सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले विभिन्न क्षेत्रमा ५ वर्षको नीति लिएर काम गरिरहेको छ: मुख्यमन्त्री जम्कट्टेल

बुधबार, १६ फागुन २०८०, १६ : ४६
बुधबार, १६ फागुन २०८०

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नागरिकले महसुस गर्ने गरी सरकारले काम अघि बढाएको बताएका छन् । विकास, निर्माण, कृषि तथा उद्यमशीलता लगायतका क्षेत्रमा लगानी बढाउने उद्देश्य अनुसार सरकार ५ वर्षको नीति लिएर अघि बढेको उनको भनाइ छ ।

हेटौंडामा बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म र वडा प्रहरी कार्यालय सानोपोखरा हेटौँडाको नव निर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले स्रोतको सीमितताका कारण सबै क्षेत्र र भूगोललाई समेटेर काम गर्न नसकेको बताए ।

उनले संघीयता कार्यान्वयन पश्चात् महत्त्वपूर्ण कामको सुरुवातको रूपमा प्रहरी इकाई भवनहरू निर्माण गर्न बजेट विनियोजन गरेको बताए । प्रहरीको भवन निर्माणको काम संघीय शासन व्यवस्थाको एउटा उपलब्धिमूलक काम भएको उनको भनाइ छ ।

‘संघीयता कार्यान्वयनको सुरुवाती चरणमा प्रहरी इकाइहरूको भवन निर्माणका लागि प्रदेश सरकारले १ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरेको थियो । विविध चुनौति र कानुनी अड्चनका कारण सो बजेट कार्यान्वयन गर्न नसक्ने अवस्थामा पुगेको थियो । तर, निरन्तरको प्रयासले संघीय सरकारसँग सहमति लिएर सो काम अघि बढाइएको थियो,’ उनले भने ।

 

उनले बागमती प्रदेश विपद्को उच्च जोखिममा रहेको र त्यसको समाधानका लागि प्रहरीको विपद् गुल्मले महत्त्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरे । प्रदेश सरकारले विपद् न्यूनीकरणका लागि विपद् अग्रिम सूचना प्रणाली विकासमा काम गरिरहेको उनले बताए । प्रदेश सरकारले आफ्ना संरचनाहरू प्रविधिमैत्री बनाउनु उद्देश्य अनुसार नयाँ ढङ्गबाट काम सुरु गरिएको उनले बताए ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले जीर्ण अवस्थाको संरचनाबाट सेवा प्रवाह गर्नु पर्ने बाध्यता क्रमशः हल हुने चरणमा रहेको बताए । प्रदेश सरकार स्थापना पश्चात् प्रहरीको सेवा प्रवाहलाई स्तरीय बनाउन लगानी भइरहेको उनले बताए । उनका अनुसार अझै कतिपय इकाइहरू जीर्ण अवस्थामा रहेको र सो स्थानबाट प्रहरीले सेवा प्रवाह गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप