शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

बंगलादेशसँगको विद्युत् बिक्री वार्ता सकारात्मक, यसै वर्षदेखि निर्यात गर्ने गरी सम्झौता हुने

बिहीबार, १० फागुन २०८०, २० : १३
बिहीबार, १० फागुन २०८०

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बिचको विद्युत् बिक्री वार्ता सकारात्मक रुपमा अगाडि बढेको छ । 

आगामी वर्षायामदेखि बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी दुई देशबिच जतिसक्दो छिट्टो विद्युत् बिक्री सम्झौता गर्ने सहमति भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र  बिपिडिबीअन्तर्गतको बोलपत्र (बिड) मूल्याङ्कन समितिबिच बिहीबार बंगलादेशको ढाकामा वार्ता भएको थियो । 

विद्युत् बिक्री सम्झौतामा राखिने हरेक बुँदाहरुका विस्तृत रुपमा छलफल भएको र यसलाई अन्तिम रुप दिएर छिट्टै सम्झौता गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 

‘बिपिडिबीले त्यहाँको नियमन कानुनबमोजिम हामीसँग माग गरेअनुसार विद्युत् बिक्रीको परिणामसहितको बोलपत्र पेस गरेका थियौँ, हामीले पेस गरेको प्रस्ताव र सम्झौतामा राखिने बुँदाहरुमा  विस्तृत रुपमा छलफल गर्‍यौँ’, घिसिङले भने, ‘उहाँहरुले पनि माथिल्लो निकायबाट स्वीकृति लिनु पर्ने रहेछ, स्वीकृतिलगायतका प्रक्रिया जति सक्दो छिट्टो सम्पन्न गरेर आगामी वर्षायामबाटै नेपालबाट विद्युत् खरिद गर्ने गरी सम्झौता गर्ने सहमति जुटेको छ ।’

प्राधिकरणले हरेक वर्ष १५ जुनदेखि–१५ नोभेम्बरसम्म वर्षायामका ६ महिनामा ४० मेगावाटसम्म विद्युत् निर्यातका लागि बंगलादेशसमक्ष प्रस्ताव पठाएको छ । विद्युत् बिक्री सम्झौता पाँच वर्षको गर्न लागिएको छ । नेपालले ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरमपुर–भेरामारा प्रसारण लाइनबाट विद्युत् निर्यात गर्ने गरी सम्झौता हुने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप