आलेका परिवारले उनलाई अपहरण पछि बेपत्ता बनाएको भन्दै अनुसन्धान गर्न जाहेरी दिएका हुन् ।

सुरेश कुमार आले २०७२ जेठ पछि सम्पर्कविहीन छन् । बम्जनले रिता बोटलाई हत्या गरेको आरोप छ । सर्लाहीको बागमती नगरपालिका–१२ घर भएकी रितालाई बाराको आश्रममा हत्या गरेको भन्दै पीडित परिवारले किटानी जाहेरी दिएका हुन् ।

टुटल प्रमुख पक्राउ 

पुस २० मा काठमाडौँ प्रहरीले टुटलका प्रमुख शिक्षित भट्टलाई पक्राउ गरेको थियो । विश्वासघात गरेर प्रतिलिपी अधिकार हनन गरेको कसुरमा पक्राउ परेका भट्ट अहिले अदालतको आदेशले छुटेका छन् । प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रहरीको भनाई

ललिता निवास, नक्कली सर्टिफिकेट र बाँसबाँरीको १० रोपनी जग्गा हिनामिना प्रकरणमा विगतदेखि नै अनुसन्धान भइरहेको र ती प्रकरणमा संलग्न देखिएकाले हाइप्रोफाइललाई पक्राउ गरिएको सीआइबीका प्रवक्ता नवराज अधिकारीले रातोपाटीलाई बताए ।

कानून विपरीत भएका कामबारे अनुसन्धान जारी रहेको जनाउ दिँदै उनले भने, ‘दण्डहीनताको अन्त्य गर्ने अभियान अन्तर्गत विगतमा पदमा रहेर सेवा निवृत्त भएकाहरु पनि कानुनी दायरामा आएका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप