शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एसिया बैंक खराब कर्जामा चुर्लुम्म डुब्यो, ऋण असुली न्यायाधिकरणमा ८३ वटा मुद्दा

बुधबार, २४ माघ २०८०, १६ : २९
बुधबार, २४ माघ २०८०

काठमाडौँ । कमजोर पर्फमेन्सका बाबजुद एनआईसी एसिया बैंक पछिल्लो समय खराब कर्जा (एनपीएल) मा चुर्लुम्म डुबेको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खराब कर्जाको दर (एनपीएल) ९५ प्रतिशतमाथिले बढ्न पुगेको हो । 

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जाको दर ०.६१ प्रतिशतबाट एकैपटक बढेर १.१९ प्रतिशत पुगेको हो ।

वित्तीय रिपोर्ट अनुसार पुस मसान्तसम्म बैंकले ३ खर्ब ८१ अर्ब निक्षेप संकलन गर्दै २ खर्ब ९३ अर्ब कर्जा प्रवाह गरेको देखिन्छ । तर सोमध्ये ३ अर्ब ४८ करोड रुपैयाँमाथिको लगानी खराब कर्जामा रूपान्तरण भएको छ । फलतः बैंकको खुद नाफासँगै यता वितरणयोग्य नाफा समेत प्रभावित बन्न पुगेको छ । 

अघिल्लो वर्ष पुस मसान्तमा ३ अर्ब २७ करोड ३३ लाख खुद नाफा आर्जन गरेको बैंकले यो वर्ष कमजोर पर्फमेन्स प्रदर्शन गर्दै ४१.८४ प्रतिशतले नाफा गुमाउँदै जम्मा १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ मात्र कमाएको छ । 

खुद ब्याज आम्दानी, सञ्चालन मुनाफासँगै अन्य सबै जसो आम्दनीका स्रोतहरु गुमेको बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) समेत नराम्रोसँग खुम्चिन पुगेको छ । 

समीक्षा अवधिमा खुद ब्याज आम्दानी १०.१३ प्रतिशतले घटेकोमा सञ्चालन मुनाफा २४.१३ प्रतिशतले घटेको छ । बैंकको प्रतिसेयर आम्दानी ५४.९२ प्रतिशतले घट्न पुगेको छ । 

अन्तोत्वगत्वा : यस वर्ष बैंकको वितरणयोग्य मुनाफा ५९ करोड २२ लाख रुपैयाँले ऋणात्मक बन्न पुगेको छ । यसले आगामी वर्ष बैंकले वितरण गर्ने मुनाफा प्रभावित बन्ने निश्चित छ ।

ऋण असुली न्यायाधिकरणमा ८३ वटा मुद्दा

उसो त बैंक खराब कर्जामा चुर्लुम्म डुब्दै गर्दा यता एनआईसी एसिया बैंकले ऋण असुली न्यायाधिकरणमा ऋणीविरुद्ध ८३ वटा मुद्दा हालेको छ । चालु आर्थिक वर्षको साउनयता ८३ ऋणीबाट कूल ९९ करोड ८४ लाख ८१ हजार रुपैयाँ बराबरको बिगो दाबीसहित बैंकले ऋण असुली न्यायाधिकरणमा मुद्दा हालेको हो । यो अन्य वाणिज्य बैंकहरुको तुलनामा उच्च हो । 

आर्थिक वर्षको पुस मसान्तसम्ममा २ अर्ब ९३ अर्ब बढी ऋण लगानी गरेको बैंकले ऋण उठाउन नसकेर ऋण असुली न्यायाधिकरणको सरणमा जानु आफैमा जोखिमपूर्ण अवस्था हो । 

त्यसो त हाल बैंकसँग ३ अर्ब ४७ करोड ५० लाख रुपैयाँ माथिको नन् बैंकिङ्ग एसेटस् (धितो) रहेको छ । पटकपटक लिलामीमा जाँदा समेत जिन्सी धितो लिलामी गर्न नसकेको बैंकले खराब कर्जाको व्यवस्थापनकै लागि चालु आर्थिक वर्षमा ५ अर्ब ६२ करोड ९० लाख रुपैयाँमाथि लोन लस्ट प्रोभिजन गर्न बाध्य भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप