आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

संघीय संसद् सुन चोरहरुको बनेको छ : पूर्वसभामुख ढुंगाना

मङ्गलबार, १५ फागुन २०८०, २० : ०२
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाले संघीय संसद् सुन चोरहरुको संसद् बनेको बताएका छन् ।  

मंगलबार सभासद् मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पूर्वसभामुख ढुंगानाले वर्तमान संघीय संसद् सुन चोरहरुको बनेको बताएका हुन् । उनले संसद् ठेकेदार, फटाहा र स्पोन्सरहरुको बनिरहेको पनि बताए । उनले सबै भ्रष्टाचारीहरुलाई सांसद बनाउन गइरहेका भन्दै वर्तमान निर्वाचन प्रणाली नै फेर्नुपर्ने बताए । उनले अहिलेको निर्वाचन प्रणाली भ्रष्टाचारको द्वार भएको बताए । पार्टीले जनसेवी र प्रसिद्ध नेतालाई चुनावको टिकट नदिई पैसामा बेच्ने गरेका उनले बताए ।

उनले भने,‘खालि ठेकेदार, फटाहा र स्पोन्सरहरुको र अहिले सुन चोरीहरुको संसद् बन्न गइरहेको छ । त्यतातिर ध्यान जानुपर्छ कि पर्दैन ? सरकार र प्रधानमन्त्रीको ? जम्मै भ्रष्टाचारीहरुको सांसद बनाउन गइरहेका छौँ । अब पनि निर्वाचन पद्धतिमा सुधार नगर्ने हो भने । त्यसकारण यो संविधान खतरामा परिराखेको छ । हामीले एकातिर डेलिभर गर्न सकेनौँ ।’

पूर्वसभामुख ढुंगानाले संविधानको आधारभूत चरित्रमाथि प्रश्न उठिरहेको भन्दै मासले आन्दोलन गरेमा ०७२ सालको संविधान उल्टिन सक्ने बताए । उनले मास आन्दोलनका कारण ०४७ सालको संविधान उल्टिएको दृष्टान्त समेत दिए । उनले सरकारका मन्त्रीहरु भ्रष्टाचारमा मुछिँदासमेत प्रधानमन्त्रीले हटाउन नसकेको भन्दै सरकार सकसमा चलिरहेको बताए । उनले सरकारले अप्ठ्यारो फुकाउन सक्नुपर्ने बताए ।

पूर्वसभामुख ढुंगानाले सबै बिरोधीहरु गणतन्त्र विरोधी नभएको पनि बताए । उनले सबै विरोधीहरुलाई गणतन्त्र विरोधी भन्ने हो भने राजा महेन्द्रले आफूहरुलाई अराष्ट्रिय भनेजस्तै हुने बताए । उनले सबभन्दा पहिले जनताहरुले विरोध गर्ने परिस्थितिलाई रोक्नुपर्ने बताए । उनले संविधान कार्यान्वयन गर्न सरकारलाई परेको बाधाको बारेमा जनता समक्ष स्पष्ट पार्नुपर्ने बताए ।

पूर्वसभामुख ढुंगानाले संविधानको सुधार तथा परिमार्जन गरेर मुलुकलाई अस्थिरतामा जानबाट रोक्नुपर्ने बताए । उनले संविधान संशोधन नगरेमा मुलुक अस्थिरतामा जाने बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप