सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकै महँगो सेयर, एक कित्ताकै मूल्य साढे ८ करोड !

मङ्गलबार, १५ फागुन २०८०, १४ : ०१
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । सेयरमा लगानीलाई केहीले जुवासँग पनि तुलना गर्छन् । तर सेयरमा लगानी गरेरै मालामाल हुनेहरू उल्लेख्य छन् । 

सेयरको भाउ बढी नै आकासियो भने लगानीकर्ताहरूले त्यस्ता कम्पनीको सेयरमा लगानी गर्न कम गरिदिन्छन् । क्रेतालाई सेयर किन्न सहज होस् भनेर विश्व बजारमा सेयर मूल्य उच्च बिन्दुमा पुगेपछि कम्पनीहरूले सेयर टुक्र्याउने अर्थात् स्टक स्पिलिट गरिदिने चलनसमेत छ ।

तर केही यस्ता कम्पनी पनि छन् जसको मूल्य सुन्दै हामी जिब्रो टोक्छौँ । उच्च सेयर मूल्यले पनि यी कम्पनीलाई कुनै असर परेको छैन । जुन कम्पनीको एक कित्ता सेयर मात्रैले पनि व्यक्तिलाई लखपति/करोडपति बनाइदिन्छ ।

बर्कशायर ह्याथवे

यो विश्वको सबैभन्दा महँगो सेयर हो । कम्पनीको सेयर यति महँगो भयो कि कम्पनीले सेयर बजारमा तुलनात्मक रूपमा सस्ता सेयर नै लन्च गर्नुपर्‍यो । सेयर बजारमा बर्कशायरको २ थरी सेयर छन् । ओरिजिनल सेयर बर्कशायर सिरिज–१ हो । यो सेयरको एक कित्ताकै मूल्य ६ लाख ४५ हजार डलर छ । नेपाली रुपैयाँमा भन्दा एक कित्ताको मूल्य ८ करोड ५७ लाख ३९ हजारभन्दा बढी हुन आउँछ ।

चोकोलादेफेब्रिकेन लिंट एन्ड स्प्रंगली एजी

विश्वको दोस्रो महँगो सेयर चोकोलादेफेब्रिकेन लिन्ट एन्ड स्प्रंगली एजीको छ । यो स्विटजरल्याण्डको चकलेट कम्पनी हो । यसको सेयर मूल्य प्रतिकित्ता १२ हजार २७१ डलर छ । नेपाली रुपैयाँमा रुपान्तरण गर्दा यो रकम प्रतिकित्ता १६ लाख ३१ हजार हाराहारी हुन आउँछ ।

एनभीआर

सूचीको तेस्रो स्थानमा घर बनाउने कम्पनी एनभीआर रहेको छ । यो कम्पनीले घर बनाउने, मार्केटिङ गर्ने र होम लोन दिने जस्ता काम गर्छ । यो कम्पनीको सेयर प्रतिकित्ता मूल्य ७ हजार ५६९ रहेको छ । यो भनेको करिब प्रतिकित्ता १० लाख ६ हजार नेपाली रुपैयाँ हो ।

बुकिङ होल्डिङ्स

ट्राभल रिजर्भेशन साइट बुकिङ डट कम र प्राइसलाइनको मालिक हो बुकिङ होल्डिङ्स । यी दुबै कम्पनी ट्राभल उद्योगका चर्चित कम्पनी हुन् । रेस्टुरेन्ट रिजर्भेसन कम्पनी ओपनटेबल पनि बुकिङ होल्डिङ्सकै सहायक कम्पनी हो । यो कम्पनीको एउटै सेयरको मूल्य ३ हजार ४९९ डलर (करिब ४ लाख ६५ हजार नेपाली रुपैयाँ) रहेको छ ।

सीबोर्ड

यो सुँगुरको मासु उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी हो । यो अमेरिकाको सबैभन्दा ठुलो कृषि सामाग्री उत्पादक कम्पनी हो । यसले मध्य र दक्षिण अमेरिकाका साथै क्यारिबियन देशमा ढुवानी सेवा पनि सञ्चालन गरिरहेको छ । यो कम्पनीको प्रतिकित्ता सेयर ३ हजार ४६५ डलर रहेको छ । यो रकमलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्दा प्रतिकित्ता ४ लाख ६० हजार रुपैयाँ हुन आउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप