शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
बेथिति

संघीय सरकारको बजेट दुरुपयोग, ठेकेदारको लापरबाहीले स्थानीयलाई सास्ती

मङ्गलबार, ०८ फागुन २०८०, १२ : ४६
मङ्गलबार, ०८ फागुन २०८०

बारा । पथलैया–वीरगञ्ज औद्योगिक करिडोरको जीतपुर गढीमाई चोकदेखि पूर्वतर्फको सडक निर्माणमा ठेकेदारको चरम लापरबाहीका कारण स्थानीयले सास्ती भोगेका छन् । संघीय सरकार अन्तर्गत भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको ५० करोडको योजनामा ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण सडक कालोपत्रेको काममा ढिलासुस्ती भएको हो ।

महावीर इन्जिनियर एन्ड कन्स्ट्रक्सन प्रालि काठमाडौँले औद्योगिक करिडोरको ६ लेनसँग जोडिएको जीतपुर गढीमाई मन्दिरदेखि पूर्वतर्फको इनहर्वा बसडिलवासम्म करिब ५ किलोमिटर सडक निर्माणको काम अलपत्र अवस्थामा छाडेको छ ।

सडकमा खाल्टाखुल्टीका कारण दुर्घटनाको जोखिम बढेको छ भने धुलोले यात्रीलाई सास्ती भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका–८ का पूर्व वडाध्यक्ष रामबाबु पटेलले ठेकेदारले समयमै पोल सार्न आलटाल गर्दा बाटोको काम अगाडि बढ्न नसकेको बताए । धुलो उडेर गाउँमा हिँड्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

‘हामीले यो बाटो छिटो बनाइदिन कतिपटक चक्काजाम गर्‍यो, कति पटक हड्ताल गर्‍यौँ, त्यस यता बेला–बेलामा बाटोमा पानी हालेको छ, तर बाटोको काम साह्रै ढिलो हुँदा गाउँलेले धेरै सास्ती भोग्नु परेको छ,’ पटेलले भने, ‘ठेकेदारको चरम लापरबाही छ । फिल्डमा ठेकेदार कहिल्यै पनि देखा पर्दैन ।’

यो योजनामा सिमरा टेलिकमदेखि सेजसम्म जाने पहुँच मार्ग, जीतपुरको गढीमाईदेखि रमौली हुँदै रिलायन्स चिनी मिलसम्म जाने सडक र जीतपुरस्थित गढीमाई मन्दिरमा पार्क बनाउने उल्लेख छ ।

तत्कालीन शहरी विकास मन्त्री मेटमणि चौधरी यो योजनाको २०७९ असोज ७ गते शिलान्यास गरेका हुन् ।

r8

महावीर इन्जिनियर एन्ड कन्स्ट्रक्सन प्रालिका  इन्जिनियर प्रवीन ठाकुरले हालसम्म २० देखि २५ प्रतिशत काम सम्पन्न भएको र करिब ६ करोड भुक्तानी बुझिसकेको बताए । ‘पोल सार्ने विषयलाई लिएर ढिला भएको थियो, अब सघन शहरी कार्यालय आफैँले सार्ने सहमति भएकाले रोकिएको काम छिटै सुरु हुन्छ,’ ठाकुरले भने, ‘सिमरा र जीतपुरमा गरी करिब ६० देखि ७० वटा बिजुलीको पोल बिच बाटोमा परेका छन् । त्यसलाई अब छिटै हटाउने काम सुरु हुन्छ ।’

पूर्व वडाध्यक्ष पटेलले भने ठेकेदार कम्पनीले  आफूखुसी बिल पास गरेर भुक्तानी लिने गरेको तर फिल्डमा केही काम नभएको बताए ।

‘एक डेढ किलोमिटर नालाको काम भएको छ अरु केही काम भएको छैन,’ उनले भने, ‘ठेकेदारको धेरै लापरबाही छ ।’

अर्का स्थानीय हरेन्द्र सहनीले ठेकेदारले केही नाला बनाउने बाहेक कुनै काम नगरेको बताए । ‘पोल सारेको छैन, धुलो उडेर बाटोमा हिँड्नै नसकिने अवस्था छ,’ उनले भने ।

३२ फिट चौडाइको बाटोमा ३ फिट दुवैतर्फ नालाका लागि छुट्याइएको छ । ऐलानी जग्गा भएको ठाउँमा भने बाटोको चौडाइ केही फराकिलो बनाइएको छ ।

r5

१८ महिनाभित्र सम्पन्न गर्नुपर्ने योजनामा एक वर्ष बित्नै लाग्दासमेत धेरै काम अलपत्र अवस्थामा रहेको सिमराका मदनबहादुर क्षेत्रीले बताए ।

सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय वीरगञ्जका प्रमुख विनोद सिंहले भने तोकिएको समयभित्र काम सम्पन्न हुने दाबी गरेका छन् ।

‘सरकारले समयमै भुक्तानी गर्‍यो भने आगामी असोजभित्र सबै काम सम्पन्न हुन्छ,’ सिंहले भने ।

यता विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रले भने सघन शहरी कार्यालयले २ महिनाअघि नै पोल सार्ने विषयमा प्राधिकरणसँग सहमति गरे पनि काम सुरु नगरेको बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप