सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
संसद भवनमा आन्दोलनकारी

गृहमन्त्रीलाई सुरक्षा प्रमुखहरूको ब्रिफिङ- ‘महिलाको जम्बो टोली अप्रत्याशित रूपमा संसद् भवनमा पुग्यो’

सोमबार, १४ फागुन २०८०, २१ : ३८
सोमबार, १४ फागुन २०८०

काठमाडौँ । लघुवित्तका ऋणीहरू निषेधित क्षेत्र तोडेर संसद् भवनमा प्रवेश गरेको बारेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रमुखहरूसँग छलफल गरेका छन् । गृह मन्त्रालयमा श्रेष्ठले आकस्मिक तीन वटै सुरक्षा निकायका प्रमुख र उपत्यकामा शान्ति सुरक्षा कायम गर्न खटिएका जिम्मेवार अधिकारीहरूसँग छलफल गरेका हुन् ।

सुरक्षा प्रमुखहरूले सोमबार संसद् चलिरहँदा ‘आकस्मिक रूपमा महिलाको जम्बो टिम संसद् भवनमा पुगेको’ ब्रिफिङ गरेका छन् । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘संसद् भवनमा यस्तो घटना किन भयो ?’ भनेर सुरक्षा प्रमुखहरूलाई प्रश्न गरेका छन् ।

छलफलमा नेपाल प्रहरीका आईजीपी वसन्त कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापा र काठमाडौँका प्रजिअ जितेन्द्र बस्नेत सहभागी थिए ।

सुरक्षा प्रमुखहरूले ४८ जना महिलाको टिम एकै पटक प्रवेश गरेपछि सङ्घीय संसद्को नम्बर–२ गेटमा सुरक्षार्थ खटिएका प्रहरीले रोक्न नसकेको ‘ब्रिफिङ’ गरेका छन् । गौशालास्थित सिफलमा बसिरहेका लघुवित्त संस्था विरुद्धको सङ्घर्ष समितिले आफ्नो औपचारिक कार्यक्रम नभएको बताएपछि जिल्ला प्रहरी परिसर काठमाडौँले सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेको थिएन । तर, सिफल तथा अन्यत्र होटलमा बसेका आन्दोलनकारीहरू अचानक आएपछि स्थिति नियन्त्रण बाहिर गएको विश्लेषण गरिएको छ ।

प्रहरीले १ जना पुरुष र ४८ जना महिलालाई पक्राउ गरेको छ । ‘पहिले बसेको ठाउँ सिफलबाट वनकालीमा सर्नुपर्ने भनेर आन्दोलनकारीहरूले कार्यक्रम छैन भनेका थिए’ गृह मन्त्रालयका एक जना उच्च अधिकृत भन्छन्–‘महिलाहरू अप्रत्याशित आए, गेटमा दुई जना पुरुष प्रहरी मात्रै हुँदा थेग्न सकेनन् ।’

बैठकमा सुरक्षा प्रमुखहरूले संसद् भवनमा भएको घटनामा कमजोरी भएको ‘महसुस’ गरेको छलफलमा सहभागी एक अधिकृत बताउँछन् । लघुवित्तका ऋणबाट पीडित महिला भनेर ‘सहँदा’ अप्रत्याशित घटना भएको विश्लेषण गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले सङ्घीय संसद् भवनको बाहिरी घेरामा खटिएका दुई दर्जन बढी सुरक्षाकर्मीलाई फिर्ता गर्ने निर्णय गरेको छ । सुरक्षाका लागि त्यहाँ नयाँ टिम पठाएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए । घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरेको छ । मन्त्री श्रेष्ठले आगामी दिनमा ‘यस्ता गल्ती नगर्न’ निर्देशन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप