बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
एमाले अधिवेशन

नेकपा एमाले कैलालीकाे अध्यक्षमा ढुङ्गाना र सचिवमा चौधरी विजयी, अन्य पदमा को-को आए ?

शनिबार, १२ फागुन २०८०, ०८ : १५
शनिबार, १२ फागुन २०८०

धनगढी । कैलालीको सुखडमा जारी नेकपा एमाले कैलालीको अधिवेशनबाट अध्यक्षमा यज्ञराज ढुङ्गाना विजयी भएका छन् । एमालेको पूर्व प्रदेश सचिवालय सदस्य समेत रहेका ढुङ्गाना आफ्नो निकटतम प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । ढुङ्गानाले २८७ मत प्राप्त गर्दा पाण्डे २१८ मतमा सीमित भए ।

अध्यक्षका तेस्रो प्रतिद्वन्द्वी दुर्गाप्रसाद जोशीले ६३ मत पाए । उनी एमाले कैलालीका कार्यवाहक अध्यक्ष थिए । अध्यक्षका लागि तीनै जना प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए ।

निर्वाचन कमिटीले सार्वजनिक गरेको मतपरिणाम अनुसार उपाध्यक्षमा पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही ५ मतको मतान्तरले विजयी भएका छन् । उनी १९३ मत पाउँदा उनको निकटतम प्रतिद्वन्द्वी दलबहादुर विष्टले १८८ मतमा चित्त बुझाए ।

उपाध्यक्षका अर्का उम्मेदवार विष्णु चौधरीले १०६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याएका छन् ।

त्यस्तै, सचिवमा भने पाण्डे प्यानलका ममताप्रसाद चौधरी विजयी भएका छन् । चौधरीले २४३ ल्याउँदा उनका प्रतिद्वन्द्वी ढुङ्गाना प्यानलका विष्णुकुमार चन्दले १६८ मत ल्याए । सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले १४७ मत प्राप्त गरेका छन् । 

उपसचिव (खुला) मा भने ढुङ्गाना प्यानलका चूडामणि भट्ट विजयी भएका छन् । भट्ट २५१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भुवन रिजालले १२३ मत पाए । यस्तै अर्का उम्मेदवार नृप खड्काले ९५ र राजु गुरुङले ७१ मत पाएका छन् ।

उपसचिव (महिला) मा गंगाकुमारी चौधरी १९६ मतसहित विजयी भएकी छन् । उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले १६१, रत्ना कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत पाएकी छन् ।

शुक्रबार भएको मतदानमा कुल ५९१ प्रतिनिधि रहेकोमा ५७७ मत खसेको थियो ।

गए रातिदेखि पदाधिकारीको मतगणना गरिएको थियो भने सदस्यको मतपरिणाम आउन बाँकी रहेको निर्वाचन कमिटीले जनाएको छ । अधिवेशन फागुन ६ गते उद्घाटन भएको थियो । जिल्ला अधिवेशन हुँदै गर्दा तीनै समूह आ आफ्नो गुटसहित सक्रिय देखिएका थिए ।

अध्यक्षका आकाङ्क्षी दुर्गाप्रसाद जोशीलाई केन्द्रीय सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्टले साथ दिएका थिए । भने डेजी पाण्डेलाई स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र नारायणमुनि रानाको साथ रहेको थियो । हाल अध्यक्षमा विजयी भएका यज्ञराज ढुङ्गानालाई सुदूरपश्चिमका पूर्व प्रदेश अध्यक्ष दामोदर भण्डारीको साथ रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप