सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

दुग्ध उत्पादक किसानहरूको गुनासो तत्काल सम्बोधन गर्न सहकारी महासंघको माग

बिहीबार, १७ फागुन २०८०, १६ : ०९
बिहीबार, १७ फागुन २०८०

काठमाडौँ । आन्दोलनरत दुग्ध उत्पादन किसानहरूको गुनासो तत्काल सम्बोधन गर्न राष्ट्रिय सहकारी महासंघले सरकारसँग माग गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै महासंघले किसानहरूको बाँकी बक्यौता भुक्तानीसहित किसानहरूको जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेको हो ।

देशैभरका दुध कृषकहरूले भोग्दै आएको बढ्दो सङ्कटलाई मध्यनजर गर्दै केन्द्रीय दुग्ध सहकारी संघले विभिन्न क्षेत्रका कृषकसँग मिलेर सोमबारदेखि विरोध अभियान थालेको छ । दुध बिक्रीको करिब ६ अर्ब रुपैयाँको बक्यौता तत्काल भुक्तानी गर्न माग गर्दै सुरु गरेको सो आन्दोलनमा नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघ ऐक्यबद्धता जाहेर गरेको हो ।

६ महिनादेखि दुध बिक्रीको भुक्तानी नहुँदा किसानले ठुलो क्षति व्यहोर्नुपरेको महासंघले जनाएको छ । यस्तो अवस्थामा किसानको गुनासो तत्काल सम्बोधन गर्न सरकारसँग महासंघ जोडदार माग गरेको हो । 

गत मङ्सिरमा सरकारको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रीले नै गरेको सहजीकरणमा पुससम्मको बक्यौता तिर्ने र त्यसपछि नियमित रकम निकासा गर्ने आश्वासन लगायतका विगतमा भएका सम्झौताका बाबजुद पनि बक्यौता वितरण हुन नसकेकोमा महासंघले खेद प्रकट गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

सम्झौता कार्यान्वयन नगर्नाले दुग्ध किसानहरूलाई आर्थिक तनाव मात्र बढाएको छैन, संस्थागत संयन्त्रहरूमा समेत विश्वास गुम्दै गएको अवस्था छ । दुग्ध कृषकका गुनासो सम्बोधन गर्न र सहकारी प्रणालीमा विश्वास पुनर्स्थापित गर्न द्रुत र निर्णायक कदम चाल्न महासंघले सरकारसँग जोडदार माग गरेको छ ।

ग्रामीण अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको दुग्ध किसानको समस्या समाधानलाई प्राथमिकता दिन सरकारी निकाय र उद्योग प्रतिनिधि लगायत सबै सरोकारवालाहरूलाई महासंघले आग्रह गरेको छ । साथै, दुग्ध कृषकहरूसँग गरेका प्रतिबद्धताहरू पूरा गर्न र कृषकहरूको आर्थिक समृद्धि सुनिश्चित गर्न समेत आवश्यक कदम चाल्न महासंघले सरकारसँग माग गरेको छ । 

NCF

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप