सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
गाँजा तस्करीमा नयाँ जुक्ति

पहाडी जिल्लामा उत्पादन, लुकिछिपी भारत तस्करी

गाँजा तस्करीमा पेट्रोल बोक्ने ट्याङ्करदेखि सप्तकोशी नदीसमेत प्रयोग
शनिबार, ०५ फागुन २०८०, १२ : ४९
शनिबार, ०५ फागुन २०८०

विराटनगर ।  सुनसरी र धनकुटा प्रहरीले पछिल्लो समय गाँजा नियन्त्रण अभियान तीव्र बनाएका छन् । पहाडी जिल्ला उदयपुर, भोजपुर, खोटाङ, धनकुटा, सङ्खुवासभा लगायतका जिल्लामा उत्पादित गाँजा सुनसरी, मोरङ र झापा हुँदै भारत तस्करी हुने गरेको छ । पछिल्लोपटक प्रहरीले सुनसरी र धनकुटाबाट ठुलो परिणाममा गाँजा नियन्त्रणमा लियो । 

प्रहरीले गत फागुन २ गते धनकुटाको भेडेटारबाट डिजेल तथा पेट्रोल ढुवानी गर्ने ट्याङ्करमा लोड गरेको पाँचसय ९४ किलो गाँजा बरामद गर्‍यो । प्रहरीले गाँजासहित चार जनालाई पनि पक्राउ गर्‍यो । प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चौकमा मुलघाटबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७३२२ नम्बरको ट्याङ्करमा गाँजा बरामद गरेको हो । 

Gaja (1)

ट्याङ्करको तेल लगाउने डिब्बाभित्र गाँजा राखेको अवस्थामा थियो । प्रहरीले गाँजा ओसारपसारमा संलग्न भारत अररियाका ४४ वर्षीय नईम खान, सह–चालक एमडी अफ्रोज, ट्याङ्करमा सवार ७० वर्षीय लखन महतो र मोरङ रंगेलीका गयानन्द मण्डललाई पक्राउ गरेको छ ।

धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार उक्त ट्याङ्कर कसको हो भन्ने आधिकारिक खुल्न बाँकी छ । तर, पेट्रोलियम डिलर एसोसिएसनका मानिसहरू ट्याङ्कर छुटाउनुपर्ने भन्दै धनकुटा प्रहरीसमक्ष डेलिगेसन गएका थिए । रोचक पक्ष के छ भने विराटनगरबाट सप्तरी पेट्रोलियम पदार्थ बोकेर गएको ट्याङ्कर इन्धन खन्याएर गाँजा लिन सिधै धनकुटा पुगेको थियो ।

‘सप्तरीतिर पेट्रोल पुर्‍याएर फर्केको ट्याङ्कर गाँजा लिनकै लागि धनकुटा आएको भने पुष्टि भयो’ कोइरालाले भने, ‘साहुलाई ट्याङ्कर बिग्रिएर बनाउँदै गरेको भन्ने जानकारी दिएर चालकले धनकुटा लिएर आएको थाहा भयो । ट्याक्टरका साहुले भोलिपल्ट बिहान फोन गर्दा चालक नै पक्राउ परिसकेका थिए । यो घटनाले साहु नै संलग्न भन्ने बुझिँदैन । चालक, सहचालकहरूको भने प्रत्यक्ष संलग्नता देखिन्छ ।’

Gaja (2)

योसँगै असोजयता मात्रै धनकुटाबाट ६ सय ५१ केजी बरामद भएको छ । अगाडि पनि विभिन्न विकल्प प्रयोग गरेर गाँजा तस्करी हुने गरेको थियो । प्रहरीले चेकजाँचमा कडाइ गरेपछि भने विकल्पको खोजी गर्दै ट्याङ्करसमेत प्रयोग गरेको कोइराला बताउँछन् । ‘बरामद गाँजा कहाँ उत्पादन भएको भन्ने कुरा खुलेको छैन । तर, पक्राउ परेकाहरूले रातको समयमा हामीलाई नै थाहा छैन भन्ने कुरा भनेका छन्,’ कोइरालाले भने । 

उता, गत पुस २३ गते भारत तस्करी हुन लागेको झन्डै ३ सय किलो गाँजा सुनसरी प्रहरीले बरामद गरेको थियो । ८ वटा बोरामा रहेको गाँजासहित प्रहरीले त्यसबेला पनि भारतीय नागरिक अरविन्द कुमार र सुनसरीको कोशी गाउँपालिका ५ का महोमद सागर मियाँलाई पक्राउ परेको थियो ।

उनीहरुले उक्त गाँजा को २ त ६८९० नम्बरको ट्याक्टरमा लोड गरेर भारत लैजान लागेका थिए । सुनसरी प्रहरीका अनुसार भोजपुरबाट सप्तकोशी हुँदै ल्याएको गाँजा कोशी गाउँपालिका ६ कोशी कटान भन्ने ठाउँबाट ट्याक्टरको मुनिपट्टि गाँजा र माथि बालुवा भोरेर भारत लान लागेका थिए । 

hhh (3)

यस्तै प्रहरीले फागुन १ गते सुनसरी बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित दाहसंस्कार गर्ने घाट नजिक कोशी किनारमा लुकाएको अवस्थामा १३ थान बोरामा जम्मा ४०६ किलो ९४० ग्राम गाँजा बरामद गरेको थियो । उक्त गाँजा प्रदेश ०१–०२–००१ ज ४०५० नम्बरको बोलेरो लोड गरी राखिएको थियो । प्रहरीले उक्त काममा संलग्न रहेको भन्दै धरान–४ का सूर्य राई र भोजपुर हतुवागढी–८ का लक्ष्मण राईलाई पक्राउ गरेको थियो । 

सुनसरीका प्रहरी प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीका अनुसार असोजदेखि यता सुनसरी प्रहरीले ६० जना मानिस र १६ सय ९८ किलो ३४६ ग्राम गाँजा बरामद गरेको छ । यस्तै १६ वटा सवारी साधन पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका ६० जनामध्ये २१ जना भारतीय रहेका छन् । नियन्त्रणमा लिएका १६ सवारी साधनमध्ये २ वटा भारतीय कार, २ वटा स्कारपियो र २ वटा टाटा सुमो रहेको छ । नेपालका सवारी साधन भने १० वटा छन् ।

प्रहरी स्रोतले दिएको जानकारीअनुसार गाँजा उत्पादन भइरहेकै स्थानमा तस्करहरूले प्रतिकिलो ३ हजारदेखि ४ हजारसम्ममा खरिद गर्छन् । उक्त गाँजा धरानको चतरासम्म ल्याइ पुर्याउँदा प्रतिकेजी ५ हजारदेखि ६ हजारसम्म पर्ने गरेको र नेपालको सीमा क्षेत्रमा प्रतिकिलो अन्दाजी १० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको प्रहरी स्रोतको दाबी छ । यस्तै भारतमा भने नेपालको गाँजा प्रतिकिलो १५ हजार रुपैयाँभन्दा माथि मूल्यमा खरिद बिक्री हुने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप