शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
माओवादी बैठक

प्रचण्डले खगराजलाई अघि सार्दा माओवादीमा मतभेद

मङ्गलबार, १५ फागुन २०८०, १५ : १३
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी सदस्य समेत रहेका प्रदेश सांसद खगराज भट्टलाई मुख्यमन्त्री बनाउने गरी नेतृत्व परिवर्तन गर्ने भनेर गरेको प्रस्तावप्रति माओवादीमा ‘मतभेद’ देखिएको छ । मंगलबारको बैठकमा प्रचण्डको उक्त प्रस्तावप्रति नेताहरूबिच मतभेद देखिएपछि अर्को दिन निर्णय गर्ने भन्दै बैठक नै स्थगित हुन पुगेको हो । 

बैठकमा अध्यक्ष प्रचण्डले अहिले भएको निर्णयलाई यथावत राख्ने तर भट्टलाई आगामी दिनमा भने मुख्यमन्त्रीसमेत बनाउने गरी कांग्रेससँग छलफल गर्ने भनेर प्रस्ताव गरेका थिए । प्रचण्डको उक्त प्रस्तावप्रति नेताहरू चक्रपाणि खनाल, जनार्दन शर्मा र देवेन्द्र पौडेल लगायतले असहमति जनाए । खनाल, शर्मा र पौडेलले गलत ढंगले नेतृत्व परिवर्तन गर्न जायज नहुने धारणा राखेका थिए । ‘पार्टी विधि र पद्धतिअनुसार चल्नुपर्छ । खगराजलाई ह्युमिलेट हुनेगरी निर्णय गरिनु हुँदैन,’ असहमति जनाउने नेताहरूले बैठकमा भनेका थिए ।

सोही क्रममा नेता भट्टले आफूले कुनै पनि जिम्मेवारी पाउने अवस्था नरहेको भन्दै भावुक हुँदै बिचमै बैठकबाट बाहिरिएका थिए । एक स्थायी कमिटी सदस्यका अनुसार प्रचण्डको प्रस्तावमा प्रभावशाली नेताहरूले रिजर्भेसन राखेपछि र भट्टपनि हिँडेपछि बुधबारको बैठकबाट आवश्यक   निर्णय गर्ने भनेर बैठक स्थगित गरिएको थियो ।

‘प्रचण्डको प्रस्तावप्रति नेताहरुबीच नै मतभेद देखियो’, ती नेताले भने,‘मतभेद देखिएपछि बैठक नै स्थगित भयो ।’ गत माघ १२ गते नेकपा माओवादी केन्द्रले खगराज भट्टलाई दलको नेताबाट हटाएर सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता परिवर्तन गरेको थियो । माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सांसद मानबहादुर धामीलाई नयाँ संसदीय दलको नेता चयन गरेको थियो । यो विवाद पार्टीको स्थायी समिति बैठकमा नै विधिवत रुपमा प्रवेश गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप