बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

कांग्रेसका तीनवटै प्रस्ताव पारित, संसदीय कार्यसमिति चयन गर्न निर्वाचन समिति गठन

शुक्रबार, ०४ फागुन २०८०, २० : ५५
शुक्रबार, ०४ फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले महासमितिमा पेस गर्ने तीन वटै प्रतिवेदन प्राप्त सुझावलाई समावेश गरी परिर्माजनसहित पेस गर्ने गरी पास गरेको छ ।

बिहीबारको केन्द्रीय समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए । 

उक्त प्रस्तावमाथि शुक्रबारको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यले सुझावसहितको धारण राखेका थिए । केन्द्रीय सदस्यहरुले दिएको सुझावलाई समेट्ने गरी बैठकले तीन वटै प्रस्ताव पारित गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए । 

उनका अनुसार बैठकले महासमिति सदस्य नरहेका क्षेत्रीय सभापति, जिल्ला सभापति र भ्रातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरुलाई आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने निर्णय समेत गरेको छ । 

बैठकले संघीय संसद्, संसदीय दल कार्यसमितिको निर्वाचन गराउन निर्वाचन समिति बनाएको उनले बताए । 

शुक्रबार बसेको कार्यसमिति बैठकले सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयमेजकत्वमा तीन सदस्यीय समिति बनाएको हो । समितिमा पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य छन् ।

कांग्रेस संसदीय निर्वाचन भएको पुस ६ मा एक वर्ष भइसकेपनि संसदीय दल कार्यसमितिको निर्वाचन हुन सकेको छैन । 

संसदीय दलको कार्यसमितिमा संसदीय दलको नेता, उपनेता, राष्ट्रियसभा सदस्यको दलको नेताका साथै निर्वाचित, मनोनीत र पदेन सदस्य गरी ३१ जना रहने छन् । 

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रमुख सचेतक र सचेतक मनोनयन गरे पनि उपनेता चयन गरेका छैनन् । प्रमुख सचेतकको जिम्मेवारी सांसद रमेश लेखक र सचेतकमा सुशीला थिङ छिन् । 

कार्यसमितिमा सात वटा प्रदेशबाट सात जना निर्वाचित हुने व्यवस्था छ । सम्बन्धित प्रदेशका सबै प्रतिनिधिसभा सदस्यको मतदानबाट एक जना निर्वाचित हुने व्यवस्था छ । 

कार्यसमितिमा कम्तीमा पाँच जना महिला अनिवार्य हुने गरी क्लस्टर अनुसार जम्मा  ११ जना चयन हुने व्यवस्था छ । यस्तै संसदीय दलका नेताले पाँच सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ ।   

कार्यसमितिमा मुख्य सचेतक, सचेतक, सरकारमा रहेको अवस्थामा पार्टीको सदस्य भए संसदीय मामिला हेर्न मन्त्री र पार्टीका महामन्त्री पदेन सदस्य हुन्छन् । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पदेन सदस्य रहने छन् । 

उनीहरू निर्वाचित सांसद पनि हुन् । ३१ सदस्यमा कार्यसमितिमा १९ जना निर्वाचित भएर आउनुपर्ने व्यवस्था छ । सात प्रदेशबाट सात र ११ जना संसदीय दलका सदस्यबाट निर्वाचित हुन्छन् ।

पदेन सदस्य संसद्को सदस्य हुँदामात्र मत दिन पाउने व्यवस्था छ । महामन्त्री सांसद नहुँदा पनि पदेन सदस्य रहन्छन् । तर मत हाल्न पाउँदैनन् । कांग्रेसको विधान अनुसार संसद् सदस्य नभएको व्यक्तिलाई कार्यसमितिमा मतदान गर्ने अधिकार हुने छैन ।  

३१ सदस्यीय परिकल्पना गरिएको कार्यसमितिमा अहिले ३१ जनाको कार्यसमिति हुनेछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री रहेका कांग्रेस उपसभापति धनराज गुरुङ पनि संसदीय दल कार्यसमितिमा पदेन सदस्य छन् । आफ्नो पार्टीबाट संसदीय मामिला हेर्ने मन्त्री कार्यसमितिको पदेन सदस्य हुने व्यवस्था छ । 

कार्यसमितिको बैठक संसद् चलेको अवस्थामा प्रत्येक पन्ध्र दिनमा कम्तीमा एक पटक बैठक बस्नुपर्ने व्यवस्था छ । कार्यसमिति बन्न नसकेकाले संसदीय दलका नेता देउवाले पदेन सदस्यसहितको बैठक राखेर निर्णय गर्दै आएको अवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप