सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कलाकार

एलिना, ज्योतिदेखि प्रकाश सपुतसम्म, यी हुन् महोत्सवका ‘वान्टेड’ कलाकार

कति पाउँछन् पारिश्रमिक ?
मङ्गलबार, ०१ फागुन २०८०, १२ : ४९
मङ्गलबार, ०१ फागुन २०८०

काठमाडौँ । गायिका एलिना चौहान पछिल्लो समय निरन्तर मेला महोत्सवमा व्यस्त छिन् । विगत केही महिनादेखि प्रत्येक दिनजस्तो उनको कार्यक्रम पर्ने गरेको छ । दर्शक–स्रोतले धेरै रुचाउने उनी कहिले काहीँ त एकै दिन दुई कार्यक्रमसमेत भ्याउँछिन् ।

फागुन लाग्नु अगाडि नै एलिनाले पहिलो साताको कार्यक्रम तालिका सार्वजनिक गरेकी छन् । जस अनुसार उनी फागुन १ गते घोराही, २ गते कपिलवस्तु, ३ गते कैलाली, ४ गते गुल्मी, ५ गते बनेपा, ६ गते नुवाकोट, ७ गते रोल्पा र ८ गते देवदहमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछिन् । त्यसपछि पनि उनी व्यस्त नै रहनेछिन् ।

एलिनाकै दाँजोमा महोत्सवहरूमा धेरै रुचाइने गायिका हुन् रचना रिमाल । उनको चटारो पनि त्यस्तै छ । लामो समयदेखि उनी मेला महोत्सवको धपेडीमा छिन् ।

महिनामा २०÷२५ दिन त उनी यस्ता महोत्सव कार्यक्रममा सहभागी हुने गर्छिन् । कहिलेकाहीँ एकै दिन दुई कार्यक्रम पर्छ । यस्तो अवस्थामा उनले नजिक भए दुवै कार्यक्रम भ्याउने र टाढा भए एउटा छोड्ने गरेकी छन् ।

गायिका ज्योति मगरको डिमान्ड पनि अन्यको भन्दा कम छैन । पछिल्लो समय उनी महिनैभरि व्यस्त छिन् । मेला महोत्सवमा दर्शकलाई भरपुर मनोरञ्जन गराउन कुनै कसर नछाड्ने ज्योति स्टेज प्रस्तुतिको क्रममा स्टेज भाँचिएर घाइतेसमेत भएकी थिइन् । तर पनि उनलाई आराम गर्ने फुर्सद मिलेन ।

त्यस्तै डिमान्ड भएका गायकमा प्रकाश दूतराज हुन् ।  ‘बैनी झ्यालैमा’, ‘चोली मैलो भो’, ‘घर कता हो बैनीको’ हुँदै ‘जाम भो माइली’ जस्ता गीतबाट आफूलाई स्थापित गरेका दूतराजको स्वदेश तथा विदेशमा डिमान्ड राम्रो छ ।

गायक बद्री पंगेनी पनि मेला महोत्सवका लागि पहिलो रोजाइका गायक हुन् । धादिङको गौधली, वालिङ महोत्सव, पाल्पाको दमकाडा, नुवाकोट महोत्सवमा उनले हालै प्रस्तुति दिएका छन् ।

गायिका भूमिका गिरीको पनि स्वदेश तथा विदेशमा राम्रो डिमान्ड छ । ‘लौका चाख्ने मौका देऊ’, ‘गोरखपुरको सलाई’ ‘मायाकै पिरलो’, ‘चोली मैलो भो’, ‘तारासँगै जुन’ लगायतका गीतबाट चर्चित गिरी महिनाभरिनै व्यस्त हुने गरेको बताउँछिन् ।

गायक प्रकाश सपुतको कुरै नगरौँ । ‘सकम्बरी’ गीत सार्वजनिकपछि देश विदेशका कार्यक्रममा उनलाई जति पनि तिर्न आयोजक तयार छन् ।

माथिका त केही उदाहरण मात्र हुन्, रमेशराज भट्टराई, उर्दिन दोङ, निशान भट्टराई, शान्तिश्री परियार, पशुपति शर्मा, खुमन अधिकारी, रामजी खाँड, खेम सेञ्चुरी, पुस्कल शर्मा, राधिका हमालसम्म मेला महोत्सव तथा विभिन्न मुलुकमा हुने कार्यक्रममा ‘वान्टेड’ कलाकार हुन् ।

त्यस्तै जोडी दोहोरी तर्फ भने श्याम राना र जालीमाया गुरुङ अनि बालचन्दु बराल र तारा थापाको माग उच्च छ । र्‍यापर आशिष राना लाउरेको डिमान्ड पनि अत्यधिक रहेको मेला महोत्सव व्यवस्थापन गर्दै आएका राजकुमार सिग्देल बताउँछन् ।

  • पारिश्रमिक कति ?

लोक, आधुनिक, लोकदोहोरीदेखि ¥यापरसम्म गरेर पछिल्लो समय डिमान्ड हुने कलाकार थुप्रै छन् । ती कलाकारको पारिश्रमिक फरक फरक छन् । कलाकारले आयोजक र कार्यक्रम हेरेर आफू खुसी पारिश्रमिक लिँदै आएका छन् ।

मेला महोत्सवमा पहिलो रोजाइमा पर्ने कलाकारले एक कार्यक्रमको पारिश्रमिक २० हजारदेखि ६० हजारसम्म लिने गरेको पाइन्छ । यद्यपि यसको पारिश्रमिक यति भनेर भन्न सकिने अवस्था भने छैन ।

कार्यक्रम आयोजक विनोद बुढाथोकी पनि कलाकारको पारिश्रमिक व्यक्ति अनुसार फरक फरक भएको बताउँछन् । ‘व्यक्ति र कार्यक्रम अनुसार एउटै कलाकारको पारिश्रमिक फरक फरक हुने गरेको छ,’ उनले भने, ‘कार्यक्रम फरक भए पनि एउटै कलाकार भएपछि मैले दिने पारिश्रमिक सबै कार्यक्रमको एउटै हुन्छ ।’

उनले कार्यक्रमभन्दा पनि कलाकार अनुसार आफूले पारिश्रमिक दिने गरेको सुनाए । उनले भने, ‘जतिकै डिमान्ड भएका कलाकार भए पनि मैले अहिलेसम्म २० देखि ३५ हजारभन्दा बढी पारिश्रमिक कुनै कलाकारलाई दिएको छैन ।’

बुढाथोकी विगत दश वर्षदेखि कालिका नेपाल फेयर एक्जिवेशन प्रालिबाट देशको विभिन्न स्थानमा मेला महोत्सव आयोजना गर्दै आएका छन् ।

परिश्रमिकको विषयमा बुढाथोकी भन्दा फरक धारणा राख्छन् मेला महोत्सव व्यवस्थापक राजकुमार सिग्देल । विगत लामो समयदेखि महोत्सवमा स्टल र कलाकार व्यवस्थापन गर्दै आएका सिग्देलले कलाकारका लागि २० देखि ६० हजारसम्म पारिश्रमिक तिरेका छन् ।

‘कलाकार हेरेर २० देखि ६० हजारसम्म पारिश्रमिक दिनुपर्ने हुन्छ’, सिग्देलले भने, ‘मसँग पारिश्रमिकको लागि कलाकार किचकिच भने गर्दैनन् ।’

सिग्देलले यो वर्ष धादिङको सल्यानटार, कावासोती लगायत ५ महोत्सवको व्यवस्थापन गरिसकेका छन् भने केही महोत्सव आयोजना गर्ने तयारीमा छन् । यी महोत्सवमा सहभागी कलाकारको पारिश्रमिक २० देखि ६० हजार बिचमा रहेको उनले खुलाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप