आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

महिलाका लागि पत्रकारिता

शुक्रबार, ११ फागुन २०८०, १५ : ०१
शुक्रबार, ११ फागुन २०८०

कुरा २०७६ असार ९ गतेको हो, म रिपोर्टिङका लागि घरबाट अलि टाढाको बजार जाँदै थिएँ । आफ्नो सवारीसाधन नभएकाले काम सकेर सोही दिन फर्कने अवस्था थिएन, त्यस रात मैले त्यहीँ बास बस्नुपथ्र्यो । बाबाआमालाई यही जानकारी गराएर म घरबाट निस्कँदै थिएँ । एउटी छिमेकी आमाले मेरा बाबाआमालाई भनिन्, ‘होइन हो, तिम्रो छोरी के साह्रो उत्ताउली भएकी ! छोरी मान्छे भएर एक्लै बजार गएर त्यहीँ बस्छु भनेकी छ त ! यस्तो काम (पत्रकारिता) छोरीलाई राम्रो हो जस्तो मलाई त लागेन ।’ 

ती छिमेकी आमाले समाज हेरी मेरो चिन्ता गरेकी थिइन् । समाजमा छोरी मान्छेहरू सुरक्षित छैनन्, पुरुषहरूबाट महिलाहरू आफैँ जोगिनुपर्छ, पुरुषले जे गर्न पनि सक्छन्, (मानौँ उनीहरूलाई जे गर्न पनि छुट छ) । एक्लै हिँड्ने महिलाकै चरित्रमा विश्वास गर्न सकिँदैन— यस्तैतिर उनको संकेत थियो होला । महिलाहरू सधैँ चुलो–चौघेरोभित्र सीमित हुँदै आएको समाजमा यस्ता सोच र चिन्तन स्थापित हुनु स्वाभाविकैै हो । सवाल यो छ, महिलाहरूले समाज वा संसारका पुरुषबाटै असुरक्षित महसुस गर्ने कहिलेसम्म ? सर्वप्रथम त महिलाहरू पुरुषजस्तै स्वतन्त्र र ढुक्क भएर हिँड्न सक्ने वातावरण तयार हुनुपर्‍यो । यसका लागि पत्रकारिताबाट के गर्न सकिएला, आजकाल ममा यस्तै चिन्तन आउन थालेका छन् ।   

मेरो जन्म सुदूरपश्चिमको बझाङ जिल्लाको छविस पाथिभेरामा भएको हो । एसईई परीक्षा दिएपछि २०७४ सालमा म धनगढी आएँ । २०७६ सालमा कक्षा १२ पास गरेपछि म पत्रकारितामा लागेँ । पत्रकारितामा लाग्दै गर्दा मैले विभिन्न खालका समस्या, दुःखहरू भोग्दै र झेल्दै आएकी छु । पत्रकारको हैसियतले मैले रेडियो सुदूर सन्देश, रेडियो साईपाल, रेडियो डेलिमेल लगायत विभिन्न रेडियोमा रेडियो कार्यक्रम सञ्चालन गरेँ, रेडियो पत्रकारिताको अनुभव सँगालेँ । जातीय विभेद, पत्रकारिता शिक्षा र मिडिया उद्योगमा समानता, विविधता र समावेशीकरणमा केन्द्रित भएर अहिले अनलाइन मिडियामा काम गर्दै आएकी छु ।

म पत्रकार हुँ, यसमा मलाई गर्व छ, तर हामी पत्रकार महिलाप्रति समाजले सम्पूर्ण रूपमा गर्व गर्ने कहिले होला ? राति अबेरसम्म काम गरेर एक्लै घर फर्कने वातावरण पक्कै छैन । बलात्कार, हत्या र हिंसाजस्ता समाचार नआएको कुनै दिन छैन होला । त्यसमाथि अफिसको हाकिमको नियत खराब छ भने झनै गाह्रो हुन्छ महिला पत्रकारहरूलाई, बढ्दो आपराधिक क्रियाकलापले पनि महिला पत्रकारहरूका लागि खतराको घन्टी बजाएकै हुन्छन् ।

पत्रकारिता पेसा हेर्दा जति आकर्षक, सजिलो र रमाइलो देखिन्छ, त्यति नै अप्ठेरो छ । अन्य पेसाजस्तो यसमा निश्चित समय तोकिएको हुँदैन । पत्रकारितामा लाग्नेका लागि साप्ताहिक बिदा र काम गर्ने निश्चित अवधि तोकिए पनि समाचार दिनुपर्ने दायित्वका कारण २४सै घन्टाजस्तो सजग रहनुपर्छ । जुनसुकै समय कुनै राजनीतिक, सामाजिक वा विपतका घटना हुन सक्छन्, पत्रकारले सर्वसाधारणलाई सुसूचित गर्नैपर्‍यो । आफ्नो स्वास्थ्य, चाडपर्व, पारिवारिक भेटघाट, मेला महोत्सवभन्दा पनि सूचना दिनुपर्ने जिम्मेवारी पत्रकारका लागि महत्त्वपूर्ण हुन्छ । त्यसैले पनि महिलाका लागि पत्रकारिता पेसा अन्य पेसाभन्दा बढी चुनौतीपूर्ण र कठिन छ । घर–परिवारप्रतिको जिम्मेवारी, कामबाट पाइने पारिश्रमिक, हिँडडुल गर्ने पेसा भएकाले समाजले हेर्ने दृष्टिकोण आदि कारण पत्रकारिता पेसालाई निरन्तरता दिन महिलाका लागि चुनौतीपूर्ण छ । त्यसैले होला, देशभर पुरुष पत्रकारको तुलनामा महिला पत्रकारको सङ्ख्या न्यून छ, यद्यपि जति पत्रकार महिला छन्, उनीहरू साहसी छन्, निडर छन्, रमेका पनि छन्, जमेका पनि छन् । पुरुष पत्रकारभन्दा कुनै कुरामा पनि कमजोर छैनन् । पेसागत असुरक्षा, आर्थिक, भौतिक, सामाजिक, घरायसी समस्याका कारण थोरै महिलाले मात्र यो पेसालाई निरन्तरता दिन सकेका छन् । थोरैमा पनि रेडियोहरूमा काम गर्ने बढी छन् । जति रेडियोमा छन्, त्यति अनलाइन, छापाखाना र टिभीहरूमा छैनन् । सुरुसुरुमा पत्रकारितामा आकर्षित भए पनि पछि–पछि विभिन्न समस्याले गर्दा पत्रकार महिलाहरू पत्रकारिताबाटै पलायन भएका छन् । म भने विभिन्न खालका समस्या, विभिन्न धम्कीहरू झेल्दै भए पनि पुरुष पत्रकारहरूका बिच यसै पत्रकारिता पेसालाई निरन्तरता दिँदै आइरहेकी छु । 

समाचार लेखनमा महिला–पुरुष भन्ने हुँदैन । कामका हिसाबले कुनै पनि सञ्चारगृहले ‘तिमी महिला हौ, यति मात्रै काम गर’ भन्दैन । कामको सवालमा रेडियो, पत्रिका, अनलाइन र टेलिभिजन जहाँ जे काम गरे पनि महिला भनेर कुनै छुट छैन । महिलाले पनि पुरुषसरह समय दिनुपर्ने र मिहिनेत गर्नुपर्ने हुन्छ । एउटै घटना वा सन्दर्भको रिपोर्टिङ गर्दा महिला र पुरुषले फरक लेख्ने होइन । हो, एङ्गल फरक हुन सक्छ । घटना क्रमलाई, घटना अघि र पछिको परिस्थितिलाई, वस्तुस्थितिलाई हेर्ने र केलाउने सोच फरक हुन सक्छ ।

अझ अफिसको काम साथसाथै घरायसी जिम्मेवारी समेत हुन्छ पत्रकार महिलालाई, तर समाजको दृष्टिकोणमा भने महिला र पुरुष पत्रकारलाई बराबर रुपमा हेरिँदैन । महिला पत्रकारले अनेक सामाजिक लाञ्छना सहनुपर्छ । पुरुष पत्रकारको भीडमा एकाध महिला पत्रकारको सहभागितालाई समाजले पचाउन वा स्वीकार गर्न सक्दैन । यसैले महिलालाई पत्रकारिता पेसामा टिक्न धेरै कठिन छ ।

हिम्मत गरेर फिल्ड रिपोर्टिङमा जाँदा पनि सुरु–सुरुमा पुरुष पत्रकारहरूसँग बोल्न, सँगै हिँड्न निकै गाह्रो महसुस हुन्छ । आफूलाई भएको समस्या पुरुष पत्रकारलाई भन्न लाज लाग्छ । पछि बिस्तारै काम गर्दै जाँदा पुरुष पत्रकारहरूसँग कसरी सहकार्य गर्ने भन्ने कुरा थाहा हुँदै जान्छ । 

यातायातका सुविधा नभएका दुर्गम भेगहरूमा पुगेर काम गर्न सोचेजस्तो र देखे जस्तो सजिलो हुँदैन । भीरको बाटो, टाढाको बस्ती र खान–बस्नको व्यवस्था नहँुदा महिला पत्रकारलाई एक्लै रिपोर्टिङमा जाने अवस्था छैन । फिल्डमा जाँदा अर्को महिला साथी नभए आफू चाहना र योजनाअनुरूप ढुक्कले रिपोर्टिङ गर्ने परिस्थिति बन्दैन । यद्यपि मैले चाउचाउ–बिस्कुट खाएर लामो बाटो रिपोर्टिङ हिँडेकी छु । परिस्थिति जस्तोसुकै होस्, बास बस्नुपर्ने होस् या दिनहँु लगाएर हिँड्नुपर्ने होस्, पुरुष पत्रकारले जसरी महिला पत्रकारहरू ढुक्कले हिँड्ने परिस्थिति बन्नुपर्छ । यसका लागि हाम्रो समाजकै सोच बदल्न जरुरी देखिन्छ । 

महिलाहरूले समाज वा संसारका पुरुषबाटै असुरक्षित महसुस गर्ने कहिलेसम्म ? सर्वप्रथम त महिलाहरू पुरुषजस्तै स्वतन्त्र र ढुक्क भएर हिँड्न सक्ने वातावरण तयार हुनुपर्‍यो । यसका लागि पत्रकारिताबाट के गर्न सकिएला, आजकाल ममा यस्तै चिन्तन आउन थालेका छन् ।

समाज परिवर्तनको अभियानमा लागेका पत्रकार महिलालाई आउने चुनौती सामना गर्न समाज र परिवारको साथ–सहयोग दुवै जरुरी छ । सकारात्मक सोच र परिवारको साथ भयो भने पत्रकार महिलाहरू पनि पुरुष पत्रकारहरूभन्दा कम हुँदैनन् । अर्कोतिर पुरुष पत्रकारसरह महिला पत्रकारले पनि श्रम र पेसागत सम्मान पाउनुपर्नेछ । 

लैङ्गिक समानताका कुरा अझैसम्म कागजमा सीमित छन् । अपवादबाहेक खुलेर काम गर्ने वातावरण बनिसकेको छैन । समाचार लेखेकै भरमा पत्रकारलाई ज्यान मार्नेसम्मको धम्की दिन्छन् । भन्छन्– तँ महिला होस् तँलाई दुई मिनेटमै गायब गरिदिन्छु । के यस्ता धम्कीले हामीले अब पत्रकारिता नै छाड्नुपर्ने हो ? नाम म अहिले कसैको पनि लिन्नँ तर यस्ता धम्कीपूर्ण व्यवहारले गर्दा पत्रकारिता नै छाडिदिऊँजस्तो मलाई धेरैपटक लागेको थियो । यो मेरो मात्रै समस्या होइन सायद, नेपालका धेरै पत्रकार दिदी–बहिनीको पनि समस्या होला । 

नेपालको सञ्चार क्षेत्रमा महिला सहभागिताको विगत त्यति पुरानो होइन । आजसम्म आइपुग्दा पत्रकारितामा महिलाको सहभागिता बढ्दै गएको छ । यद्यपि सन्तोषजनक उपस्थिति मान्न सकिँदैन । समाचार लेख्दा धम्की, कार्यकक्षमा गलत नियत भएका हाकिमको दुर्व्यवहार जस्ता कुराले गर्दा होला, नेपालमा पत्रकार महिलाको सहभागिता न्यून छ । नेपालमा व्यावसायिक पत्रकारिता फस्टाउन नसक्दा महिला सहभागिता कम भएको हो कि ?

विभिन्न मिडियामा महिलाका सकारात्मकभन्दा नकारात्मक समाचार नै बढी आएको देखिन्छ । महिलाको ज्ञान, क्षमता र प्रतिभालाई भन्दा रुप वा चरित्रलाई महत्त्व दिइएका प्रसंग मिडियामा बढी आइरहेका छन् । यसमा हामीले सोच्नुपर्ने बेला आएको छ । 

अर्कोतिर धेरै पत्रकार महिलाले समाचार कक्षमा आफूलाई पुरुषसरह समान व्यवहार नगरिएको गुनासो सुनाउँछन् । अर्थात् पुरुषसरह समान प्रकारको पदोन्नति नभएको कतिपय पत्रकार महिलाले महसुस गरेका छन् । बैठकहरूमा उनीहरूको कुरा सुनुवाई हुँदैन भन्ने पनि गुनासो छ । यी विषयमा छलफल हुन र सम्बन्धित निकायको ध्यान जान आवश्यका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निर्मला कडायत
निर्मला कडायत
लेखकबाट थप