बिरामी पाडोको मासु खाँदा बस्तीका अधिकांश अस्वस्थ
सुर्खेत । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१, नदाई तुलिकोमा र सुजी टोलमा बिरामी पाडोको मासु खाँदा बालबालिकादेखि वृद्धवृद्धा थला परेका छन् । यी दुवै टोलमा दलित समुदायको बसोबास छ ।
प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रका अनुसार अहिलेसम्म २५ जनालाई अस्पतालमा ल्याएर उपचार गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रका सिनियर अहेव धोजबहादुर थापाका अनुसार अझै बिरामी आउने र उपचार गरेर फर्कने क्रम जारी छ ।
सोमबार बिरामीको उपचारमा १३ घण्टासम्म स्वास्थ्यकर्मी खटिएको र १६ जनालाई उपचार गरेर घर पठाइएको उनले रातोपाटीलाई बताए । मंगलबार पुनः ६ जनालाई अस्पताल ल्याइएको थियो । सुरुमा सामान्य ठानिए पनि बिरामीको संख्या बढ्दै जान थालेपछि अहिले अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ । बिरामीमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
आइतबार तीना बालबालिकालाई अस्पताल पु¥याइएको थियो । ‘हामीले औषधि दिएर पठायौँ,’ थापाले भने, ‘एउटा बालकलाई सञ्चो नभएर पुनः अस्पताल ल्याइयो, मैले के खाना खानु भएको हो भन्दा पाडोको मासु खाएको भन्नुभयो ।’
सुरुमा स्वास्थ्यकर्मीहरुले चिल्लो खाएकाले बिरामी भएको आकलन गरे पनि पछि एकपछि अर्को गर्दै बस्ती नै प्रभावित भएको उनले बताए ।
उनीहरुले मासु खाएको पाडो बिरामी रहेको बुझिएको थापाले बताए । ‘डेढ दुई वर्षको पाडो रहेछ, बिरामी भएकाले नै मान्छेमा पनि समस्या देखिएको हो,’ थापा भन्छन्, ‘गाउँमा पुरुष खासै छैनन्, महिला, बालबालिका र वृद्धवृद्धाहरु मात्रै छन् ।’
स्वास्थ्यकर्मीहरुले खाने कुरा र पिउने पानी स्वच्छ, सफा प्रयोग गर्न र बिरामी पशु चौपायाको मासु नखान अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण