शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जीबी राईविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी गर्ने तयारी*

सोमबार, २१ फागुन २०८०, २० : ००
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईविरुद्ध रेड नोटिस जारी गर्ने तयारी गरिएको छ । 

पोखरास्थित सूर्यदर्शन सहकारीको निक्षेप अपचलन गरेको कसुरमा अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘ईन्टरपोल’बाट उनीविरुद्ध रेड नोटिस जारी गर्नका लागि आवश्यक तयारी भइरहेको प्रहरी प्रवक्ता (डीआईजी) भीम ढकालले रातोपाटीलाई बताए । यसअघि १३ माघमा उनीविरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो ।

डिफ्युजन नोटिशको आधारमा उनी मलेशियामा ‘लोकेट’ भएका हुन् । मलेशियाबाट पक्राउ गरेर नेपाल ल्याउन नेपाल प्रहरीका नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)ले रेड नोटिस जारी गर्न इन्टरपोल महासचिवालयलाई पत्राचार गरेको थियो ।

रेड नोटिस जारी भएमा इन्टरपोलमा आबद्ध प्रहरी संगठनलाई अपराधी छिटो ‘डिपोर्ट’ गरिदिने दायित्व बढी हुन्छ । रेड नोटिस जारी गर्न आवश्यक कागजात प्रहरीले यसअघि नै जिल्ला अदालत कास्कीबाट प्रमाणित गराएर इन्टरपोलमा पठाएको थियो ।

सूर्य दर्शन सहकारीका वर्तमान अध्यक्ष बाग्लुङ्ग घर भएका थान बहादुर बुढामगर, ओखलढुंगा घर भएका पूर्वअध्यक्ष भूपेन्द्र राई र पूर्वसदस्य शिव बहादुर गुरुङविरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको छ ।

*यसअघि प्रकाशित समाचारमा  'रेड नोटिस जारी गर्ने तयारी' हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ-सं

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप