आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
नयाँ समीकरण

गुम्यो अर्थमन्त्री डा.महतको हातबाट ‘लगानी सम्मेलन’ र ‘बजेट’

सोमबार, २१ फागुन २०८०, १६ : ४७
सोमबार, २१ फागुन २०८०

काठमाडौँ ।सत्ता समीकरण फेरबदल भएसँगै अर्थमन्त्रीबाट डा. प्रकाशशरण महतको बहिर्गमन निश्चित भएको छ । २०७९ चैत १७ गते डा.महतले मुलुकको आर्थिक बागडोर सम्हालेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) समेतको सत्ता समीकरणबाट बनेको ‘प्रचण्ड’ सरकारमा नेपाली कांग्रेस कोटाबाट डा.महतले अर्थमन्त्री बन्ने अवसर पाएका थिए । 

डा. महतले ११ महिना अर्थ मन्त्रालयको नेतृत्व सम्हाले । प्रचण्ड सरकारको मन्त्रीमण्डलबाट बाहिरिन पुगेसँगै डा.महतको हातबाट लगानी सम्मेलन र आगामी आर्थिक वर्षको बजेट समेत गुम्ने पक्का भएको छ । 

सरकारले आउँदो वैशाख तेस्रो साता तेस्रो लगानी सम्मेलन गर्ने तयारी गरिरहेको छ । वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुने लगानी सम्मेलनमार्फत एक सय २८ वटा परियोजनाको प्रदर्शन गर्ने तयारी सरकारको छ । जसमध्ये पौने २ खर्ब हाराहारीका ४ वटा परियोजनामा हस्ताक्षर गर्ने तयारी समेत सरकारको छ । 

३२७ मेगावाटको अपर मर्स्याङ्दी–२, नेपाल–चीनमैत्री औद्योगिक पार्क र ब्याट्री स्टोरेज प्लान्टसहितको २५० मेगावाटको सोलार प्लान्टको परियोजनाका लागि करिब एक खर्ब ७४ अर्ब ४९ करोड रुपैयाँ बराबरको परियोजना विकास सम्झौता (पीडीए) गर्ने तयारी सरकारको छ ।

यस्तै, डाबर नेपालले आफ्नो क्षमता तथा उत्पादन वृद्धिका लागि भारतबाट ल्याउने थप ९ अर्ब ६८ करोड ६३ लाख भारुको प्रस्ताव समेत सोही लगानी सम्मेलनमार्फत स्वीकृति गर्ने बोर्डको तयारी छ । यसका लागि आवश्यक कानुनी तथा व्यवहारिक व्यवधानहरू समेत हटाउने तयारीमा सरकार छ । तर, लगानी सम्मेलनको पूर्व सन्ध्यामा मन्त्री डा.महतको बहिर्गमनले के हुने हो ? भन्ने आशङ्का जन्माएको छ । 

खास गरी वैदेशिक लगानी, अन्तर्राष्ट्रिय कम्पनी तथा निकायहरूले कम्युनिस्टहरूलाई त्यति विश्वास नगर्ने हुँदा डा.महतको ठाउँमा आउने नयाँ मन्त्रीका लागि लगानी सम्मेलन सफल बनाउन निकै चुनौती रहेको विज्ञहरूको भनाइ छ । 

तथापि, नयाँ बन्ने सत्ता समीकरणबाट अर्थमन्त्रीको कोटा रास्वपाले पाए डा. स्वर्णिम वाग्लेलाई अर्थमन्त्रीमा पठाउने सम्भावना पनि बलियो छ । तर, रास्वपाले गृह वा भौतिक तथा पूर्वाधार मन्त्रालय पाए अर्थ मन्त्रालय माओवादी वा एमाले कुनै एक कम्युनिस्ट पार्टीबाटै आउने निश्चित छ । 

१८ खर्बको बजेट ल्याउने अवसर नयाँ मन्त्रीलाई

सरकारले आगामी आर्थिक वर्ष, २०८१/८२ को बजेटको तयारी समेत गरिसकेको छ । जेठ १५ गते ल्याइसक्नुपर्ने संघीय बजेटका लागि सरकारले यसपटक तीन महिनाअघिदेखि नै तयारी थालेको छ । आगामी आर्थिक वर्षमा पेस हुने बजेटका लागि विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता संसद्मा पेस गरिसकेको छ । 

अर्थमन्त्री डा.महतले फागुन १४ गते संघीय संसद्को संयुक्त बैठकमा विनियोजन विधेयक, २०८० को सिद्धान्त तथा प्राथमिकता पेस गरेका हुन् । उक्त विधेयकमाथि फागुन २१ गते अर्थात् आजैदेखि छलफल राखिएको थियो । तर, राजनीतिक उतारचढाव आजै राजनीतिक सत्ता समीकरण फेरबदल हुने भएपनि उक्त विधेयकमाथिको छलफललाई स्थगित गरिएको छ । 

सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँ बराबरको बजेट सिलिङ पाएको छ । यसै पेरिफेरीमा रहेर आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेका अर्थमन्त्री डा.महतको बहिर्गमनले यसको अवसर अर्को मन्त्रीले पाउने भएका छन् ।

  • को बन्दैछ नयाँ अर्थमन्त्री ?

राजनीतिक सत्ता समीकरण मुख्यतः गृह र अर्थ मन्त्रालय कसले लिने भन्नेमा नै पार्टीहरूबिच रस्साकस्सी देखिएको छ । सत्ता साझेदारीमा जान तयार राष्ट्रिय स्वतन्त्र पार्टीले फेरि पनि उपप्रधानसहित गृह मन्त्रालयको लबिङ गरिरहेको स्रोतको दाबी छ । यसो भए, अर्थ मन्त्रालयमा माओवादी कि एमाले भन्ने हुन्छ । 

गृह मन्त्रालय रास्वपाले पाए अर्थ मन्त्रालयमा एमालेबाट पार्टी महासचिव समेत रहेका विष्णुप्रसाद पौडेल र माओवादीबाट उपमहासचिव वर्षमान पुनको चर्चा छ । तथापि, यसको टुङ्गो लाग्न सकेको छैन ।  

नयाँ सत्ता समीकरण मन्त्रीहरू फेरबदलसँगै आज हुने पहिलो शपथ ग्रहणका लागि तीन जनाको नाम सिफारिस भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रको तर्फबाट हितबहादुर तामाङ, एमालेबाट संसदीय दलका प्रमुख सचेतक समेत रहेका पदम गिरी र रास्वपाबाट उपाध्यक्ष डोलप्रसाद अर्याललाई मन्त्रीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

सिफारिस भएका नयाँ मन्त्रीहरूको शपथ ग्रहण सोमबार बेलुका ५ बजे हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप