आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

एमालेका ६ समस्या, शुद्धीकरणका लागि सुरु गर्‍यो बहस

मङ्गलबार, ०८ फागुन २०८०, १८ : १२
मङ्गलबार, ०८ फागुन २०८०

काठमाडौँ । नेकपा एमालेले पार्टीभित्र अहिले व्यवहारिक हिसाबले नै विभिन्न ६ वटा समस्या देखा परेको औँल्याएको छ ।  मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पेस गरिएको पार्टी शुद्धीकरणसम्बन्धी प्रतिवेदनमा पार्टीमा विभिन्न ६ समस्या देखिएको भन्दै त्यसलाई व्यवहारिक हिसाबले नै हल गरिनुपर्ने प्रस्ताव गरिएको छ । 

जसअनुसार वैचारिक स्पष्टता, बुझाइ र गराइमा एकरुपताको समस्या देखिएको एमालेको प्रतिवेदनमा उल्लेख छ । यस्तै पार्टी कमिटीहरुलाई विधिसम्मत सञ्चालन गर्नुपर्ने समस्या रहेको तथा पार्टी सदस्यता वितरण  गर्ने, विस्तार र गुणस्तरमा वृद्धि गर्ने कुरामा पनि समस्या रहेको औँल्याइएको छ । 

यसैगरी पार्टी प्रवेश गराउने कुरालाई व्यवस्थित गरिनुपर्ने, पारदर्शिता, असल आचरण, स्वच्छता र जनशैलीको विकाससम्बन्धीमा पनि व्यवहारिक हिसाबले हल गरिनुपर्नेमा जोड दिइएको छ । यस्तै जनसम्पर्क तथा जनसम्बन्धलाई विस्तार गर्ने कुरामा पनि समस्या रहेकाले यसको पनि व्यवहारिक हल खोजिनुपर्नेमा जोड दिइएको छ । 

यसबाहेक प्रतिवेदन समस्याहरुको प्राथमिकताका आधारमा छलफल गरिनुपर्नेमा जोड दिइएको छ । जसअनुसार कमिटी प्रणालीलाई कसरी मजबुत बनाउने, सदस्यता वितरण तथा नवीकरणलाई कसरी व्यवस्थित बनाउने तथा जनसम्बन्धलाई विकास र विस्तार कसरी गर्ने भन्ने विषयमा सुझाव माग गरिएको छ  । यस्तै पार्टी प्रवेशलाई पनि व्यवस्थित बनाउँदै अभिलेखबद्ध बनाउनुपर्ने प्रस्तावसहित पारदर्शी जीवनशैली अवलम्बनबारे सुझाव माग गरिएको छ । 

उल्लेखित समस्याका साथै समग्र पार्टीलाई शुद्धीकरण सुदृढीकरणका लागि केन्द्रीय समितिबाट एमालेले छलफल तथा बहस चलाउने छ । विचारमा स्पष्टता, सुदृढ संगठन, कम्युनिस्ट आचरण र प्रभावकारी जनशैलीको आवश्यकता खट्कँदो रहेको भन्दै एमालेले पार्टीमा समस्या कहाँ रहेका छन् रु सच्याउनुपर्ने र सुधार गर्नुपर्ने विषयहरू के के हुन् रु पार्टीको प्रभावकारिताका लागि के के गरिनुपर्छ रु भन्नेबारे छलफल केन्द्रीय समितिबाट छलफल चलाउन लागेको हो। 

बैठकमा पेस भएको सांगठित प्रतिवेदनको एक अंशमा भनिएको छ,‘पार्टीमा देखापरिरहेका समस्याहरूलाई चिन्हित गर्ने र समाधान गर्ने सम्बन्धमा सिंगो नेतृत्वपंक्ति यी विषयमा एक ठाउँमा उभिनुपर्ने र एउटै आवाजमा बोल्नुपर्ने आवश्यकता छ । यतिबेला पार्टीलाई शुद्धीकरण र सुदृढीकरणको आवश्यकता छ । त्यसका लागि केन्द्रीय कमिटीको यो बैठकमा हामी छलफल गर्न गइरहेका छौँ । यसमा यहाँ उपस्थित हुनुहुने सबै केन्द्रीय कमिटीका सदस्य कमरेडहरूले खुलस्त रूपमा छलफल गर्नुहुनेछ ।’ 

छलफलको उद्देश्य समस्याहरूलाई चिन्हित गर्नु र समाधानको प्रस्ताव पनि भएको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बैठकमा पेस गरेको प्रस्तावमा भनिएको छ । बैठकमा प्रस्तुतिपछि त्यसमा आधारित शुद्धीकरण/सुदृढीकरणका लागि स्थायी कमिटी वा सचिवालयले ठोस योजना प्रस्तुत गर्ने पोखरेलको भनाइ  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप