बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
क्रिकेट

१३ औँ प्रतिद्वन्द्वी क्यानडासँग नेपालको ६० औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल

यूएईविरुद्ध सबैभन्दा बढी खेल र बढी जित
बिहीबार, २५ माघ २०८०, ०९ : १५
बिहीबार, २५ माघ २०८०

काठमाडौँ । नेपालले बिहीबार घरेलु मैदानमा क्यानडासँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ । नेपाल र क्यानडाबिच तीनवटा एकदिवसीय खेलको शृङ्खला आयोजना हुन लागेको हो । शृङ्खलामा सहभागी हुन क्यानडाको टोली नेपाल आइसकेको छ । 

खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिँदैछ । शृङ्खलाको दोस्रो खेल शनिबार र तेस्रो खेल आगामी सोमबार खेलिने छ । नेपालले सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट एकदिवसीय मान्यता पाएपछि क्यानडासँग पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्न लागेको हो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा क्यानडा कमजोर टिम भने होइन । क्यानडा अन्तर्राष्ट्रिय क्रिकेटमा गौरवशाली इतिहास बोकेको टोली हो । क्यानडाले हालसम्म चारपटक आईसीसी एकदिवसीय विश्वकप खेलिसकेको छ । 

क्यानडाले सन् १९७९ मा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको दोस्रो संस्करणमै सहभागिता जनाउने अवसर पाएको थियो । क्यानडाले त्यसपछि सन् २००३, सन् २००७ र सन् २०११ को आईसीसी एकदिवसीय विश्वकप पनि खेलेको थियो ।

यद्दपि, तीनैपटक क्यानडा आईसीसी एकदिवसीय विश्वकपको समूहगत चरणबाटै बाहिरिएको थियो । नेपालले भने हालसम्म एकपटक पनि आईसीसी एकदिवसीय विश्वकप खेल्ने अवसर पाएको छैन । क्यानडाले आईसीसीको एकदिवसीय मान्यता गुमाउने र पुनः प्राप्त गर्ने क्रम लामो समयदेखि चल्दै आएको देखिन्छ । 

क्याडनाविरुद्ध बिहीबार खेलिने खेल नेपालका लागि ६०औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुनेछ । यसअघि नेपालले ५९ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ । नेपालले आफूले खेलेका ५९ मध्ये ३० खेलमा जित हात पारेको छ । २७ खेलमा भने नेपाली टोली पराजित भएको छ । 

नेपालले खेलेको एक खेल बराबरीमा सकिएको छ भने एक खेल रद्द भएको छ । सन् २०२२ को डिसेम्बर २ तारिखमा खेलिएको नेपाल र नामिबियाबिचको खेल अनिर्णीत रूपमा सकिएको थियो । सन् २०२२ को जुन ११ तारिखमा खेलिएको नेपाल र अमेरिकाबिचको खेल भने बराबरीमा सकिएको थियो ।

  • सन् २०१८

आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय टोलीको मान्यता पाएकै वर्ष सन् २०१८ मा नेपालले तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । एक खेलमा नेपाल विजयी भएको थियो । नेपालले नेदरल्यान्ड्समाथि एक रनको रोमाञ्चक जित हासिल गरेको थियो । सोही वर्ष खेलिएको खेलमा नेपाली टोली संयुक्त अरब इमिरेट्स (यूएई) सँग ७८ रन र नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको थियो ।

  • सन् २०१९ 

सन् २०१९ मा पनि नेपालले तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलमात्र खेलेको थियो । त्यो वर्ष नेपालले तीनवटै खेल यूएईविरुद्ध खेलेको थियो । दुई खेलमा नेपाल विजयी भएको थियो भने एक खेलमा यूएई । नेपालले यूएईलाई क्रमशः चार विकेट र एक सय ४५ रनले हराएको थियो । यूएईले भने नेपाललाई तीन विकेटले पराजित गरेको थियो । 

  • सन् २०२०

सन् २०२० मा नेपालले चारवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो । त्यसमध्ये नेपाली टोली दुई खेलमा विजयी र दुई खेलमा पराजित भएको थियो । त्यो वर्ष नेपालले दुवै खेलमा अमेरिकालाई क्रमशः आठ विकेट र ३५ रनले हराएको थियो । अन्य दुई खेलमा नेपाली टोली ओमनसँग क्रमशः आठ विकेट र १८ रनले पराजित भएको थियो ।

  • सन् २०२१

सन् २०२१ मा नेपालले ६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । त्यसमध्ये चार खेलमा नेपाली टोली विजयी भएको थियो । नेपालले ओमनलाई सात विकेटले र अमेरिकालाई पाँच विकेटले हराएको थियो ।

बाँकी दुई खेलमा नेपाली टोलीले पपुवा न्यू गिनीलाई क्रमशः एक सय ५१ रन र दुई विकेटले पराजित गरेको थियो । त्यो वर्ष नेपाली टोली ओमान र अमेरिकासँग पराजित भएको थियो । नेपाललाई ओमानले पाँच विकेट र अमेरिकाले ६ विकेटले हराएका थिए ।

  • सन् २०२२

सन् २०२२ मा नेपालले २१ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । त्यसमध्ये ६ खेलमा नेपाल विजयी भएको थियो । १३ खेलमा नेपाली टोली पराजित भएको थियो भने एक खेल अनिर्णीत रूपमा सकिएको थियो । एक खेल भने बराबरीमा सकिएको थियो । 

त्यो वर्ष नेपालले यूएईलाई क्रमशः ६ विकेट र तीन विकेटले हराएको थियो । स्कटल्यान्डलाई पाँच विकेट र ओमानलाई सात विकेटले पराजित गरेको थियो । पपुवा न्यू गिनीलाई क्रमशः सात विकेट र दुई विकेटले हराएको थियो । 

नेपाली टोली स्कटल्यान्डसँग क्रमशः आठ विकेट, तीन विकेट र आठ विकेटले पराजित भएको थियो । नामिबियाले नेपाललाई क्रमशः ८६ रन, ६३ रन र ४० रनले हराएको थियो । यूएईले भने नेपाललाई क्रमशः ८४ रन, ९९ रन र ४८ रनले पराजित गरेको थियो ।

यसैगरी नेपाललाई अमेरिकाले ३९ रन र ओमानले १३ रनले हराएका थिए । त्यो वर्ष पपुवा न्यु गिनीले पनि नेपाललाई क्रमशः तीन विकेट र ६ रनले हराएको थियो । नेपाल अमेरिकाबिचको एउटा खेल बराबरीमा सकिएको थियो भने नेपाल र नामिबियाबिचको खेल अनिर्णीत रूपमा टुङ्गिएको थियो ।

  • सन् २०२३

सन् २०२३ मा नेपाली टोलीले सबैभन्दा बढी २२ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो । त्यसमध्ये १५ वटा खेलमा नेपाली टोली विजयी भएको थियो । सातवटा खेलमा भने नेपाली टोली पराजित भएको थियो ।

नेपालले नामिबियालाई नेपालले नामिबियालाई क्रमशः दुई विकेट र तीन विकेट तथा स्कटल्यान्डलाई तीन विकेट र दुई विकेटले पराजित गरेको थियो । यसका अतिरिक्त नेपालले पपुवा न्यू गिनीलाई चार विकेट, तीन विकेट, ५२ रन र नौ विकेटले हराएको थियो ।

यसैगरी नेपालले यूएईलाई क्रमशः ४२ रन, एक सय ७७ रन, नौ रन, सात विकेट र तीन विकेटले पराजित गरेको थियो । यसका अतिरिक्त नेपाली टोलीले ओमानलाई ८४ रन र अमेरिकालाई ६ विकेट हराएको थियो । 

यसैगरी त्यो वर्ष नेपाली टोली बलियो टेस्ट राष्ट्र भारतसँग १० विकेट र पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो । यी दुवै खेल एसिया कप क्रिकेट प्रतियोगिताका क्रममा खेलिएको थियो । नेपाली टोली आयरल्यान्डसँग दुई विकेट र नेदरल्यान्डसँग सात विकेटले हारेको थियो ।

 सोही वर्ष नेपाली टोली टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग एक सय एक रनले र जिम्बाबेसँग पनि आठ विकेटले पराजित भएको थियो । यी दुवै खेल आईसीसी एकदिवसीय विश्वकपको अन्तिम चरणको छनोटका क्रममा खेलिएको थियो । त्यो वर्ष नेपाली टोली एउटा खेलमा यूएईसँग पनि ६८ रनले पराजित भएको थियो । 

  • क्यानडा नेपालको १३औँ प्रतिद्वन्द्वी

नेपालले हालसम्म १२ वटा राष्ट्रसँग एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेको छ । बिहीबार खेलिने खेलमा नेपालका लागि क्यानडा १३औँ प्रतिद्वन्द्वी हुनेछ । यसअघि नेपाल र क्यानडाबिच एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको थिएन ।

सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएयता नेपालले नेदरल्यान्ड्स, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, अमेरिका, पपुवा न्यू गिनी (पीएनजी), स्कटल्यान्ड, नामिबिया, भारत, पाकिस्तान, आयरल्यान्ड, वेस्ट इन्डिज र जिम्बाबेसँग एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेको छ । 

नेपालले हालसम्म आईसीसीको स्थायी सदस्य राष्ट्रविरुद्ध खेलेको एकदिवसीय अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगितामा भने जित हात पार्न सकेको छैन । नेपालले हालसम्म आईसीसीको पाँचवटा स्थायी सदस्य राष्ट्रसँग एक–एक खेल खेलेको छ । 

  • यूएईविरुद्ध सबैभन्दा बढी खेल र बढी जित

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा हालसम्म आईसीसीको एसोसिएट्स राष्ट्रहरुसँग सबैभन्दा बढी ५४ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छ । नेपालले एसोसिएट्स सदस्य राष्ट्रमध्ये सबैभन्दा बढी एकदिवसीय अन्तर्राष्ट्रिय खेल यूएईसँग खेलेको छ । 

नेपाली टोलीले हालसम्म यूएईसँग १५ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ । त्यसमध्ये नेपाली टोली नौ खेलमा विजयी र ६ खेलमा पराजित भएको छ । नेपालले दोस्रो बढी एकदिवसीय अन्तर्राष्ट्रिय खेल पपुवा न्यू गिनीसँग खेलेको छ । नेपाल र पपुवा न्यू गिनीबिच हालसम्म १० खेल भएको छ । नेपाली टोली त्यसमध्ये आठ खेलमा विजयी र दुई खेलमा पराजित भएको छ ।

यसैगरी नेपालले ओमान र अमेरिकासँग सात–सातवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ । ओमानविरुद्ध नेपालले तीन जित र चार हारको नतिजा निकालेको छ । अमेरिकाविरुद्ध भने नेपालले चार जित, दुई हार र एक बराबरीको नतिजा निकालेको छ ।

यसका अतिरिक्त नेपालले नामिबिया र स्कटल्यान्डसँग पनि ६–६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ । नामिबियाविरुद्ध नेपालले दुई जित र तीन हारको नतिजा निकालेको छ । नाबियाविरुद्धको एक खेल भने अनिर्णित रुपमा सकिएको थियो । 

स्कटल्यान्डसँग नेपालले तीन खेलमा जित हासिल गरेको छ भने तीन खेलमा हार ब्यहोरेको छ । नेदरल्यान्ड्ससँग पनि नेपालले तीन खेल खेलेको छ । त्यसमध्ये नेपाल एक खेलमा विजयी भएको छ भने दुई खेलमा पराजित भएको छ । 

  • नेपाली टोलीको उच्च स्कोर

नेपाली टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा बनाएको उच्च स्कोर तीन सय १० रन हो । नेपालले उक्त रन ओमानविरुद्धको खेलमा बनाएको हो । एसीसी प्रिमियर कपका क्रममा सन् २०२३ को अप्रिल २१ तारिखमा खेलिएको ओमानविरुद्धको खेलमा नेपालले ५० ओभरमा आठ विकेट गुमाएर तीन सय १० रन बनाएको थियो । 

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको त्यो खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो । त्यो खेलमा नेपालका लागि कुशल मल्लले केवल ६४ बलमा १० छक्का र नौ चौकाको मद्दतले एक सय आठ रन बनाएका थिए । 

सोमपाल कामीले पनि ४८ बलमा नौ चौकाको मद्दतले अविजित ४८ रन बनाएका थिए । नेपाली टोलीका बलर करण केसी र सन्दीप लामिछानेले तीन–तीन विकेट लिएका थिए । दीपेन्द्रसिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट हात पारेका थिए ।

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले दोस्रो ठूलो स्कोर भने पपुवा न्यू गिनीविरुद्ध बनाएको थियो । आईसीसी क्रिकेट वल्र्ड कप लिग–२ का क्रममा सन् २०२३ को मार्च ९ तारिखमा खेलिएको उक्त खेलमा नेपालले ४९.१ ओभरमा अलआउट हुनुअघि दुई सय ९७ रन बनाएको थियो । 

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको त्यो खेलमा नेपाली टोली ५२ रनले विजयी भएको थियो । नेपालका लागि आसिफ शेखले एक सय १०, कुशल भुर्तेलले ४५ र भीम सार्कीले ४४ रन बनाएका थिए । नेपाली बलर सन्दीप लामिछानेले चार, दीपेन्द्र ऐरीले दुई र कुशल मल्लले एक विकेट लिएका थिए ।

  • सर्वाधिक रन बनाउने रोहित

एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान रोहित पौडेल हुन् । उनी वर्तमान राष्ट्रिय टोलीका कप्तान पनि हुन् । उनले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रियमा कुल एक हजार चार सय ७४ रन बनाएका छन् । 

कप्तान रोहितले ५३ पाली खेल्दै एक शतक र आठवटा अर्धशतक पनि बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर एक सय २६ रन हो । सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा आसिफ शेख दोस्रो स्थानमा छन् । 

आसिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रिमा ४३ पाली खेल्दै कुल एक हजार दुई सय ५० रन बनाएका छन् । उनले एक शतक र १० वटा अर्धशतक पनि बनाएका छन् । उनको उच्च स्कोर एक सय १० रन हो । कुल एक हजार ३२ रनसहित कुशल भुर्तेल तेस्रो, कुल नौ सय चार रनसहित आरिफ शेख चौथो र कुल आठ सय ८९ रनसहित दीपेन्द्रसिंह ऐरी पाँचौँ स्थानमा छन् । 

  • सर्वाधिक विकेट लिने सन्दीप लामिछाने

एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि सर्वाधिक विकेट लिने बलर सन्दीप लामिछाने हुन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ५० पाली खेल्दै कुल एक सय १२ विकेट लिएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता उनको उत्कृष्ट प्रदर्शन ११ रन दिएर ६ विकेट हो । 

सर्वाधिक विकेट लिने बलरको सूचिमा करण केसी दोस्रो स्थानमा छन् । उनले ४८ पाली खेल्दै कुल ७४ विकेट लिएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन ३३ रन दिएर पाँच विकेट हो । ६५ विकेटसहित सोमपाल कामी तेस्रो, ३६ विकेटसहित दीपेन्द्र ऐरी चौथो र २८ विकेटसहित ललित राजवंशी पाँचौँ स्थानमा छन् ।

  • क्यानडाविरुद्धको खेलका लागि घोषित टोली

नेपाल क्रिकेट संघले रोहित पौडेलको कप्तानीमा क्यानडाविरुद्धको शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरेको छ । घोषित टोलीमा कप्तान रोहितका अतिरिक्त आशिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल शाह रहेका छन् ।

यसैगरी क्यानडाको टोलीमा साद बिन जाफर (कप्तान), अजयवीर हुन्डल, डिलन हेलिगर, दिलप्रित सिंह, हर्ष ठाकेर, इश्वरजोत सिंह, जेरेमी गोर्डन, नवनित धालिवाल, निखिल दत्त, निकोलस किर्टन, परगत सिंह, साहिब मल्होत्रा, साहिद अहमदजाई, श्रेयष मोभा, श्रीमान्थ विजयरत्ने, उदय भगवान, एरोन जोन्सन, उदयवीर वालिया र युवराज शर्मा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप