शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
बच्चा चोरी प्रकरण

मनकुमारीले किन चोरिन् २६ दिने बालिका ?

एसएसपी भन्छन्, ‘बच्चाको मायाले अक्षम्य अपराध’
सोमबार, १४ फागुन २०८०, १७ : ४३
सोमबार, १४ फागुन २०८०

काठमाडौँ । थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट फागुन ११ मा मनकुमारी सिंहले बच्चा चोरी गरिन् । दैलेखको नौमुले घर भएकी २४ वर्षीया मनकुमारी र उनका पति २८ वर्षका नरेन्द्र मल्ल त्यस दिन सँगै प्रसूति तथा स्त्रीरोग अस्पतालमा गएका हुन् । तर, नरेन्द्रले पनि पत्नीले बच्चा चोरेको घटना डेरामा प्रहरीले ढोका ढकढक्याएपछि मात्र थाहा पाए ।

मनकुमारीले काभ्रेको चौरी देउराली गाउँपालिका–३ घर भएर कपन बस्ने सबिना श्रेष्ठबाट जन्मिएकी २६ दिने बालिका चोरेकी हुन् । उनी विरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक कसुरमा अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार नेपाली सेनाका कार्यरत नरेन्द्रको हेटौँडामा दरबन्दी छ । बिदामा काठमाडौँ आएका नरेन्द्रलाई पत्नीले आफू गर्भवती भएको र चेकजाँच गर्न जानुपर्ने भन्दै प्रसूति गृहमा जान आग्रह गरिन् । काँडाघारी बस्ने उनीहरू सार्वजनिक गाडीमा माइतीघरमा ओर्लिए अनि, हिँड्दै प्रसूति गृहमा पुगे । प्रहरीका अनुसार मनकुमारीले भनिन्, ‘तपाई बाहिरै बस्नुस् म चेक गराएर आउँछु ।’

नरेन्द्र बाहिर पर्खिए । मनकुमारीले आफ्नो मोबाइल नरेन्द्रलाई राख्न दिइन् । पत्नी जाँच गरेर फर्किएपछि सँगै डेरा फर्किन भनेर कुरेका मल्लको मोबाइलमा शारदा शाहीको नम्बरबाट फोन आयो, ‘तपाई कता बस्नुभएको थियो, मैले छोरी पाएर डेरामा ल्याएँ छिटो आउनुस् ।’ मनकुमारीकी दिदी हुन् शारदा । उनीहरू काँडाघारीमा एउटै घरमा बस्छन् ।

त्यसपछि नरेन्द्र काँडाघारीतिर हानिए । त्यसैदिन राति करिब पौने १२ बजेतिर सादा पोसाकका प्रहरी डेरामा पुगेपछि नरेन्द्रले ‘बच्चा चोरीको कथा’ थाहा पाएका हुन् ।

छोरीलाई चेकजाँच गराउन प्रसूति गृहमा गएकी सविना बच्चा लिएर जँचाउने पालो कुर्दै थिइन् । सबिनाको हातमा फोहोर देखेपछि मनकुमारीले भनिन्, ‘तपाई फोहोर फालेर आउनुस् बच्चा म लिइदिन्छु ।’ सविना फोहोर फालेर फर्किँदा मनकुमारी बच्चा लिएर हिँडेकी थिइन् । वनस्पति विभागतर्फको गेटबाट निस्केर ट्याक्सीमा उनी काँडाघारी पुगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

किन चोरिन् बच्चा ?

विवाह भएको लामो समय भए पनि मनकुमारीको बच्चा भएको थिएन । यसअघि ३ पटकसम्म बच्चा खेर गएपछि उनी बच्चा चोर्ने निष्कर्षमा पुगेको उनले प्रहरीलाई बताएकी छन् । बच्चा नभएपछि उनी धेरै पटक माताकोमा पनि धाइन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘माताले बच्चा कतैबाट ल्याइदिने आश्वासन दिएपछि उनले १ लाख २० हजार बुझाएको देखिन्छ ।’

बच्चाप्रतिको ‘आकर्षण’को कारण उनले बच्चा चोरी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बच्चाप्रतिको ‘मायाको कारण’ मनकुमारीले बच्चा चोरेको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले रातोपाटीलाई बताए । प्रहरी वरिष्ठ उपरीक्षक खत्री भन्छन्, ‘बच्चा प्रतिको मायाको कारण अक्षम्य अपराध गरेको देखिन्छ ।’

पक्राउ गरेपछि ‘बच्चा किन चोरेको ?’ भनेर अनुसन्धान अधिकृतहरूले मनकुमारीलाई प्रश्न गरेका छन् । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार त्यसबारे उनले भनेकी छन्, ‘त्यहाँ मैले केही सोच्नै सकिनँ अनि, बेहेसीमै बच्चा लिएर हिँडेछु ।’

मनकुमारी र नरेन्द्र ३ वर्षअघि विवाह बन्धनका बाँधिएका हुन् । बच्चा चोर्ने पूर्व योजना अनुसार नै मनकुमारीले परिवार र आफन्तलाई आफू गर्भवती भएको बताएकी थिइन् । पत्नीले छोरी पाएको भन्दै नरेन्द्रले पनि दैलेखमा बुवालाई फोन गरेर खुसी साटेका थिए । तर, उनीहरूको खुसै धेरै समय टिक्न पाएन ।

घरमा प्रहरी पुग्दा मनकुमारी बच्चा चोर्दाको कपडा परिवर्तन नगरेर म्याक्सी लगाएर बसेकी थिइन् । सुरुमा आफैँले जन्माएको जिकिर गरेकी मनकुमारीले हुलिया अनुसारको कपडा डेरामा फेला परेपछि भनिन्, ‘बच्चा जङ्गलमा भेटेर ल्याएकी हुँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप