सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

लोसपामा असन्तुष्ट अनिल झाको छुट्टै संगठन बनाउने तयारी

मधेसमा खोज्दैछन् गजेन्द्रको ‘लिगेसी’
सोमबार, २१ फागुन २०८०, ११ : ५९
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट राजेन्द्र महतोले विद्रोह गरी बाहिरिँदासम्म सो पार्टीका वरिष्ठ नेता अनिलकुमार झा पनि साथ थिए । तर महतोले छुट्टै अभियान घोषणा गरिसक्दा पनि झा भने गुमनामजस्तै छन् ।

लोसपा छाडेपछि झा पनि राजेन्द्र महतोको अभियानसँग जोडिने धेरैको आकलन थियो । तर उनी अहिले न महन्थ ठाकुरको साथमा छन्, न त राजेन्द्र महतोको साथमा ।

झा अहिले मधेस दौडाहामा निस्केका छन् । उनी निकट एक नेता भन्छन्, ‘हरेक मधेसवादी दलले मधेसको विचार र मुद्दा छाडिसके, मधेसलाई सबैले छाडेर हिमाल, पहाड उक्लिन थालेका छन् । त्यस अवस्थामा अनिलजी गजेन्द्रनारायण सिंहको विचारलाई बिउँताउन मधेस दौडाहामा हुनुहुन्छ ।’

सुदूरपश्चिम मधेसको कञ्चनपुरबाट सुरु गरेको उनको यात्रा अहिले कपिलवस्तु पुगेको छ । यो विषयमा जान्न पटक पटक सम्पर्कको प्रयास गर्दा पनि उनीसँग सम्पर्क हुन सकेन । उनी पश्चिम मधेसको यात्रा सकेर फागुन २४–२५ गते काठमाडौँ फर्किने र त्यसपछि पूर्वी मधेसको झापासम्म यात्रा गर्ने निकट स्रोतले जनायो ।

झा मधेसमा गजेन्द्रनारायण सिंहप्रति मधेसी जनताको लगाव खोजिरहेका छन् । अझै गजेन्द्रनारायण सिंहको विचार, सिद्धान्तलाई टेकेर मधेसमा संगठन चलाउन सकिन्छ कि भनेर उनी अध्ययनमा निस्केका छन् । मधेस केन्द्रित दलहरूले मधेसको मुद्दा छाडिसकेका छन्, ती मुद्दा बोकेर अनिल झाले छुट्टै संगठन बनाउने तयारीमा रहेको उनी निकट नेताहरू बताउँछन् ।

तर झाले संगठन बनाउन हतार नगर्ने स्रोत बताउँछ । मधेसका २२ वटै जिल्ला पुगेर नागरिक अगुवा, आम जनतासँग भलाकुसरी गरी निष्कर्ष निकालेपछि मात्र उनले पार्टी बनाउने या नबनाउने सम्बन्धमा एउटा निर्णय लिने बताइन्छ ।

२०७९ को चुनावपछि झा लोसपाको सम्पर्कमा छैनन् । चुनावपछि पार्टीमा निष्क्रिय भएका उनी ८–९ महिनादेखि पार्टी कार्यालय गएका छैनन् । लोसपाका अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समिति बनाउँदा आफ्नो पक्षका एक जना पनि नपर्दा उनी झन् असन्तुष्ट भएका थिए ।

मङ्सिर २४ गते बसेको केन्द्रीय समितिको बैठक अनिल झाले पनि बहिष्कार गरेका थिए । बैठक बहिष्कार गरेदेखि हालसम्म उनी पार्टी कार्यालय गएका छैनन् । लोसपाका सचिव मनिष मिश्र भन्छन्, ‘अनिलजी पार्टी कार्यालयमा देखिनु भएको छैन, सायद आफ्नो काममा व्यस्त भएर होला । उहाँले लोसपा छाड्नु भएको छैन ।’

नेपाल सद्भावना पार्टीमा विद्यार्थीकालदेखि राजनीति सुरु गरेका अनिल झा लामो समय सोही पार्टीमा रहे । पटकपटक मन्त्री समेत बनेका उनले नेपाल सद्भावना पार्टी टुटफुट भएर सद्भावना पार्टी गठन गर्दा राजेन्द्र महतोलाई साथ दिएका थिए ।

तर उनी त्यहाँ पनि टिक्न सकेनन् । त्यहाँबाट अलग भएर उनले २०६८ मा संघीय सद्भावना पार्टी गठन गरी आन्दोलन गए । २०७० को संविधान सभा निर्वाचनमा संघीय सद्भावना पार्टीले सोचेजस्तो नतिजा ल्याउन सकेन । त्यसपछि उनी संगठन निर्माणमा केन्द्रित हुँदै नेपाल सद्भावना पार्टीबाट अलग भएर बनेका पार्टीलाई संगठित गर्ने अभियानमा लागे ।

सरिता गिरीले नेतृत्व गरेको नेपाल सद्भावना पार्टीसँग एकता गरेर संघीय सद्भावना पार्टीलाई उनले नेपाल सद्भावना पार्टी बनाए ।

नेपाल सद्भावना पार्टीले मधेसमा एक खालको रफ्तार लिइरहेको बेला विभिन्न दल मिलेर राजपा नेपाल बनाउने तयारी सुरु भएको थियो । अनिल झा राजपा बनाउने पक्षमा थिएनन् । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, महन्थ ठाकुर नेतृत्वको तमलोपा, शरतसिंह भण्डारीको नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, महिन्द्रराय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक बिच एकता हुने तयारी पूरा भएका थियो । अनिलकुमार झा त्यसमा सहभागी नहुने पक्षमा थिए । तर राजपामा अनिल झालाई सामेल गराउने प्रयास भइरहेकै थियो । तत्कालीन तमलोपाका नेता हृदयेश त्रिपाठीले निरन्तरको प्रयासपछि झालाई पार्टी एकताका लागि सहमत गराएका थिए ।

अन्ततः पार्टी एकता घोषणा कार्यक्रममै सहभागी भएर अनिल झाले राजपासँग एकताको घोषणा गरेका थिए । पछि राजपा र उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टीबिच एकता हुँदा पनि अनिल झा सहमत थिएनन् । महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्र राय यादव, राजकिशोर यादवको दबाबमा उनी समाजवादीसँग एकता गरेर जसपा बनाउन तयार भए ।

जसपामा उपेन्द्र यादवसँग उनको कहिल्यै कुरा मिलेन । एक वर्ष नबित्दै जसपा विभाजन भयो र महन्थ ठाकुरको नेतृत्वमा लोसपा बन्यो । उनी लोसपामै आए । २०७९ को चुनावमा धनुषाबाट चुनाव लडेका उनी पराजित भएका थिए । पराजित भएपछि लोसपाबाट टाढिँदै गएका उनी अन्ततः सो पार्टी छाड्ने निष्कर्षमा पुगेका छन् र आफ्नै नेतृत्वमा अर्को पार्टी बनाउने तयारीमा जुटेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप